गणराज्यले गृहयुद्ध निम्त्याउछ : सुशील :

कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले माओवादीले गणराज्यको घोषणा अभियान थालनी गरेर मुलुकलाई गृहयुद्धमा लैजाने दुष्प्रयास गरेको बताएका छन् । जनकपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले माओवादीको गणराज्य घोषणा गर्ने कार्यले संविधानसभाको अधिकार क्षेत्रलाई समेत चुनौती दिएको बताए । संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने उद्देश्य, गन्तव्य र मनोभाव बोकी जङ्गलबाट संविधानसभामा आएका माओवादी कर्तव्यच्यूत हुनु विडम्बनापूर्ण भएको कोइरालाले टिप्पणी गरे । उनले मुलुकको संवेदनशीलतालाई बुझेर माओवादीले द्वन्द्व चर्काउने कार्यलाई परित्याग गरी विधिको शासनलाई स्वीकार गर्न अहिलेको माग भएको स्पष्ट गरे । शान्ति स्थापना, गरिबी निवारण र विकासका लागि प्रतिबद्ध नभई संविधान विपरीत काम गर्ने माओवादीले मुलुकमा थप राजनीतिक सङ्कट उब्जन गराएको पनि उनले बताए ।

source:kantipur