ब्रायन एडम्सलाई हेर्न छ हजारको टिकट, सुरक्षाका लागि १५ सयको टोली :

काठमाडौं, - क्यानाडेली गायक ब्रायन एडम्सको दशरथ रंगशालामा फागुन ७ मा हुने कन्सर्ट हेर्न आयोजकले २ हजार, ३ हजार र ६ हजारको
टिकट बेच्ने भएको छ। बुधबार होटल सोल्टीमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार कन्सर्टमा १५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछ। कन्सर्ट आगामी फागुन ७ मा हुने हुनेछ।

गरुड सेक्युरिटीका सुबल शाहले प्राइभेट सुरक्षाको जिम्मा लिएका छन्। शनिबार पर्ने कन्सर्टमा निजी र सरकारी सुरक्षाकर्मीले सहकार्य गर्नेछन्।

तीन भागमा विभाजन गरिएको रंगशालाभित्र पाँच सयको हाराहारीमा सुरक्षाकर्मी रहनेछन्। रंगशाला वरपर करिब एक हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र र ट्राफिक प्रहरीले सहकार्य गर्नेछन्। पर्यटन वर्ष २०११ को अवसर परेकोले कन्सर्टले नेपाली पर्यटनमा सहयोग गर्ने दावी आयोजक जेपिआर र ओडिसी नेटवर्कको छ।


कन्सर्टका लागि ब्रायन एडम्स फागुन ६ मा काठमाडौं आउँदैछन्। दुई दिनको बसाइँमा उनी काठमाडौं घुम्ने सम्भावना पनि रहेको आयोजकले बताए। कन्सर्टको भोलिपल्ट उनी फर्कनेछन्। कन्सर्टमा करिब १५ हजार दर्शकलाई मात्र प्रवेश दिइने योजना आयोजकको छ। 'रंगशाला क्षमता १८ हजार हो। निर्माण भएको धेरै समय भइसकेको कारण हामीले केवल १५ हजार दर्शक सहभागी गराउनेछौं,' आयोजक सुनिल हमालले भने।

माघ १ मा बिक्री सुरु गरिने टिकट माघ २७ सम्ममा सिद्धिसक्ने आयोजकको अनुमान छ। टिकट मनकामना विकास बैंकमा उपलब्ध हुनेछन्। टिकटको कन्सर्टका लागि भारतबाट अत्याधुनिक साउन्ड समेटिएको 'टोटल प्रोडक्सन'ले स्टेजको डिजाइन गर्नेछ। दर्शकलाई कन्सर्ट हेर्न सहज गराउन रंगशालाभित्र चारवटा स्क्रिन राखिनेछन्। 'यो विश्वस्तरको कन्सर्ट हो। त्यसैले यससँग हाम्रो देशको प्रतिष्ठा गाँसिएको छ,' सुनिलले भने। त्यस दिन दशरथ रंगशालाका सबै गेटहरू खोलिने छन्।

कन्सर्ट हुन लागेकोमा पर्यटनविद् योगेन्द्र शाक्य पनि आशावादी छन्। 'यसले पर्यटनको प्रवर्द्धन गर्छ। यो कन्सर्ट कर्पाेरेट हाउसका लागि अवसर हो, आफ्नो प्रचार गर्न,' उनले भने। यस कन्सर्टलाई उनले शान्ति र संगीतको संज्ञा दिए।

ओडिसीका निर्देशक सीमान्त गुरुङ पनि कन्सर्ट आयोजना गर्न पाउँदा उत्साहित छन्। 'यो नेपालको लागि गौरवको कुरा हो। यो कार्यक्रम सफल भएपछि नेपालमा विदेशी
कलाकार ल्याउने कामलाई हामी निरन्तरता दिन्छौँ,' उनले भने। आयोजकका अनुसार त्यसदिन सम्पूर्ण सवारी टुँडिखेलमा पार्किङ गरिने जानकारी गरायो। 'त्यो दिन रंगशाला छेउको सडक एकतर्फी बनाउनेबारे ट्राफिक प्रहरीसँग सहकार्य हुने सम्भावना छ,' सवलले भने। कन्सर्टमा स्टेज सुरक्षा, स्टिल रेखा र दर्शक चेक गरी तीन समूहमा प्राइभेट सुरक्षाकर्मी खटाइनेछन्।


ब्रायन एडम्सको निजी सुरक्षाकर्मीहरूसँग पनि नेपाली सुरक्षाकर्मीले सहकार्य गर्नेछन्। टिकटको मूल्यले गर्दा अनावश्यक हो-हल्ला गर्ने समूह कन्सर्ट हेर्न नआउने कुरामा आयोजक ढुक्क छ। कन्सर्टको दिन दिउँसो २ बजे नै रंगशालाको ढोका खोलिने छ।

त्यसपछि साँझ ६ देखि ७ बजेसम्म केही नेपाली ब्यान्डले प्रस्तुति दिनेछ। त्यसपछि ब्रायन एडम्सले ७ देखि ९ बजेसम्म आफ्नो एकल कन्सर्ट गर्नेछन्। कन्सर्टका लागि अन्तर्राष्ट्रिय इभेन्ट आयोजक जेपिआर इभेन्टले भव्य स्टेजको निर्माण गर्नेछ।


सन् १९८० को दशकमा 'ब्रायन एडम्स' नामकबाट सांगीतिक क्षेत्रमा लागेका एडम्स २००८ मा 'एलाभेन' रिलिज गरेपछि विश्वव्यापी कन्सर्टतर्फ आकर्षित भएका हुन्। कन्सर्टमै गाएर उनले लाइभ एल्बम निकाल्ने ट्रेन्ड उनले नै सुरू गरेका हुन्। ३२ वर्षको सांगीतिक यात्रामा उनले ग्य्रामी अवार्ड, अमेरिकन म्युजिक अवार्ड र क्यानेडियन ग्य्रामी अवार्ड जितिसकेका छन्। अहिलेसम्म उनको २० वटा एल्बम सार्वजनिक भइसकेको छ। 'समर अफ सिक्टी नाइन', 'एभरी थिङ्स आइ डु' र 'प्लिज फर्गिभ मि' जस्ता उनका गीत लोकप्रिय भएका छन्।

source:nagarik