नेकपा माओवादीले वैशाख १९ देखि अनिश्चतकालीन आमहड्तालको घोषणा गरेको छ। राजधानीको पाँच तारे होटलमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्तालको घोषणा गरेका हुन्। हड्ताल काठमाडौं र सहर केन्द्रित हुने दाहालले बताए।
माओवादीका सबै वरिष्ठ नेताहरु उपस्थित भएको कार्यक्रममा अध्यक्ष दाहालले हड्तालकै बीचमा पनि सहमति र सम्वाद जारी राखिने बताए। 'हड्ताल हुँदैमा वार्ता र सम्वाद रोकिँदैन, त्यो पनि चलिरहन्छ ' दाहालले भने। मा
केन्द्रीय नेताहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा दाहालले हड्तालकै बिचमा पनि सहमति र संवादको ढोका खुला राख्ने जानकारी दिए। उनले माओवादी हड्ताललाई तेश्रो जनआन्दोलनकै रुपमा ग्रहण गर्न आग्रह गर्दै उद्योग कलकारखाना, यातायात, शैक्षिक संस्था बन्द गर्न अपिल गरे। आन्दोलन शान्तिपूर्ण हुने दाहालले बताए। 'सरकार दमनमा उत्रिए जनताले स्वभाविक रुपमा प्रतिकारमा उत्रिनेछन्', चेतावनीको भाषामा दाहालले भने- 'बल प्रयोग गरेर आन्दोलन हिंसात्मक बनाए त्यसको जिम्मेवारी सरकार नै हुन्छ।'
अध्यक्ष पुष्पकमल दाहालले प्रधान मन्त्री तोक्ने अधिकार माधव नेपाललाई नभएको बताए। 'म यो प्रधान मन्त्री मान्छु र यो मान्दिन भन्न यो राजतन्त्र हो ?'- उनले भने। यसअघि नेपालले दाहाल बाहेकका व्यक्तिको नाम प्रधानमन्त्रीको रुपमा आए आफू राजीनामा दिन तयार भएको बताएका थिए।
अन्तरिम संविधानमा सहमतीय आधारमा राजनीतिक क्रियाकलाप अघि बढाउने उल्लेख भए पनि अरु दलले माओवादीको शक्तिदेखि डराएर बहुमतीय आधारमा चल्ने भनेको उल्लेख गर्दै उनले भने- उक्त दिन बहुमतीय आधारमा हामी पनि सहमत नभएको भए उक्त दिन गणतन्त्र घोषणा हुने थिएन। त्यसैले हामीले सहमतीय र गणतन्त्रमध्ये गणतन्त्र रोज्यौं।
प्रधान मन्त्री को बन्नेबारे प्रधान मन्त्रीले कुरा उठाए भने हामी त्यसलाई सोझै अस्वीकार गर्छौं भन्दै उनले थपे- नाममा हैन, इस्युमा पो सहमति हुनुपर्यो त । विदेशीहरुले पनि माओवादीको आन्दोलन र अब शान्ति प्रक्रिया के हुन्छ ? संविधान निर्माणबारे के हुन्छ ? भन्नेबारे जिज्ञासा राखे भन्दै उनले सञ्चारकर्मीलाई सुनाए- हामीले सबै शान्तिपूर्ण हिसावले हुन्छ भन्यौं र सकभर आमहड्तालसम्म पुग्न नपरोस् भन्ने चाहन्छौं भन्यौं। 'अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्दा धेरैले माओवादीमाथि अन्याय परेको उनीहरुले महसुस गरेको हामीले बुझेका छौं, यत्रो चुनाव जितेर ठूलो पार्टी भएकामाथि अन्याय भएको उनीहरुलाई पनि मन नपरेको बुझ्यौं।
उनले भारतसँग नयाँ सम्वन्ध खोजेको समेत बनाए। उनले सबैसँग संवादको ढोका खुला राखेको समेत जानकारी दिए।
source:nagarik