प्रधानमन्त्री नेपाल र अध्यक्ष खनालबीच 'तँतँ-मम' :

काठमाडौं, पुस २८- प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनालबीच प्रधानमन्त्री निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन गर्ने कि नगर्ने विषयमा सवालजवाफ 'तँ
-तँ र म-मको तहमा' झरेको बैठकमा सहभागीहरुले बताएका छन्। 'दुई नेताबीच यति तल्लो तहमा सवालजवाफ यसअघि भएको थिएन,' स्थायी कमिटीका एक सदस्यले भने।

मंगलबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्नुपर्ने प्रस्ताव गर्नेबित्तिकै अध्यक्ष खनालले त्यस्तो कदम पार्टी निर्णयविपरीत हुने जवाफ फर्काए। 'केन्दीय कमिटी बैठकले पौडेलको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका कारण यस्तो प्रस्ताव पार्टी निर्णयविपरीत हो,' खनाललाई उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने।

खनालको जवाफपछि नेपालले पौडेलको विपक्षमा मतदान गर्ने निर्णय गरेर पार्टीले त्रुटि गरेको जिकीर गरे। 'सबैजना बसेर गरेको निर्णय कसरी गलत हुन्छ? बरु, त्यो निर्णयलाई कार्यान्वयन गर्नेतर्फ लागौं', खनाललाई उद्धृत गर्दै ती नेताले भने। नेपालले अहिलेसम्म कांग्रेसले एमालेलाई साथ दिँदै आएको पृष्ठभूमि बताउँदै कांग्रेसलाई सहयोग गर्न पनि निर्णय सच्याउन माग गरेपछि खनालले हल्का व्यंग्यात्मक जवाफ दिए, 'सच्याए भयो नि!'

खनालले व्यंग्यात्मक जवाफ दिएपछि नेपालले खनाललाई आफू प्रधानमन्त्री बन्नका लागि समस्या उत्पन्न गराएको आरोप लगाए। 'सिहंदरबारमा फोटो झुन्ड्याउने रहरले देशलाई बन्धक बनाउन पाइँदैन,' नेपालले खनाललाई इंगित गर्दै भने। खनालले पनि नेपाललाई सिंहदरबारमा फोटो झुन्ड्याउनेबाहेक केही काम गर्न नसकेको आरोप लगाए। 'तिमीले त सिंहदरबारमा फोटो झुन्ड्याउनेबाहेक के नै गर्‍यौ र?' खनालको प्रश्न थियो।

यही चर्काचर्कीबीच प्रधानमन्त्री नेपालले खल्तीबाट कागज निकाल्दै खनाललाई थमाए जसमा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ४५ जना केन्द्रीय सदस्यको नामावली थियो। त्यसमध्ये ३१ जनाको हस्ताक्षर थियो भने बाँकी १४ जनाको नाममात्रै। एमाले केन्द्रीय कमिटी ११६ सदस्यीय छ जसमध्ये मताधिकार भने ८६ लाई मात्र छ, वैकल्पिक केन्द्रीय सदस्यमा यो अधिकार हुँदैन।


क-कसले गरे हस्ताक्षर?

हस्ताक्षर गर्नेमा माधव नेपाल, केपी ओली, विष्णु पौडेल, काशीनाथ अधिकारी, महेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, विजय सुब्बा, खगराज अधिकारी, थममाया थापा, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, नागेन्द्र चौधरी, कल्याणी खड्का, सुशीला नेपाल, देवराज भार, उर्वादत्त पन्त, देवीप्रसाद ज्ञवाली, गणेश तिमल्सिना, गंगादेवी डाँगी, विनोद श्रेष्ठ, कर्णबहादुर थापा र सत्यनारायण मण्डललगायत छन्। त्यस्तै केन्द्रीय सदस्यहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, वंशीधर मिश्र, धर्मनाथ प्रसाद साह, अग्नि खरेल, टुंका हमाल, वीरबहादुर लामा र जितु गौतमको नाम उल्लेख भए पनि हस्ताक्षर छैन।


त्यस्तै वैकल्पिक केन्द्रीय सदस्यहरू टुकराज सिग्देल, रामेश्वर फुयाल, कल्पना चापागाई, जगत विश्वकर्मा, योगनारायण यादव, महिन लिम्बुले पनि हस्ताक्षर गरेका छन् भने वैकल्पिक केन्द्रीय सदस्यहरु अच्युत मैनाली, गौरी वली र गोकुल घर्ती मगरको नाममात्रै उल्लेख छ, हस्ताक्षर छैन।


प्रधानमन्त्री नेपालले केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरेपछि बोलाउनुपर्ने कानुनी प्रावधान सम्झाए। 'तपाईंले कानुनी कुरा गर्नुभयो। म पनि कानुनी प्रक्रिया अनुसार नै चल्छु', खनालको जवाफ थियो। खनालले त्यहाँ कानुनी प्रक्रियाको विस्तृत व्याख्या भने गरेनन्। 'अध्यक्षले कानुनी प्रावधान भन्नाले ५० प्रतिशत केन्द्रीय सदस्यहरूले लेखेर दिएको तीन साताभित्र बैठक बोलाउनुपर्ने विधानको प्रावधानलाई भन्न खोजेका हुन्,' खनाल पक्षधर एक नेताको व्याख्या छ। सवालजवाफकै क्रममा अध्यक्ष खनालले संविधानसभाको बैठक हुन लागेको भन्दै बैठक टुंग्याएका थिए।


यसअघि बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल र ओली पक्षधर नेताले छलफल गरी केन्द्रीय कमिटी बैठक डाक्न प्रस्तावसहितको हस्ताक्षर संकलन गरेका थिए। अध्यक्ष खनाललाई सम्बोधन गरिएको प्रस्तावमा उल्लेख छ, 'यही ०६७ पुस २३ गते डाकिएको केन्द्रीय कमिटीको बैठक बिनाकारण स्थगित गरिएकोमा असहमति जनाउँदै ०६७ पुस २८ गते तोकिएको प्रधानमन्त्री निर्वाचनबारे गम्भीर विषयमा छलफल गर्नुपर्ने महसुस गरी हामी निम्नलिखित केन्द्रीय कमिटीका सदस्यहरु मिति ०६७ पुस २८ गते बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाउन आग्रह गर्दछौं।' प्रस्ताव तयार गरी हस्ताक्षरका लागि प्रधानमन्त्री नेपालले नै केन्द्रीय सदस्यहरूलाई बालुवाटार बोलाएका थिए।


चक्रीय प्रणालीमार्फत् समाधान निकालः मध्यमार्गी धार

एमालेको मध्यमार्गी धारका पोलिटब्युरो सदस्यहरूको समूहले चक्रीय प्रणालीमार्फत समस्याको समाधान निकाल्न पार्टीका तीन प्रमुख नेता अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी ओलीलाई दबाब दिएको छ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा खानपिनसहित भएको चारघन्टे छलफलमा नेताहरूले नेपाली कांग्रेससँग छलफल गरी उम्मेदवार फिर्ता लिन लगाउने र चक्रीय प्रणालीअनुसार सरकारको पहिलो नेतृत्व कांग्रेसलाई नै दिएर भए पनि सहमति गर्न आग्रह गरेका हुन्।

'कांग्रेसका रामचन्द्र (पौडेल) जीलाई लेखेर दिएर हुन्छ कि अन्य हिसाबले आश्वस्त पारेर उम्मेदवारी फिर्ता गराउनुहोस्। र, त्यसपछि चक्रीय प्रणालीमार्फत मुलुकको समस्या समाधान गरिदिनुहोस्', पोलिटब्युरो सदस्य समूहले गरेको प्रस्ताव उद्धृत गर्दै बालुवाटारनिकट स्रोतले भन्यो। पार्टीभित्रको यो मध्यमार्गी धारको नेतृत्व गर्दै आएका मुकुन्द न्यौपानेले पनि चक्रीय प्रणाली एमालेकै प्रस्ताव भएको उल्लेख गर्दै नागरिकसँग भने, 'चक्रीय प्रणालीको प्रस्ताव अनुसरण गर्नुहोस् भन्ने सुझाव दियौं।'
न्यौपानेका अनुसार नेताहरूको समूहले पौडेलको उम्मेदवारी फिर्ता गराई चक्रीय प्रणालीअनुसार प्रमुख तीन दल नेपाली कांग्रेस, एकीकृत माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्न सुझाव दिएका थिए। 'लडाकुहरूको समायोजन र शान्तिप्रक्रिया पूरा नभइन्जेल माओवादी नेतृत्व हुनुहुँदैन भन्ने एमाले र कांग्रेस दुवैको निर्णय छ। त्यसैले सरकारको पहिलो नेतृत्व गर्ने कांग्रेस र एमालेमध्ये कुनै एक दलले हो,' शीर्षनेताहरूसँगको आग्रह उद्धृत गर्दै न्यौपानेले भने, 'त्यसैले कांग्रेससँग छलफल गरेर उम्मेदवारी फिर्ता गराउनुहोस्।' उनीहरूले कांग्रेसलाई पहिलोपटक नेतृत्व गर्ने अवसर दिए समस्याको समाधान हुने भए त्यसो गर्न पनि नेतृत्वलाई सुझाव दिएका थिए।


नेताहरूको सुझाव सुनेपछि पनि अध्यक्ष खनाल भने चक्रीय प्रणालीबारे मौन रहे। उनले पौडेलको उम्मेदवारी फिर्ता गराउने पार्टीको निर्णय भएकाले त्यसका लागि प्रयास गर्ने जानकारी गराएका थिए। 'पहिले केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन गरौं,' खनाललाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, 'पौडेलको विपक्षमा मतदान गर्दैमा कांग्रेससँगको सहमति प्रक्रिया अन्त्य हुँदैन।'


खनालले यस्तो टिप्पणी गरिरहँदा प्रधानमन्त्री नेपाल र नेता ओलीले खासै प्रतिक्रिया जनाएनन्। मध्यमार्गी नेताहरूको प्रयासस्वरूप तीनैजना नेता कांग्रेससँग छलफल गरी निकास निकाल्न भने सहमत भएका छन्। एमाले नेतृत्वले व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीका लागि सत्रौं चुनाव हुनुअघि छलफल गरी सहमतिको प्रयास गर्ने भएको छ।


बैठकमा मध्यमार्गी समूहबाट न्यौपानेसहित पोलिटब्युरो सदस्यहरू प्रदीप नेपाल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, वेदुराम भुषाल, काशीनाथ अधिकारी, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, महेन्द्र पाण्डे, नागेन्द्र चौधरीलगायत थिए। यो समूहले माओवादीको नेतृत्वमा सरकार गठन हुन नसक्ने र माओवादी मात्रैको समर्थनमा एमाले नेतृत्वको सरकार गठन हुन नसक्ने कुरा पनि प्रष्टयाएको थियो। मंगलबारको स्थायी कमिटी वैठकमा अध्यक्ष खनाल र प्रधानमन्त्री नेपालबीच चर्काचर्की भएपछि मध्यमार्गी नेताहरूले शीर्षनेताहरूबीच सहमतिका लागि प्रयास गरेका थिए।


स्थायी कमिटी बैठकमा प्रधानमन्त्री नेपालले पौडेलको विपक्षमा मतदान गर्ने भनी केन्द्रीय कमिटीको निर्णयमाथि पुनर्विचारका लागि गरेको आग्रहलाई अध्यक्ष खनालले अस्वीकार गरेका थिए। साथै केन्द्रीय कमिटी बैठक बोलाउन गरेको प्रधानमन्त्री नेपालको आग्रहलाई पनि संस्थापन पक्षले अस्वीकार गरेको थियो ।
केन्द्रीय कमिटी बैठक बोलाउने र नबोलाउनेबीच नेपाल-ओली र संस्थापन पक्षबीच विवाद भएपछि स्थायी कमिटी बैठक निर्णयबिनै स्थगित भएको थियो। बैठक अनिर्णीत भएपछि केन्द्रीय कमिटी बैठकले 'कांग्रेसका रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने र निर्णय फिर्ता नलिए विपक्षमा मतदान गर्ने' निर्णय यथावत् रहेको छ। 'केन्द्रीय कमिटीले गरेको निर्णयलाई नै स्थायी कमिटीले अनुमोदन गरेको छ,' बैठकपछि महासचिव ईश्वर पोखरेलले भने, 'मंगलबार कुनै नयाँ निर्णय भएन।' दलहरूबीच सहमति नभए एमालेले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार बुधबारको व्यवस्थापिका संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा एमालेले पौडेलको विपक्षमा मतदान गर्ने छ। त्यसपछि पनि सहमतिको प्रयत्न हुने एमाले नेताहरुले बताएका छन्।

source:nagarik