संयुक्त अरब इमिरेट्सको दुबईस्थित फ्लाई दुबईले मंगलबारदेखि नेपालमा उडान सुरु गरेको छ । १२ हजार १ सय रुपैयाँमा काठमाडौं-दुबई दुईतर्फी टिकट बिक्री गरेर चर्चामा आएको उक्त एयरलाइन्सले नेपालमा साताको चार उडान गर्नेछ ।
दुबईको पहिलो बजेट -सस्तो भाडामा उडान गर्ने) एयरलाइन्स भएको कम्पनीका प्रमुख कार्यकारी गेथअल गेथले बताए । मध्यपूर्वमा काम गर्ने लाखौं नेपाली र नेपाल आउन चाहने पर्यटकलाई लक्षित गरी उडान थालेको घोषणा उनले गरे । १ सय ८९ सिट क्षमताका बोइङ ७३७- ८०० बाट उडान गर्नेछ । उडान सुरु गर्दा दिइएको सस्तो मूल्य सधैं कायम हुने छैन । बुधबारदेखि एकतर्फी भाडा ९६ अमेरिकी डलरबाट सुरु हुने कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । 'जति छिटो बुक गर्यो उति सस्तो हुन्छ, ढिलो हुँदै गएपछि मूल्य बढ्नेछ,' उनले भने । सस्तो भाडा भएकाले उडानमा जाँदा हाते झोला बाहेक समान लैजाँदा निश्चित थप शुल्क तिर्नुपर्ने र खाना खानुपरे पनि पैसा लाग्ने उनले बताए । सिट छनोटको समेत सुविधा भएको जानकारी कार्यक्रममा दिइएको थियो । मध्यपूर्वमा काम गर्ने नेपालीलाई लक्षित गर्दै त्यहाँबाट आउने यो पाँचौं विदेशी विमान कम्पनी हो । यसअघि कतार, गल्फ, इत्तिहाद र एयर अरेबियाले नेपालमा उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले पनि दुबई र दोहा उडान गर्छ ।
source : kantipur