काठमाडौं, वैशाख २३ (नागरिक)- माओवादी हड्ताल पाँचौं दिनमा आइपुग्दा एक दर्जन बढी ठाउँमा प्रतिकारका घटना भएका छन्।
प्रतिकारमा उत्रिएका स्थानीय र माओवादीबीच झडप हुँदा केही घाइते समेत भएका छन्। झडपका कारण राजधानीका जोरपाटी, बुढानिलकण्ठ तनावग्रस्त छन् भने वीरगञ्जमा कर्फ्यु लगाइएको छ।
काठमाडौंकै जनता प्रतिकारमा:
माओवादी हड्तालको प्रतिकारमा काठमाडौंकै जनता उत्रिएका छन्। बसुन्धरा, बुढानिलकण्ड, आरुबारी, कीर्तिपुरमा बन्दकर्ता र स्थानीयबासीबीच झडप भएको छ। नारा लगाउँदै चाबहिलबाट अघि बढिरहेको जुलुसमाथि अरुबारी क्षेत्रका बासिन्दाले आक्रमण गरेपछि झडप भएको छ।
बूढानिलकण्ठमा पनि माओवादी र स्थानीयबासीबीच झडप भएको छ। प्रतिकारमा संगठति समूह नभइ स्वतस्फुर्त प्रतिरोधमा उत्रिएका जनता सहभागी रहेको घटनास्थलबाट नागरिकन्युजकर्मी विकास कार्कीले बताएका छन्। झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेलाई प्रहरीले अस्पताल लगेको छ। सम्भावित मुढभेडलाई ध्यानमा राख्दै स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। माओवादी जुलुसमाथि घरका छतछतबाट ढुंगा प्रहार गरेका छन्।
दुई गाडी वाइसीएल बसुन्धरा पुर्याएको 'न्युज ट्वान्टी फो'ले जनाएको छ। राजधानीका विभिन्न ठाउँमा माओवादीविरुद्ध प्रतिकार हुन थालेपछि केही समयअघि काभ्रेबाट वाइसीएल कार्यकर्ता ओसारिएको थियो। शक्ति थपिएपछि माओवादीले स्थानीयबासीका घरघरमा छिरेर कुटपिट गरेका छन्। कुटपिटबाट गम्भीर घाइते भएका दुई स्थानीयलाई उपचारका लागि टिचिङ अस्पताल भर्ना गरिएको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्।
जोरपाटीमा हड्तालविरुद्ध सर्वसाधारणले विरोध र्याली निकालेका छन्। पसल खोलेर बसेका लक्ष्मण श्रेष्ठको परिवारका पाँच जनालाई माओवादीले कुटपिट गरेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका हुन्। 'हामी कुनै राजनीतिक दलका मानिस होइनौं। अब अति भयो। अब माओवादीको पूरै प्रतिकार हुनेछ,' प्रतिकारमा उत्रेका जोरपाटी बेसीगाउँका किरण चापागाइले नागरिकन्युजसँग भने। स्थानीय बासी प्रतिकारमा उत्रिएपछि माओवादी भागेका छन्। १० हजार जति स्थानीय माओवादीविरुद्ध नाराजुलुस लगाइरहेका छन्। सम्भावित भिडन्तलाई रोक्न सुरक्षाकर्मीले जोरपाटी चोक खाली गराउने प्रयास गरिरहेको नागरिकन्युजकर्मी ऋषिकेश दाहालले जनाएका छन्। स्थानीयबासी प्रतिकारमा उत्रिएपछि चावहिलमा रहेका ३ हजार माओवादी फलामे रड र लठ्ठी लिएर जोरपाटीतर्फ लागेका छन्।
वीरगञ्ज हड्तालको पाँचौं दिन बिहानैदेखि तनावग्रस्त बनेको छ। हिन्दु युवा संघका कार्यकर्ताले हड्तालविरुद्ध नाराबाजी गरेपछि माओवादीसँग भिडन्त भएको हो। भिडन्तमा वाइसीएलका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा सभासद प्रभु साह, भोजपुरा राज्य समितिका सचिव अञ्जना विङ्खे र सभासद शिवचन्द्र कुशवाह घाइते भएका छन्। वाइसीएलका धर्ती चौधरी र उमेश पट्टेल पनि घाइते छन्। माओवादी आन्दोलनको शिविर स्थानीयबासीले आगो लगाइ दिएका छन्।
शिविरमा आन्दोलनकारी खाने बस्ने गर्दै आएका थिए। बिहान युवा संघको नेतृत्वमा भएको प्रतिकारमा स्थानीय बासिन्दा थपिएका थिए। भिडन्तको मुडमा रहेका माओवादी कार्यकर्ता र हड्तालविरुद्ध आक्रोसित स्थानीयबीच मुढभेडको सम्भावना बढेपछि कर्फ्यु लगाउन जिल्ला सुरक्षा समितिको बैठक भइरहेको वीरगञ्जबाट नागरिकन्युजकर्मी उपेन्द्र लामिछानेले जनाएका छन्। बिहान बढी नै तनावपूर्ण देखिएको वीरगञ्जको अवस्था नियन्त्रणमा आउँदै गएको प्रहरीले बताएको छ।
हेटौंडामा सडकमा बसेर प्रदर्शन गरिरहेका माओवादी कार्यकर्तालाई युथफोर्सले लखेटोको छ। थोरै संख्यामा माओवादीलाई युथफोर्सले लखेटेपछि पछि माओवादीले ठूलो संख्यामा सडकमा कार्यकर्ता उतारेको छ। लोथरमा हिजो वाइसीएलले हत्या गरेका आफ्ना कार्यकर्ताको हत्यारा खोज्दै युथफोर्स घरघर गएर सोधपुछ गरेको चितवनबाट नागरिकन्युजकर्मी चाँदनी हमालले जनाएकी छन्।
सुनसरीको तरहराका सर्वसाधारणले आमहड्ताको अवाज्ञा गर्दै बजार खोलेका छन्। लगातारको आमहड्तालमा दैनिक उपभोग्य सामान खरीद गर्न सर्वसाधारणको दैनिक जनजीवन अस्तव्यस्त बनेपछि स्थानीयबासीले बजार खोलेका हुन्।
स्थानीयबासीले बजार खुलाउन र जनजीवन सहज पार्न मणिराम श्रेष्ठको अध्यक्षतामा ब्यापार प्रबर्दन समिति समेत निर्माण गरेका छन्। नागरिक समाजका अध्यक्ष महेन्द्र गिरीले माओवादीको आमहड्ताल अर्थहीन र सर्वसाधारणलाई दुःख दिने काम मात्र भएकाले स्थानीयबासीले अवज्ञा गर्दै बजार खुलाएको बताए।
बजार खुलाएपछि अतिआवश्यकीय सामान खरीद गर्नेको चहलपहल बढेकोछ। स्थानीयबासीले बजार खुलाएपछि हरेक विहीबार लाग्ने साप्ताहिक बजार पनि लागेको छ। तरहरा क्षेत्रमा आमहड्तालको पहिलो र दोस्रो दिन बाक्लो माओवादी ककार्यकर्ताको उपस्थिती बाक्लो रहे पनि तेस्रो दिनदेखि उपस्थिति शून्य देखिएको इटहरीबाट नागरिकन्युजकर्मी अमर खड्काले जनाएका छन्।
माओवादी पार्टी कार्यालय तोडफोड
पर्वतको कुश्मा बजारमा माओवादी कार्यकर्ता र कांग्रेसको तरुण दलबीच झडप भएको छ। दुई पक्षबीचको झडपले कुश्माबजार तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। माओवादीले तरुण दल कार्यकर्तालाई गए राति कुटपिट गरेपछि बिहीबार बिहान तरुण दलले प्रदर्शन गरेको थियो। प्रदर्शनमा उत्रिएका तरण दल कार्यकर्ताले माओवादीको पार्टी कार्यालय तोडफोड गरेका छन्। तरुण दलले गरेको विरोध प्रदर्शनमा स्थानीयबासीले समेत साथ दिएका छन्।
माओवादीका सेक्रेटरी कृष्ण विक नेतृत्वको समूहले तरुण दल कुश्माका अध्यक्ष विष्णु पोखरेललाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको नागरिकन्युजकर्मी दीलिप पौडेलले जनाएका छन्।
source:nagarik