काठमाडौं, ४ जेठ ,गैरकानुनी व्यवसाय गरेको आरोपमा गृह प्रशासनले पक्राउ-पुर्जी जारी गरेपछि युनिटीका प्रमुख सञ्चालकहरू सम्पर्कविहीन भएका छन् । तर, चार वर्षसम्म उनीहरूलाई संरक्षण दिने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रतिपक्षी नेता र उच्चओहोदाका कर्मचारीमाथि कारबाही हुने कि नहुने ? प्रश्न उठेको छ ।
१५ फागुन २०६२ मा स्थापना भएको युनिटीले चार वर्षमा ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको थियो । बैंकिङ कारोबार गर्दा राष्ट्र बैंकमा र बिमा सेवा दिँदा बिमा समिति र उपचार सेवा दिँदा स्वास्थ्य विभागमा दर्ता हुनुपर्ने नियम भए पनि युनिटी यी कुनै पनि निकायमा दर्ता नभई चलिरहेको थियो ।
युनिटीले यति धेरै कारोबार गर्दा पनि कुनै पनि सरकारी निकायले कारबाही गरेनन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू त युनिटीका सञ्चालकलाई सम्मानित गर्ने, दोसल्ला ओढाउने र प्रमाणपत्र दिने प्रतिस्पर्धामै लागेका थिए ।
डा. रामवरण यादव राष्ट्रपति भएको केही दिनमै उनलाई सम्मान गर्न युनिटीको टिम शितलनिवास पुगेको थियो । आफूलाई सम्मान दिन आउने टिम कानुनी हो वा गैरकानुनी हो भनेर बुझ्ने चेष्टा राष्ट्रपति र उनका सल्लाहकारहरूले गरेनन् । 'नयाँ नेपाल बनाउन हामी राष्ट्रपतिसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छौँ,' युनिटीका तर्फबाट अध्यक्ष काशीराम (प्रसाद) गुरुङले घोषणा गरे । राष्ट्रपतिले सहमति जनाउँदै युनिटीको तर्फबाट प्रमाणपत्र लिए, खादा पनि स्वीकारे ।
राष्ट्रपतिलाई सम्मान गरेपछि युनिटी टिमले शितलनिवासमै चियापान कार्यक्रम पनि गरेको थियो । तर, चिया प्लाष्टिकको गिलासमा भएकाले आयोजकले राष्ट्रपतिलाई दिएका थिएनन् । तर, सम्मान र प्रमाणपत्र पाएर हषिर्त राष्ट्रपतिले 'मलाई चिया नदिने ?' भन्दै मागेरै खाएका थिए ।
प्रधानमन्त्री माधवकुमार नेपालले त 'देश र जनताका लागि सराहनीय काम गरेको' भनेर युनिटीका प्रबन्ध-निर्देशक विष्णु क्षेत्रीलाई फूलमाला लगाएर प्रमाणपत्र दिएका थिए । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भने प्रधानमन्त्रीले युनिटीको सम्मान नलिएको र नदिएको दाबी गरे । 'प्रधानमन्त्री माधवकुमार नेपालले युनिटीका सञ्चालकलाई सम्मान गर्नुभएको छैन, उनीहरूले दिएको सम्मान पनि ग्रहण पनि गर्नुभएको छैन ।' तर तस्बिरमा भने प्रधानमन्त्री र विष्णु क्षेत्री स्पष्ट देखिन्छन्, दुवैका गलामा माला र मुहारमा मुस्कान छ ।
प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि युनिटीको कामको सराहना गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना समेत दिएका थिए । युनिटीको वाषिर्क स्मारिका- २०६६ मा प्रकाशित शुभकामना सन्देशमा प्रचण्डले भनेका छन्, 'शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिकजस्ता जनताका प्रत्यक्ष सरोकार र सहभागितामा युनिटीले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको छ ।' उनले संविधान निर्माणमा समेत युनिटीबाट सहयोग हुने अपेक्षा व्यक्त गरेका छन् ।
यसैगरी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, वाणिज्यमन्त्री राजेन्द्र महतो, सञ्चारमन्त्री शंकर पोखरेल, वाणिज्य मन्त्रालयका सचिव पुरुषोत्तम ओझालगायतले पनि शुभकामना दिएर युनिटीको प्रशंसा गरेका छन् । त्यस्तै उपप्रधानमन्त्री कोइरालाले युनिटीका नयाँनयाँ कार्यक्रमले देशलाई फाइदा हुने भन्दै शुभकामना दिएकी छन् । 'सेवा विस्तार गर्ने क्रममा युनिटीले सुरु गरेको टुर एन्ड ट्राभल योजनाले जनतालाई अझ लाभ दिने आशा लिएकी छु,' उनको भनाइ छ । उनले संस्थाको सफलताको कामना गरेकी छन् ।
वाणिज्य मन्त्री राजेन्द्र महतोले पनि शुभकामनामा युनिटीको प्रशंसा गर्दै देशको प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गरी स्वदेशी र विदेशी बजारमा नेपाली वस्तुको पहुँच पुर्याउन युनिटीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । सञ्चारमन्त्री शंकर पोखरेलले पनि युनिटीले जनताका अत्यावश्यक वस्तु तथा सेवाहरूमा योगदान पुर्याएको भन्दै प्रशंसा गरेका छन् । पोखरेलले पनि युनिटीका अहिलेसम्मका कामलाई निरन्तरता दिन पनि युनिटीलाई आग्रहसमेत गरेका छन् । 'आगामी दिनमा पनि जनताको विश्वासलाई कायम राख्दै यसैप्रकारका कार्यक्रमहरूले निरन्तरता पाउनेछन् भन्ने विश्वास लिएको छु,' उनले भनेका छन् ।
नेता त नेता, नियम, कानुन र विधि बुझेका भनिने कर्मचारीले समेत युनिटीको अहिलेसम्मको कामलाई प्रशंसा गर्दै अझै बढी सफलताको कामना गरेका थिए । वाणिज्य मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले युनिटीले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको दाबीसमेत गरेका छन् । 'आगामी दिनहरूमा पनि यस संस्थाले आफ्नो कार्यक्षेत्रलाई अझ बढी सुदृढ तुल्याइ देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा थप टेवा पुर्याउनेछ भन्ने अपेक्षा गर्दै कम्पनीको सफलताको कामना गर्दछु,' उनले भनेका छन् ।
source:nayapatrika