काठमाडौं, वैशाख २२ (नागरिक)- माओवादीले आह्वान गरेको आमहडतालको चौथो दिन बुधबार २१ स्थानमा स्थानीयले बन्दको प्रतिकार गरेका छन्। त्यसैगरी ४० ठाउँमा तोडफोड भएको छ भने कुटपिट र अपहरणका ९ घटना भएका छन्। मकवानपुरमा एक जनाको मृत्यु भएको छ।
बुटवल नगरपालिकाको कार्यालयमा बन्दकर्ताले साँझ ५ बजे झण्डा राख्ने क्रममा झडप भएको छ। प्रहरीले टियर ग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीले साथै साँझ साढे ५ बजे बुटवल नगरपालिका–६ स्थित प्रहरी विटमा आगजनी गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही नगरपालिका–७ अमरपथस्थित प्रहरी बिटमा ढुङ्गा प्रहार गरी झ्यालको शिशा फुटाएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसैगरी झापाको मेची नगरपालिका–२ तिनाउपुलमा भे.१ प १२९२ नम्बरको मोटरसाइकलमा दिउसो पौने ४ बजे बन्दकर्ताले आगजनी गरेकोमा प्रहरीले तत्काल नियन्त्रण गरेको छ। मोटरसाइकलमा सामान्य क्षति भने भएको छ। यसैगरी कास्कीको पोखरा उपमहानगरपालिका पुरनधारामा दिउसो पौने ४ बजे नम्बर खुल्न नसकेको एक मोटरसाइकल बन्दकर्ताले तोडफोड गरेका छन्।
यसैगरी चितवनको भरतपुर नगरपालिकास्थित निर्जन उत्थान ब्याङ्कबाट प्रदर्शनकारीहरुले दिउसो साढे ३ बजे ल्यापटप १ थान, कम्प्युटर ४ थान र फोन १ थान लुटेका छन्।
धनकुटाको अस्पतालचोकमा युथफोर्स र वाइसियल कार्यकर्ताबीच दिउसो साढे २ बजे झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ। दुबै पक्षका कार्यकर्ताहरु नारा जुलुस गर्दै जाँदा उक्त स्थानमा पुगी झडपको रुप लिन आँटेपछि तत्काल प्रहरी पुगेर बीचमा बसी दुबै पक्षलाई आ–आफ्नो साइडमा राखी थप क्षति हुनबाट रोकेको प्रहरीले जानकारी दिएको छ। सो क्रममा २ जना वाइसियल कार्यकर्ता ढुङ्गा लागी घाइते भएका छन्।
प्रहरीले जनाएअनुसार सर्लाहीको रानीगन्ज–८ स्थित सङ्गीता बोर्डिङ स्कूलमा बन्दकर्ता प्रवेश गरी दराज, शिशा, झ्याललगायतका सामान तोडफोड गरेका छन्। दिउसो २ बजे स्कूल बन्द नगराएको भनी तोडफोड गर्दा करीव ४० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
सिरहाको मिर्चेया–३ महेन्द्र राजमार्गमा बिहान साढे ११ बजे प्रदर्शनकारीले श्यामकुमार यादवको स.२ प १२०९ नम्वरको मोटरसाइकलमा आगजनी गरेर पूर्णरुपमा क्षति पुर्याएका छन्। यसैगरी धादिङको बैरेनी–८ स्थित बजारमा बागेश्वरी दूध डेरीका कर्मचारीले बन्दविरुद्ध बिहान साढे ९ बजे सडकमा दूध पोखेर विरोध गरे। यसैगरी नवलपरासीको त्रिवेणी सुस्ता–६ रानीनगरमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र स्थानीयबासीले बिहान ९ बजे बजार खुलाउँदै हिँडे।
यसैगरी झापाको मेची नगरपालिका–१ स्थित उद्योग वाणिज्य सङ्घका पदाधिकारी र स्थानीयले बिहान पौने ९ बजे बन्दको विरोधमा जुलुस निकाली बजार खुलाएका छन्।
यसैगरी कन्चनपुरको ट्राफिक चोकमा बन्दकर्ताले बिहान पौने ८ बजे से.१ प ३२७२ नम्बरको मोटरसाइकल तोडफोड गरी क्षति पुर्याएका छन्।
यसैगरी चितवन भरतपुर नगरपालिका क्षेत्रपुरमा ना ७ प ४९४८ नम्बरको मोटरसाइकलमा बन्दकर्ताले वैशाख २१ गते साँझ साढे ५ बजे आगजनी गरेका छन्। मोटरसाइकलमा सामान्य क्षति भएको छ। सो क्रममा विवाद हुँदा बन्दकर्तातर्फका २० वर्षीय सीताराम खनाल सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि सरकारी अस्पताल चितवन लगिएको छ।
यसैगरी झापाको मेची नगरपालिका–१३ स्थित महेन्द्र राजमार्गमा प्रदर्शनकारीले वा १७ प ९९९५ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्। वैशाख २१ गते साँझ साढे ४ बजे चालक २७ वर्षीय भुपेन्द्र राईलाई कुटपिट गरेका थिए। उनीहरुले सोही समयमा डब्ल्यु. डी. ७४०३४९ नम्बरको इन्डियन मोटरसाइकलको हेडलाइट फुटाइदिएका थिए।
source:nagarik