काठमाडौ, वैशाख २२ - माओवादीको अनिश्चितकालिन आमहड्ताल चौथों दिनसम्म आइपुग्दा हिसात्मक बनेको छ । झडपमा एक जनाको मृत्यु भएको छभने दर्जानौं घाइते भएका छन् ।
मकवानपुर सिमपानीका सुदीप कार्की दुई पक्षबीचको झडपमा मारिएका छन्भने भत्तलपुरमा गोली चलेको छ । बुटवलमा प्रहरीसंगको झडपमा दश माओवादी कार्यकर्ता घाइते भएका छन् । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) ले मानवअधिकार रक्षक र समाचार संकलनमा गएको पत्रकारहरुलाई समेत ठाउँ ठाउँमा आक्रमण तथा दुव्र्यवहार गरिएको जनाएको छ ।
आमहड्ताल लम्बिंदै जाँदा प्रदर्शनहरु हिंसात्मक हुने आशंकाले सर्वसाधारण त्रसित बन्न थालेका छन् । माओवादीले जवरजस्ती बन्दा गारउँदै हिड्ने र प्रमुख सत्तारुढ एमाले युवा संगठनले बिभिन्न ठाउँमा प्रतिकारको नेतृत्व गरेकाले पनि थप भीडन्त र हिंसाको आशंका बढेको ।
केही स्थानका लुटपाट तोडफोड तथा आगजनीका घट्नाहरुसमेत भएका छन् । अझ केही दिन आमहड्ताल लम्बिंदै जाने होभने यस्ता अपराधिक क्रियाकलापहरु बढ्दै जाने संभावना देखिएको छ । प्रहरीप्रधान कार्यालयका अनुसार आमहडतालका क्रममा हालसम्म बन्दको प्रतीकार २१, तोडफोड ४० र प्रदर्शकारीबाट कुटपिट तथा अपहरण ९ वटा भएको छ ।
प्रहरीका अनुसार रुपन्देही, झापा, कास्की, चितवन, धनकुटा, सर्लाही, सिरहा, धादिङ्ग, नवलपरासी, कन्चनपुरलगायतका जिल्लाहरुमा प्रदर्शनका क्रममा आगजनी, लुटपाट, तोडफोड, कुटपिट तथा प्रतीकारका घटनाहरु भएका छन् ।
त्यसैगरी भक्तपुरमा बुधबार बिहान प्रतिकारमा उत्रिएका युथफोर्स र माओवादी कार्यकर्ताबीच झडप हुँदा दुई राउण्ड गोली चलेको थियो । यद्यपी गोली चलाउने पक्षको यकिन हुन सकेको छैन ।
बुटवल नगरपालिका कब्जामा लिएर कार्यक्रम गरिरहेका माओवादीलाई प्रहरीले हस्ताक्षेप गर्दा साँझपख बजार क्षेत्र पुरै तानवमय बन्यो । माओवादी १० जना कार्यकर्ता घाइते भएका छन् । प्रहरी विट जलाइएको छ । दोहोरो ढुङ्गा हानाहानमा प्रहरीसमेत घाइते भएका छन् ।
मंगलबार सतुंगलबासीले प्रतिकार गरेको भन्दै बुधबार दिउँसो माओवादीले ठूलो जुलुस लगेर आमसभा गरेको थियो । त्यसले स्थानीयवासीमा त्रास पैदा गरेको छ । अझ एमाले काठमाडौं जिल्ला कमिटीको लेटरप्याडमा माओवादी आमसभाको प्रतिकार गर्ने चेतावनीयुक्त पत्रले र्ाजनीतिक दलहरु संगठित र नियोजित रुपमा भीडन्तका तयारीमा त छैन भन्ने प्रश्न उठेको छ । भक्तपुर घट्नामा पनि नेपाल युवा संघका अध्यक्ष महेश बस्नेत आफै संलग्न भएको आरोप माओवादीको छ ।
धनकुटामा बजार खुलाउन चाहनेहरु र माओवादी कार्यकर्ताबीचको संभावित भीडन्त दुई दिनदेखि प्रहरीले छेकेर बसेको छ । यद्यपी दुई माओवादी कार्यकर्तालाई युथफोर्स सदस्यहरुले बुधबार कुटपीट गरिएको छ ।
चितवनमा निर्जन उत्थान बैंकबाट दिउसो साढे ३ बजे ल्यापटप १ थान, कम्प्युटर ४ थान र फोन सेट १ थान लुटी लगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीमा संगीता बोर्डिङ्ग स्कूलमा बन्दकर्ताहरुले दराज, शिशा, र्याकलगायतका सामानहरु तोडफोड गरेको छ । त्यहाँका करिव ४० हजार रुपैया बराबरको धनमाल क्षती भएको बताइएको छ ।
सिराहा यामकुमार यादवको स.२ प १२०९ नम्वरको मोटरसाइकलमा आगजनी गरेका छन् । नवलपरासीको त्रिवेणी, रानीनगरमा मधेशी जनअधिकार फोरम -लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यर्ताहरुले बिहान ९ बजे बजार खुलाउँदै हिंडेका थिए ।
झापामा बुधबार बिहानै बन्दको बिरोधमा जुलुस निस्किएको थियो । बन्दकर्ताले झापा, कास्की, कन्चनपुर, भरतपुरमा मोटरसाइकल तोडफोड तथा आगजनी गरेका छन् ।
source:kantipur