काठमाडौं, ४ माघ - नेपाल विद्युत् प्राधिकरणको तीन सदस्यीय टोलीले दुईदिने भ्रमणमा ४० किलो मासु खाएको बिल पेस भएको छ । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै गठित टोलीले पुस १२ र १३ गते स्थलगत भ्रमण गरेको थियो ।
केन्द्रको टोली आउँदा ४० किलो मासु किनिएको भन्दै कुलेखानीका आयोजना प्रमुख श्यामसुन्दर श्रेष्ठले प्राधिकरणमा बिल पठाएका छन् । उनीहरूले दुई किलो काजु र पेस्तालगायतका परिकार खाएको पनि विवरण छ ।
आयोजना निर्माण प्रगति सन्तोषजनक नभएको विषयमा स्थलगत निरीक्षण गरी दुई साताभित्र प्रतिवेदन पेस गर्न प्राधिकरणको सञ्चालक समितिले पुस ७ मा उपसमिति गठन गरेको थियो । उपसमितिको संयोजकमा प्राधिकरण सञ्चालक समितिका संयोजक लेखमानसिंह भण्डारी, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर पुरुषोत्तम आचार्य र प्राधिकरणका प्रबन्धक नियाज अहमद छन् । १४ मेगावाट क्षमताको आयोजना सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको छ ।
स्थलगत निरीक्षणका लागि गएका उनीहरूले पुस १२ गते ७ केजी खसीको मासु, १० केजी कुखुराको मासु र ५ केजी माछा खाएका थिए । १३ गते ५ केजी खसी, ५ केजी कुखुराको मासु र ८ केजी माछा खाएका थिए ।
१२ गते खाएको २२ केजी माछा र मासुको ६ हजार ५० र १३ गते खाएको १८ केजी मासुको ४ हजार ८ सय ८० रुपैयाँ गरी जम्मा १० हजार ९ सय ३० रुपैयाँको बिल पेस भएको छ । तीनजनाले दुई दिनमा ४० केजी मासु खाएको बिल पेस भएपछि प्राधिकरणमा यो ठट्टाको विषय बनेको छ । आयोजना स्रोतले नयाँ पत्रिकालाई उपलब्ध गराएको बिलअनुसार दुई दिनमा मासुसहित अन्य परिकार खाँदा ३१ हजार ४ सय ७१ रुपैयाँ खर्च भएको छ ।
टोलीका सदस्यले अतिथि सत्कारको ११ सयको एक केजी काजु, १३ सयको एक केजी पेस्ता, ३ सय ८० को दालमोठ तथा काजु मिक्स, ५ सय २० को दुई प्याकेट रसबरी र ४ सय ८० रुपैयाँको लालमोहन पनि खाएका थिए ।
यस्तै अन्डा, बटर, पाउरोटी, बदाम, दूधलगायतका सामग्रीमा ३ हजार ९ सय ४० रुपैयाँ खर्च भएको बिल भुक्तानीका लागि पेस गरिएको छ । यस्तै परिकार पकाउन प्रयोग गरिएको लसुन, मसला, अजिनोमोटोसहित अन्य खाद्यवस्तुको २ हजार ३ सय ९० रुपैयाँ छ । सुन्तला, स्याउसहितका फलफुलको एक हजार ७० रुपैयाँ, कोकाकोलासहितका अन्य पेयपदार्थको ६ सय रुपैयाँ पनि भुक्तानीका लागि पेस गरिएको छ ।
आयोजनाका एक अधिकारीले टाट पल्टिन लागेको संस्थामा दैनिक रूपमा आर्थिक अनियमितता बढिरहेको बताए । 'स्थलगत निरीक्षणमा गएका व्यक्ति मोजमस्ती गरी फर्केका छन्, यसले प्राधिकरणलाई घाटामा पार्नेबाहेक केही काम भएको छैन,' उनले भने, 'यस्ता किसिमका अनावश्यक खर्च रोक्न कार्यविधि बनाएर कडाइका साथ लागू गरिनुपर्छ ।'
उपसमितिलाई आयोजनाको प्रगति सन्तोषजनक नभएको र आयोजना, सल्लाहकार तथा सिभिल ठेकेदारबीच देखिएको विवाद समाधानका लागि राय-सुझाब पेस गर्न कार्यादेश दिइएको थियो । उपसमितिले प्रतिवेदनलाई अहिले अन्तिम रूप दिइरहेको छ ।
सन् २००९ मा निर्माण सुरु गरिएको आयोजनाको अहिलेसम्म करिब ६० प्रतिशतमात्रै काम सकिएको छ । आयोजनाको निर्माण सन् २०११ भित्र सम्पन्न हुनुपर्नेमा अझै दुई वर्ष लाग्ने बताइएको छ । यसबाट आयोजनाको लागत पनि बढ्नेछ । आयोजनाको अनुमानित लागत २ अर्ब ५० करोड थियो । अहिले आयोजनाको ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का सम्झौताभन्दा थप ७२ करोड दाबी पेस गरेको छ ।
उपसमितिका संयोजक लेखमानसिंह भण्डारीले आयोजना समस्यै समस्यामा रहेको बताए । 'बन्द, हडताल तथा वन मन्त्रालयले समयमा रूख काट्न नदिएकाले निर्माणमा ढिलाइ भएको देखिन्छ,' उनले भने । मकवानपुरमा पर्ने इन्द्र सरोवरबाट कुलेखानी पहिलो तथा दोस्रो आयोजना हुँदै आउने पानीबाट भैंसेमा रहेको खानीखोलाको पानीलाई समेत समेटेर सानुटारमा विद्युत्गृह निर्माण हुँदै छ ।
source:nayapatrika