गृहमन्त्रालयका अनुसार ललितपुर, नुवाकोट, धनकुटा, पर्सा, पर्वत, लमजुङ, स्याङ्जा, बाँके, हुम्ला लगायतका जिल्लाहरुबाट आमहडतालको विरोधमा प्रदर्शनहरु भएका छन्।
राजधानीका कैयौ स्थानमा बन्द आयोजक र प्रतिरोधकर्ताहरुबीच झडप भएको थियो।
झडपको क्रममा दुबै तर्फका केही घाइते भएको प्रहरीले बताएको छ।
बिहीबार बिहानैदेखि राजधानीको जोरपाटी, बुढानीलकण्ठ र धापासी क्षेत्रमा सर्वसाधारणहरु आमहडतालको विरोधमा उत्रिएका थिए।
स्थितिलाई नियन्त्रण बाहिर जान नदिन प्रहरीले सामान्य बल प्रयोग गरेको काठमाण्डूका एसपी रमेश खरेलले बताए।
गृह मन्त्रालयका अनुसार स्थिति नियन्त्रणमा लिन पर्वत, धनकुटा तथा हुम्ला जिल्लामा कर्फ्यू लगाइएको छ।
जारी
आमहडतालको क्रममा बिहीबारपनि प्रतिपक्षी माओवादी समर्थक कार्यकर्ताहरुले काठमाण्डूका प्रमुख केन्द्रहरुमा प्रदर्शन र धर्ना गरे।
सरकार विरुद्ध चर्का नाराहरु सहित जुलुसहरु ठाउँठाउँमा निकालिएका थिए।
ती जुलुसहरुमा नाचगान पनि गरिएका थिए।
जुलुसमा भाग लिने माओवादी कार्यकर्ताहरुले आफूहरु वर्तमान सरकार नढालेसम्म आन्दोलनबाट नफर्कने बताए।
“हामीलाई अब आन्दोलन सफलताको नजिकै पुगेको जस्तो लागेको छ। यो सरकार नढलेसम्म पछि हट्ने छैनौं,” एकजना माओवादी आन्दोलनकारी नीरज राउतले बीबीसीलाई बताए।
माओवादी नेता पम्फा भुषालले सत्ताधारी नेकपा एमालेभित्र आन्तरिक मतभेद चर्किएको हुँदा आन्दोलन छिट्टै सफल हुने बताइन्।
पीडा
सरकार र माओवादीको रस्साकस्सीका कारण आमहडताल लम्बिंदै गएपछि सर्वसाधारणको जीवन भने झन् झन् कष्टकर हुँदै गएको छ।
“हिंडडुल गर्न पाइएको छैन। महंगी बढेको छ। पसलेहरुले तरकारी, दाल जस्ता खानेकुराको भाउ अघिपछिभन्दा दोब्बर, तेब्बर बढाएका छन्,” एकजना विद्यार्थी रघु सुवेदीले बीबीसीलाई बताए।
दलहरुबीच चलेका वार्ताहरु लगातार विफल बनेपछि सर्वसाधारण अझै कष्ट बेहोर्न वाध्य हुनुपर्ने कुराले चिन्तित छन्।
source:bbc