युनिटीका क्षेत्री दाजुभाइ को हुन्? :

काठमाडौं, जेठ ४ - झण्डै सात लाख सर्वसाधारण नागरिकबाट अर्बौ रुपैयाँ उठाउन सफल युनिटी लाइफ इन्टरनेशनलका प्रवन्ध निर्देशक विष्णु क्षेत्रीको विगतबारे आश्चर्यजनक तथ्य फेला परेको छ।
पर्वतको आर्थर डाँडाखर्क गाविस-३ घर भएका विष्णु साढे १२ वर्ष अघि नेपाल प्रहरीबाट विभागीय कारवाहीको क्रममा पाँच महिना जेल परेका व्यक्ति हुन्। प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा कार्यरत समयमा बिदा बसेका एक सहकर्मीको नक्कली हस्ताक्षर गरेर एकलाख ९४ हजार रुपैयाँ हिनामिना गरेका थिए।
लेखापरीक्षण हुँदा हिनामिनाको घटना पत्ता लागेपछि प्रहरीको कोर्ट मार्शलको क्रममा उनी २०५४ असोजदेखि ५ महिना जेल परे। जेलबाट छुटेपछि वैदेशिक रोजगारीको क्रममा दुबई पुगेर त्यहाँको सुरक्षा गार्ड पदमा काम गरेका थिए। उनले दुबईको एक बैंकबाट क्रेडिट कार्डबाट ७६ हजार दिराम ऋण लिएका थिए। यो ऋण नतिरेपछि अहिले पनि उनको घरमा ऋण तिर्न बैंकले पत्राचार गरिरहेको छ।
एउटी पत्‍नी हुँदाहुँदै विष्णुले गत वर्ष युनिटीमै काम गर्ने अर्की एक युवतीसँग विवाह समेत गरेका छन्।
युनिटीमै प्रशिक्षण निर्देशक रहेका कृष्ण क्षेत्री र विष्णु सहोदर दाजुभाइ हुन्। १० वर्षअघि पर्वतबाट चितवन बसाई सरेका उनीहरुको शैक्षिक योग्यता १० कक्षा उत्तीर्ण मात्र हो। स्थानीय बासिन्दाहरुका अनुसार, दुबैले पञ्चकोशी माध्यामिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेका छन्।
विष्णुले भने पृथ्वीनारायण क्याम्पसबाट आईए उत्तीर्ण गरेको प्रमाण पत्र देखाउने गरेका छन्।
गाउँमा सामाजिक काम धेरै गरेको बताए पनि अहिलेसम्म कुनै सहयोग नगरेको क्षेत्रीलाई नजिकबाट चिन्ने एक स्थानीयले जानकारी दिए। 'गत माघमा भएको आर्थर महोत्सवमा प्रमुख अतिथि बनाएर लगेपछि दुईलाख रुपैयाँ दिने घोषणा गरेका थिए, घोषणा अनुसार अहिलेसम्म दिएको सुनेको छैन,' उनले नागरिकसँग भने।विष्णुका दाजु कृष्ण भने नेपाली सेनाबाट जागिर छाडेका व्यक्ति हुन्।

source:nagarik