उधारोमै यार्सागुम्बा

असोज १५ - दार्चुला घुसा-८ का चन्द्रसिंह कार्कीले गत वर्ष गाउँकै संकलकसँग प्रति किलो दस लाखको दरले
दुई किलो यार्सा किने। उनले दुई लाख नाफा खाएर राजधानीबाट गाउँमा आएका व्यापारीलाई सबै यार्सा बेचे। एक वर्ष बितिसक्दा पनि उनले ती व्यापारीबाट दुई लाख पाउन सकेका छैनन्। गत वर्ष यार्सा किन्ने गाउँ आएका ती व्यापारीले यसपालि मुखै देखाएनन्। आफ्नो दुई लाख नउठेपछि उनले यसपालि यार्सा व्यापार गरेनन्। उनी अचेल गाउँकै महादेव माविमा पढाउँछन्। यार्सागुम्बा व्यापारमा घाटा व्यहोर्ने कार्की एक्ला होइनन्। गाउँका अधिकांश संकलकले एक दशकदेखि उधारोमै यार्सा व्यापार गर्दै आएका छन्। 'व्यापारी आउँछन्, अपुग रकम पछि दिउँला भन्दै यार्सा लिएर फर्किन्छन्,' अपी हिमालको फेदको गाउँबाट कार्कीले मोबाइलमा कुरा गर्दै भने, 'सबैले उधारोमै कारोबार गर्छन, यसो नगर्नेको यार्सा घरमै सड्छ।' एक वर्ष बितिसक्दा पनि यार्चागुम्बा पाइने दार्चुलाका मुख्य दुई गाविस घुसा र खण्डेश्वरीका संकलकले स्थानीय तथा महेन्द्रनगर, धनगढी, नेपालगन्ज र राजधानीका व्यापारीबाट यार्सा बेचेको रकम पाउन सकेका छैनन्। दुवै गाविसका संकलकले व्यापारीबाट लाखौं लिन बाँकी छ। गत वर्षकै रकम पाउन नसकेका संकलकले यो वर्ष उधारोमै व्यापारीलाई यार्सा बेचे। 'व्यापारका लागि संकलक राजधानीसम्म धाउन सक्दैनन्,' कार्कीले भने, 'सबैभन्दा ठूलो चुनौती असुरक्षा हो।' वर्षेनीर् संकलकहरू लुटिने क्रम बढ्दो छ। यस्तो अवस्थामा उनीहरू उधारोमै व्यापार गर्न बाध्य छन। यो वर्ष घुसा खण्डेश्वरीवाट ९१ किलो यार्सा हेलिकोप्टरमा राजधानी लगिएको कार्कीले बताए। 'त्योभन्दा बढी परिमाणमा यार्सा घरमै थन्किएको छ,' उनले भने। संकलक मात्र होइन, गाउँदेखि जिल्ला तथा राजधानीसम्मका व्यापारीले पनि उधारोमै कारोबार गर्दै आएका छन्। उनीहरूको व्यापार चीन, हङकङलगायत देशका व्यापारीमाथि निर्भर छ। सस्तोमा खरिद गरेर ल्ााखौंमा बेची फाइदा लिन खोज्ने व्यापारीबीच समेत यार्चाको उधारो व्यापार हुँदै आएको छ। उधारोमा कारोबार गर्दा यार्चा व्यापार संकटमा परेको छ। लाखौं मूल्य लिन बाँकी रहेको अवस्थामा पनि व्यापारीबीच कारोबार रोकिएको छैन। यार्चाको व्यापार चार चरणमा हुने गरेको छ। संकलकले गाउँका व्यापारीलाई यार्चा बेच्छन्। गाउँका व्यापारीले जिल्लामा कारोबार गर्नेलाई बेच्छन्। जिल्लाका ठूला व्यापारीले राजधानीका व्यापारीसम्म यार्चा पुर्या उँछन्। राजधानीका व्यापारीले विदेशमा पठाउँदा समेत उधारोमै कारोबार हुन्छ। उनीहरू सबैसँग पुँजी नभएकाले उधारो व्यापार चलिरहेको छ। 'यार्सा व्यापार विश्वासमा टिकेको छ,' लामो समयदेखि दार्चुलादेखि राजधानीसम्म यार्सा व्यापार गर्दै आएका धनसिंह जागरीले भने, 'उधारो रकम पाउन सके व्यापारलाई निरन्तरता दिन्छन्, धोका पाए व्यापार नै त्याग्छन्।' यार्साको उधारो व्यापार दार्चुलामा मात्र गरिँदैन। यस्तो जोखिम यार्सा पाइने जिल्लाका संकलक तथा कारोबार गर्ने सबै व्यापारीले उठाउने गरेका छन्। उच्चपहाडी भेगका गाउँमा वर्षेनी खाद्यान्न समस्या हुने गरेको छ। यस्तो परिस्थितिमा संकलकले पछि यार्चा उपलब्ध गराउने सर्तमा खाद्यान्न लगायत सामग्री स्थानीय व्यापारीबाट उधारोमै लिन्छन् । कतिपय व्यापारीले पछि खाद्य सामाग्री र रकम दिने सर्तमा यार्चा किन्ने गरेका छन्। 'संकलकबाट यार्चा लिने सर्तमा उधारो कारोबार गरिन्छ,' घुसाका व्यापारी लोकेन्द्रसिंह लोथ्याल भन्छन्, 'हामी पनि सदरमुकाम र राजधानीका व्यापारीलाई यार्चा उधारोमै बेच्छौं।' सदरमुकाम र राजधानीका व्यापारीले पनि विदेशी व्यापारीलाई पछि रकम चुक्ता गर्ने सर्तमा व्यापार गर्ने गरेको लोथ्यालले बताए। गत वर्ष यार्सा बेचको २० लाख रुपैयाँ नपाएपछि दार्चुला सदरमुकाम खलंगाका एक व्यापारीले व्यापार नै छाडे। 'यार्चामा लगानी गर्नु निकै जोखिम छ, भरपर्दो व्यापार छैन्,' ती व्यापारीले भने, 'व्यापारी खोज्न राजधानी धाउँदैमा लाखौं सिधिन्छ।' राजधानी र विदेशी व्यापारीबाट उक्त रकम असुल गर्न बाँकी नै रहेको उनले बताए। असुरक्षाका कारण बसमा यार्चा लिएर राजधानीसम्म पुग्न गाह्रो छ। असुरक्षित भएकै कारण वर्षेनी हेलिकप्टरमा नै यार्सा ढुवानी गरिन्छ। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयको तथ्यांकअनुसार यो वर्ष दार्चुलाबाट ६ पटकसम्म हेलिकोप्टरमा यार्सा ढुवानी गरिएको छ। यसरी ढुवानी गरिँदा व्यापारीले एक पटकमा दुईदेखि तीन लाख रुपैयाँ खर्च व्यहोर्नु पर्छ। source : nagariknews