५ करोड पर्ने घडेरी ७१ लाखमा बिक्री

नेपालगन्ज, आश्विन १५ - करिब ५ करोड मूल्य पर्ने साझा भण्डारका ६ प्लट जग्गा कर्मचारी मिलेमतोमा
७१ लाख ५१ हजार रुपैयाँमा बिक्री भएको छ । साझा भण्डार निर्माणका लागि किनिएका राजमार्गसँग जोडिएका ती प्लट भूमाफियासँग मिलेमतो गरी चलनचल्तीको मूल्यभन्दा पाँच गुना कममा भदौ २५ गते बिक्री गरेका हुन् । कोहलपुर नगर विकास समिति २३ वर्षअघि साझा भण्डार स्थापनाका लागि सस्तै मूल्यमा ती घडेरी साझालाई दिएको थियो । भण्डारले कोहलपुर ३ 'क' का प्लट नं. ९६२, १२२५, १२२६, १२२७, १२२८ र १२२९ र कित्ता नं. ९६९, १२३२, १२३३, १२३४, १२३५ र १२३६ का घडेरीहरू बाँके रझेना ४ का सुरज गिरीका नाममा रजिस्टे्रसन पास गरिदिएको हो । अहिले प्रतिप्लटको मूल्य ८० लाख रुपैयाँभन्दा बढी पर्छ । मालपोत कार्यालयले प्रक्रिया पूरा गरेकाले जग्गा पास गरेको जनाएको छ । 'सञ्चालक समितिको निर्णयका आधारमा पास गरेका हौं,' अधिकृत नारायणप्रसाद पाण्डेले भने । साझाले अख्तियारी दिएर पठाएका अधिकृत केशव गौतमले बिक्री गरेका हुन् । तर साझा भण्डार सञ्चालक समितिले असार ३१ गते कोहपुरका घडेरी बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने निर्णय गरेको थियो । 'एउटा घडेरीलाई ७६ लाख रुपैयाँभन्दा बढ पिर्छ,' कोहलपुर सुधार समाजका अध्यक्ष टेकराज आचार्य र सचिव हेमविक्रम जीसीले भने, 'यहाँ ठूलो हिनामिना भएको छ ।' उनीहरूले छानबिन नगरे अख्तियारमा मुद्दा दायर गर्ने बताए । गोप्य रूपमा घडेरी बिक्री भएपछि एक महिनासम्म चुपचाप बसेका गिरीले ती प्लटहरूमा अस्थायी टहरा बनाएर चिया नास्ता पसल चलाउँदै आएकालाई घर खाली गर्न लगाएका छन् । यता गिरीले टेन्डर प्रक्रियामा प्रतिस्पर्धा गरी घडेरी लिएको दाबी गरे । 'मलाई बदनाम गराउन केही दलालले यसलाई मुद्दा बनाएका छन्,' गिरीले भने, 'साझाले बिक्री गर्‍यो । मैले पैसा लगाएर किनें, मेरो के दोष छ ?' गिरीले भदौको १४ गते काठमाडौं पुगेर टेन्डर दर्ता गराउँदा ती घडेरी आफूलाई परेको बताए । कोहलपुर गाविसले घडेरी बिक्रीका लागि सिफारिस गरेको छ । 'हाम्रो पक्षबाट जग्गा खरिद बिक्री गर्नु गैरकानुनी देखिएको छैन,' गाविस सचिव अमरराज खत्रीले भने, 'सामाजिक हिसाबले गैरकानुनी देखिन्छ । source : kantipur