फिफा वरियातामा नेपालको फड्को :

फिफाको पछिल्लो विश्व वरियताक्रममा नेपालले २४ स्थान फड्को मारेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बुधबार प्रकाशित गरेको वरियता नेपाल १ सय ५२ औं स्थानमा उक्लिएको हो। पछिल्लो १३ बर्षमा नेपालको यो सबैभन्दा माथिको वरियता क्रम हो। नेपाल कम्तीमा २ महिना यही वरियतामा रहनेछ। फिफाले अर्को वरियता फेब्रुअरीमा मात्र सार्वजनिक गर्ने जनाएको छ। फिफाले गत नोभेम्बर १७ मा निकालेको वरियताक्रममा नेपाल १ सय ७६औं स्थानमा थियो। पछिल्लो महिना ५९ अंक प्राप्त गरेपछि वरियतामा नेपालको अंक १ सय १२ पुगेको छ। अघिल्लो महिना बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिप दौरान नेपालले प्राप्त गरेको नतिजाका आधारमा वरियताक्रममा सुधार भएको हो। साफ च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई ३-० ले हरायो भने आफूभन्दा वरियतामा माथि रहेको माल्दिभ्सलाई बराबरीमा रोक्यो। बंगलादेश जानुअघि भारतमा भएको मैत्रीपूर्ण खेलमा भुटानमाथि २-१ को विजय प्राप्त गर्नुले पनि वरियता सुधारमा फाइदा पुगेको हो। अफगानिस्तानलाई हराएपछि नेपालले १ सय २७ दशमबल ५० अंक पायो। भुटानविरुद्धको मैत्री खेलमा पनि नेपालले १ सय २७ दशमबल ५० अंक नै पाएको थियो भने माल्दिभ्सविरुद्धको खेलमा नेपाल ४५.९० अंक बटुल्न सफल भयो।
दक्षिण एसियाली राष्ट्रमा नेपालले सबैभन्दा बढी स्थान सुधार गरेको हो। नेपालभन्दा पछि बंगालदेशले १६, माल्दिभ्सले ९, पाकिस्तानले ५, श्रीलंकाले ३, भारत र अफगानिस्तानले समान १ स्थान सुधार गरेका छन्। भुटानको वरियतामा भने सुधार आएको छैन। सन् १९९३ बाट फिफाले वरियताक्रम तोक्न सुरु गरेको हो। वरिताक्रमको पहिलो वर्ष नेपाल १ सय २४औं स्थानमा थियो। त्यो वरियता नेपालको अहिलेसम्मकै उच्चतम वरियता हो।

source:nagariknews