भरतपुर, वैशाख २१ - माओबादीको आमहड्तालको बिरोधमा चितवनका किसानहरुले राजमार्गमा तरकारी फ्यांकेर बिरोधमा उत्रिएका छन् ।
पूर्वी चितवन स्थित भण्डारा र चैनपुर गाबिसका किसानले बन्द हड्तालले तरकारी बिक्री गर्न नपाएको भन्दै बिरोध सुरु गरेका हुन् । उनीहरुले सोमबारदेखि राजमार्गमा तरकारी फ्यांकेर बिरोध शुरु गरेको किसानहरुको भनाई छ । बन्दको बेला तरकारी बोक्ने गाडी निर्बाध चल्न दिने माओबादीले बताएपनि ठाउँठाउँमा रोकेपछि बिरोध सुरु गरिएको कृषक सुरेश पाण्डेले बताए ।
पुर्वपश्चिम राजमार्गमा हिजो दिउंसो किसानहरुले तरकारी फ्यांकेका थिए । भण्डाराको जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक संघ मार्फत किसानहरुले राजमार्गमा तरकारी फाले । उनीहरुले बन्द हड्ताल रोक्नुपर्ने, तरकारी लगायत कृषिजन्य उत्पादन बोकेका सवारीलाई रोक्न नपाईने माग गरेका छन् । बारीको तरकारी बजार पुर्याउन नसकेपछि नफ्यांकेर के गर्नु त ?, किसानहरुले भनेका छन् ।
यहाँको अत्यधिक तरकारी उत्पादन हुने पुर्बी क्षेत्रका गाबिसका किसानहरु काठमाण्डौ, नारायणगढ लगायतका बजारमा उत्पादित बस्तुहरु बिक्रीका लागि लान नपाउंदा आक्रोसित बनेका हुन् । उनीहरुले बन्दा, काउली, मुला, कांक्रो, बोडी, साग, भण्टा, भिण्डी, गोलभेंडा लगायतका तरकारी फालेका थिए । गाउँगाउँबाट ल्याएका करिब २ ट्रक तरकारी यहांका पर्सा र भण्डारा बजारका राजमार्ग सडकमा फालिएको थियो । हड्ताल नरोकिएसम्म बारीको सबै तरकारी फ्यांकिने किसानहरुले बताएका छन् ।
source:kantipur