वैशाख १४ - 'भुइँचालो जान मात्र बाँकी छ, त्यसबाहेक नेपाल र यहाँ केही फरक पाइनँ,' राष्ट्रसंघ स्टेबलाइजेसन मिसन इन हाइटीमा ६ महिना शान्ति सैनिकको रूपमा काम गरेका नेपाली सेनाका एक अधिकृतले अनुभव सुनाए, 'अदूरदर्शी, सत्ताका लागि जे पनि गर्ने भ्रष्ट नेताका कारण यो देश बिग्रेको रहेछ ।'
हाइसियन जनता त हिजो आज राजनीति शब्ददेखि नै घृणा गर्न थालेका छन् । 'स्वतन्त्रताको दुई सय वर्ष बितिसक्यो । यसबीच जति पनि नेता सत्तामा आए एकाधबाहेक सबैले आफ्नो मात्र स्वार्थ
हेरे । कतिन्जेल धैर्य गर्ने ?' पत्रकार दुक्रिपे ज माइले भने, 'राजनीति सेवा नभएर व्यापार भएको छ । हाम्रा नेता सत्तामा जान जे गर्न पनि पछि पर्दैनन् ।' सरकारलाई जनतासँग नभएर शक्ति केन्द्रसँग मात्र सरोकार भएको उनले बताए ।
भूकम्पअघि पनि अवस्था नाजुक नै रहेको यहाँका जनताको भनाइ छ । 'भूकम्पले थप दुःख थपिदियो । सरकारलाई कुनै मतलब छैन । मुख्य कुरा राजनीति नै हो । हामी स्थिरताका लागि संघर्ष गरिरहेका छांै तर आशा गर्ने ठाउँ निकै कम छ,' डेलमासका शिक्षक जेरेमी डेलामेनले भने । राहत र उद्धारको काममा सरकारले कुनै काम नगरेको उनले बताए । 'अन्तर्राष्ट्रिय समुदाय अघि नआएको भए त भूकम्पभन्दा भोकमरी र महामारीले अझै धेरै जनता मृत्युको मुखमा पुग्ने थिए,' उनले भने । हाइटी तीनतिर विशाल समुद्र र एकतिर डोमेनिकन रिपब्लिकजस्तो विकसित मुलुकले घेरिएको छ । यहाँको प्रतिव्यक्ति आय नेपालीको भन्दा झन्डै तीन गुना बढी १२ सय अमेरिकी डलर छ । महाशक्ति अमेरिका समुद्रसँग जोडिएको हाइटीको छिमेकी हो । दर्जनौं विकसित मुलुकहरू यहाँबाट निकै नजिक पर्छन् । तर कुनै समय डोमेनिक रिपब्लिकमाथि २७ वर्ष शासन गरेको मुलुक हाइटीमा आज आफ्नै सेना छैन । ग्यांगस्टरहरूको बिगबिगी भएकाले सुरक्षार्थ १९ मुलुकका करिब १० हजार सेना परिचालित छन् ।
'यहाँका नेता अमेरिकाको इसारामा नाच्छन् । सरकार अमेरिकाको कठपुतलीजस्तै छ,' पेचोभिलको आन्तरिक शरणार्थी शिविरकी स्वयंसेविका इमिसिल लोरेडाले भनिन् ।
छेवैमा रहेका एक नेपाली सैनिक अधिकृतले टिप्पणी गरे, 'हामी भारतप्रति निर्भर भएजस्तै हो । हाम्रा अधिकांश नेता उतैको इसारामा नाच्छन् ।' मिनुस्तामा कार्यरत भाषा अनुवादक फिलिप क्लेमेन्टका अनुसार सीपअनुसारको रोजगारी नपाएकाले अधिकांश युवामा राजनीतिप्रति विरक्ति छ ।
'अरूलाई जागरुक बनाउने युवा वर्गले नै राजनीतिमा चाख नदिएकाले चुनावमा निकै कम मत खस्छ,' उनले भने, 'पछिल्लो चुनावमा १० प्रतिशत मात्रै भोट खसेको थियो ।' पछिल्लो निर्वाचनका लागि ५० राजनीतिक दल दर्ता भए पनि उनीहरूले सामाजिक जागरणका कुनै अभियान नचलाएको उनले जानकारी दिए ।
भूकम्पमा बाबुआमा गुमाएकी २४ वर्षीया क्लाउडिया यतिबेला बेरोजगार छिन् । उनी काम गर्ने सुपरमार्केट यतिखेर भग्नावशेषमा परिणत भइसकेको छ ।'पाँच भाइबहिनीको जिम्मेवारी मेरो काँधमा छ । मैले एकाउन्टमा ग्य्राजुएसन गरेकी छु तर अहिले जागिर छैन । म शरणार्थी क्याम्पमा अरूले दिएको खाएर बस्न चाहन्नँ,' उनले भनिन्, 'धेरै युवा यतिखेर मेरोजस्तै समस्या झेलिरहेका छन् । तर सरकार गहिरो निद्रामा सुतेको छ ।'ताबारेका मेयर ज फ्रान्ज थेओडाटले सरकार भूकम्पपीडित जनतालाई उद्धार तथा राहत वितरणमा सक्रिय भइसकेको बताए । 'छिट्टै रोजगारीमूलक कार्यक्रमको व्यवस्था गरिनेछ,' उनले भने । राजनीतिप्रति जनताको वितृष्णा रहेको उनले स्विकारे ।'कतिपय राजनीतिज्ञले सेवक नभएर शासकको जस्तो व्यवहार गरेकाले जनता विरक्तिएका हुन् ।' यहाँको सरकार, राजनीतिक दल अमेरिकाको इसारामा नाच्छन् भन्ने जनताको गुनासो छ नि ? भन्ने प्रश्नमा मेयर थेओडाटले भने, 'छिमेकी, त्यसमाथि महाशक्ति सम्पन्न मुलुक भएकाले हामीले चाहेर पनि अमेरिकालाई नजरअन्दाज गर्न सक्दैनौं ।'
source:kantipur