राष्ट्रपति रामवरण यादवले 'निर्धारित समयभित्र संविधान निर्माण भएन भने गम्भीर राजनीतिक जटिलता आउने' भनी दिएको अभिव्यक्तिप्रति एमाले सभासद् यमलाल कँडेलले आपत्ति जनाएका छन्। सदनको विशेष समयमा बोल्दै कँडेलले २३ पुसको नागरिक मा राष्ट्रपति यादवले दिएको अभिव्यक्ति 'सम्मानित राष्ट्रपति जस्तो नभइ दलको नेता जस्तो' भएको आरोप लगाए। व्यवस्थापिका संसद्को विशेष समयमा बोल्दै कँडेलले पुस २३ को नागरिकमा प्रकाशित समाचारलाई उधृत् गर भने, '२३ गतेको नागरिक दैनिक पढेपछि हामीले कल्पना गरेको राष्ट्रपति त्यहाँ पाइनँ।सम्मानित राष्ट्रपति हैन, कुनै दलको नेताजस्तो अभिव्यक्ति छ।'केही समयअघिदेखि राष्ट्रपति विवादमा रहेको उल्लेख गर्दै कँडेलले १८ वा २२ दल जसले आग्रह गरेको भए पनि राष्ट्रपतिलाई राजनीतिमा सामेल गरेको आरोप लगाए। उनले आलोचनाका क्रममा राष्ट्रपतिका सल्लाहकार सूर्य ढुङ्गेलको अभिव्यक्तिलाई पनि उल्लेख गरेका थिए।अन्तरिम संविधान, ०६३ ले निर्देशित गरेको सीमाभित्र राष्ट्रपति नरहेको आरोप लगाउँदै सभासद् कँडेलले भने, 'म कुन ठाउँमा छु र मलाई के अधिकार दिएको छ भन्ने बुझ्नुपर्छ। अन्तरिम संविधानमा 'डिक्टेट' गर्ने राष्ट्रपतिको व्यवस्था छैन।''म पहिला नास्तिक थिएँ, राष्ट्रपति भएपछि संविधान चाँडै बनोस् भनेर भगवानको प्रार्थना गर्दैछु' भन्ने नागरिकमा प्रकाशित राष्ट्रपतिको भनाइ उल्लेख गर्दै कँडेलले भने, 'राष्ट्रप्रमुख त्यस्तो भन्दै हुनुहुन्छ, सरकार प्रमुख ५ महिनाभित्र संविधान नबने म्याद थप्न सकिंदैन भन्दै हुनुहुन्छ, संविधान बन्ने कुरा पत्याउनेको संख्या घटिरहेको छ।' राष्ट्रपतिको भनाइले संविधानको रक्षा हुन नसक्ने उनको दाबी थियो।
source:nagariknews