बियरका बोतलमा पटाका पड्काएर माओवादीले बिहिबार अपरान्ह पाल्पाको तानसेनबाट मगरात स्वायत्त गणराज्यको घोषणा गरेको छ। तानसेनको सितलपाटीमा रहेको एशियाकै ठूलो ऐतिहासिक ढोकामा राखिएको मगरात प्रदेशको बोर्ड छोपिएको रातो पर्दा हटाउँदा अर्कोतिर पटाका पड्काइएको थियो। माओवादी महासचिव रामबहादुर थापाले अपरान्ह १ बजे मगरात प्रदेशको बोर्डको पर्दा हटाएर मगरात गणराज्यको घोषणा गरेका हुन्। माआवादीको मगरात गणराज्यभित्र अहिलेका नौ जिल्ला समावेस छन्। नौ जिल्लाको प्रतिकका रुपमा नौवटा बियरका बोतलमा रकेट पटका राखेर पड्काइएको हो। पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुंग, रुकुम, रोल्पा, सल्यान, प्युठान, म्याग्दि गरि नौ जिल्लालाई माओवादीले मगरात स्वायत्त प्रदेशमा गाभ्ने बताउँदै आएको छ। बियरका बोतलमा राखिएका नौवटा पटका पड्काउँदा सितलपाटी धुँवाको मुस्लोले छोपिएको थियो। माओवादीले पड्काएको पटकाको आवजले केहिबेर सर्वसाधारणमा खैलाबैला मच्चिएको थियो। हजारौको भिडमा असुरक्षित ढंगले पटका पड्काउँदै गरेको सुरक्षाकर्मीहरुले टुलुटुल हेर्दै थिए भने केही भिड पछाडि हटाउन खटिएका थिए। पटकाको छर्रा लागेर एकजना सर्वसाधारणको ज्याकेट सामान्य पोलिएको थियो। माओवदीले पड्काएको रकेट पटका सितलपाटिका स्थानीय द्वारिका महर्जनको घरभित्र समेत पस्यो र भित्रै पड्क्यो पनि। पटका झ्यालबाट पसेर कोठा भित्र पड्कँदा कोठा धुँवाले भरिएको थियो।
यसैगरी माओवादीले आजै तमुवान स्वायत्त प्रदेशको घोषणा गरेको छ। पोखरामा आयोजित घोषणा सभामा माओवादी नेता देव गुरुङ उपस्थित थिए।
source:nagariknews