संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई :

काठमाडौं, वैशाख १७ - सुरक्षा परिषदले संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकले बैंक, जलविद्युत, हवाईलगायतका संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई दिने निर्णय गरेको हो ।

सरकारले सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाइसकेको गृहमन्त्री भीम रावलले जानकारी दिए । 'माओवादी आन्दोलनमा बृहत्त शान्ति सम्झौताको उलंघन हुन दिइँदैन,' उनले भने ।
रक्षामन्त्री विद्या भण्डारीले पनि लोकतन्त्र स्थापित गराउन र शान्ति सम्झौता भंग हुने स्थिति आएमा सेना परिचालन हुन सक्ने बताइन् । 'माओवादी आन्दोलन हिंसात्मक भए, बल प्रयोग भए सेना परिचालन पनि हुन सक्छ,' रक्षामन्त्रीले भनिन्, 'तर तपाईंहरु भ्रममा नपर्नुस्, निर्णय भने भएको छैन ।' बैठकमा माओवादी आन्दोलनका बेला अपनाउनुपर्ने सुरक्षा रणनीतिका बारेमा छलफल भएको रक्षामन्त्रीले बताइन् ।
प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्षता बसेको सुरक्षा परिषदको बैठकमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, रक्षामन्त्री, गृहमन्त्रीसहितका केही मन्त्री र सवै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

source:kantipur