मेघालय क्षेत्रबाट नेपाली भाषी विस्थापित :

सिलिगुडी(भारत), जेष्ठ ५ -  पूर्वोत्तर भारतको मेघालय र आसामको सीमामा पर्ने विवादित लांगपी गाउँका नेपालीभाषीहरु विस्थापित हुन थालेका छन् ।

खासी जातीय संगठनले उर्दी जारी गरेपछि नेपालीभाषि विस्थापित भएका हुन् । खासी समुदायको अर्को संगठन हानामले मंगलवार पत्रकार सम्मेलन गरेर १५ दिनभित्र देश छाड्न अल्टिमेटम दिएको मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीले जानकारी दिएका छन् ।
'अहिले त्यो क्षेत्र पुरै खाली भइसक्यो', जोशीले फोनमा भने । उनका अनुसार अनुसार लांगपीका साथै जुवाई इलाकाका नेपालीभाषी पनि विस्थापित भएका छन् । दुवै क्षेत्रमा करिव २ लाखको हाराहारीमा नेपालीभाषि वसोवास गर्छन् । जोशीका अनुसार स्थायी भन्दा अस्थायी नेपाली भाषिको संख्या अधिक रहेको छ । नेपालीभाषि रातिको समयमा आसामको बाटो  हुदै सुरक्षित स्थानतिर भाग्न थालेको बताइएको छ । अधिकांश कोइला खानीका मजदुर भएकाले नेपाल फिर्ने तरखरमा रहेको बताइएको छ ।
सोमवारको झडपमा मेघालयको वडापानी भन्ने स्थानका ७० वर्षीय धनपति वास्तोलालाई खासीहरुले जिउदै जलाएका थिए । घटनामा अन्य दुईको पनि मृत्यु भएको थियो । ती दुईको हालसम्म सनाखत हुन सकेको छैन । जोशीका अनुसार खासीले घर, गोठ जलाउने, कुटपिट गर्ने क्रम भने जारी राखेका छन् ।

source:kantipur