आन्दोलन हिंसात्मक हुँदैनः बाबुराम :

माओवादी आन्दोलन हिंसात्मक हुने शंका व्यक्त भइरहँदा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले मे १ को जनप्रदर्शन तथा आमहड्ताल शान्तिपूर्ण हुने दाबी गरेका छन्।
'बाहिरबाट जति नै हिंसात्मक देखिए पनि आन्दोलन शान्तिपूर्ण हुन्छ' हिंसा अन्त्य अभियानका सदस्यसँग आफ्नै निवासमा भेट गर्दै मंगलबार भट्टराईले भने।
माओवादी हिंसात्मक हुने खतरातर्फ ध्यानाकर्षण गराउन पुगेका अभियान सदस्यलाई भट्टराईले आश्वस्त पार्ने कोसिस गरेका थिए। 'उनले मुलुक हिंसाको बाटोमा लाग्दैन भने', बाबुराम भट्टराई भेटेर फर्किएका कलाकार मदनकृष्ण श्रेष्ठले नागरिकन्युजसँग भने- 'तर पनि नेताहरुको बोलाइ र गराइको फरक हेर्दै आइरहेका छौं। हिंसात्मक नहोस् यो आन्दोलन।'
राजेश हमालले फेरि द्वन्द्व चर्कियो भने परिवर्तन सहितको शान्ति स्थापनाका लागि नेतृत्व गर्न बाबुराम भट्टराईलाई आग्रह गरेका थिए। 'तपाइँलाई हामी सहयोग गर्न तयार छौं'- उनले भने। प्रधानमन्त्रीको लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रयास तीब्र पारेको अवस्थामा कलाकार हमालको प्रस्ताव सुनेर भट्टराई मुसुमुसु हाँसेका थिए।
हरिवंश आचार्यले १० वर्षे द्वन्द्व प्रसंग स्मरण गर्दै फेरि मुलुक द्वन्द्वतर्फ बढिरहेको बताएपछि आनी छोइङ डोल्माका आँखा रसाएका थिए। गला अवरुद्ध पारी उनी रुन थालेपछि राजेश हमालले सम्झाएका थिए।
माओवादी आन्दोलन हिंसात्मक हुनसक्ने त्रास सर्वसाधारणमा बढ्दै गएपछि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, आनी छोइङ डोल्मा, सुशील प्याकुरेल, कुलचन्द्र गौतमले बाबुराम भट्टराईलाई हिंसा अन्त्य गर्न अनुरोध गर्न गएका हुन्।

source:nagarik