काठमाडौं, वैशाख २१ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सत्ताका लागि आन्दोलन गरेको भन्नेहरु फटाहा भएका बताएका छन्।
हामीलाई शान्ति र संविधानको सुनिश्चितताबाहेक अरु केही चाहिएको छैन भन्दै उनले चेतावनी दिए- अरु दलले हाम्रो आन्दोलनबारे बेलैमा सोचून्। अझै पनि आफूहरु संवादबाटै वर्तमान समस्याको निकास चाहेको पनि उनले बताएका छन्। उनले भनेका छन्- उनीहरुले जनताको भावना बुझून्। नत्र यो जनसहभागिता हरेक दिन बढ्दै जानेछ।
माओवादीको चक्रपथ घेराउ कार्यक्रमअन्तर्गत आफ्नै निवास नयाँ बजारमा पुगेपछि उनले सञ्चारकर्मीलाई बताए- माओवादीलाई सत्ता चाहियो भन्ने भन्ने फटाहा हुन।
यसअघि सोमबार सुनधारामा आयोजित सभामा माओवादी नेता बाबुराम भट्टराईले कसैलाई भ्रममा नपर्न भन्दै माओवादी आन्दोलन सत्ता प्राप्तिकै लागि भएको दाबी गरेका थिए।
source:nagarik