समय आएपछि बोल्छुः पूर्वराजा :

पूर्वराजा ज्ञानेन्द्र शाहले समय आएपछि आफूले राजनीतिक कुरा गर्ने बताउनुभएको छ।


इमेज टेलिभिजनलाई मंगलबार दिनुभएको अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रले अहिले नै त्यसबारेमा बोल्ने बेला नभएको बताउनुभयो। उहाँले राजतन्त्र जानुमा आफूलाई गल्ती महसुस नभएको तर केही निराश र धोका पाएको महसुस भएको पनि बताउनुभयो।

उहाँले नारायणहिटी राजदरबारबाट लखेटिएको र फेरि नागार्जुन दरबारबाट पनि लखेट्ने कुरा भइरहेको भन्ने एक प्रश्नमा आफू नागरिक भएकाले आफूलाई पनि न्याय हुनुपर्ने बताउँदै कतिपयले अदालत जान सुझाव दिए पनि न्यायका लागि पछि अदालत जानुपर्ने अवस्थासमेत आउन सक्ने उल्लेख गर्नुभयो। राप्रपा नेपाललाई उहाँको र्समर्थन रहे/नरहेको भन्ने सम्बन्धमा राखिएको जिज्ञासामा त्यसरी बुझन नहुने बताउँदै राजनीतिमा आउने भए आफू धेरै अघि नै आउने तर त्यस्तो नभएको बताउनुभयो।

राजतन्त्रका बारेमा २०६३ वैशाख ११ गतेको घोषणापूर्व कुनै गोप्य सहमति भएको थियो कि भन्ने प्रसंगमा पूर्वराजाले तथाकथित सो सम्झौता पहिल्यै आइसकेको र धेरै नेपालीले बुझेको उल्लेख गर्नुभयो। उहाँले ८० प्रतिशतभन्दा बढी हिन्दूलाई बेवास्ता गर्दा उनीहरूको मन दुखेको हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले देशका विभिन्न भागमा भ्रमण अघि बढाएको सम्बन्धमा ‘एउटा र्सवसाधारण नेपाली जहाँ पनि जान पाउनुपर्छ’ भन्नुहुँदै कसैले दिवास्वप्न र धमिलो पानीमा माछा मार्न खोजेको भने पनि आफूले नागरिक अधिकार खोजेको बताउनुभयो।
जेठ १४ मा संविधान नबनेपछि २०४७ सालको संविधान ब्यूँतने चर्चा भइरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले केही पनि बताउन चाहनु भएन।

‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लाग्दा कस्तो महसुस भएको छ भन्ने जिज्ञासामा पूर्वराजाको जवाफ थियो- ‘गर्मी।’
उहाँले एउटा नागरिकका हैसियतले आफूले राज्यलाई कर तिरिरहेको, लोडसेडिङ बेहोरिरहेको बताउँदै दरबार हत्याकाण्डसम्बन्धी आफूलाई लगाइने आरोपबारे तत्कालीन सभामुखको अध्यक्षतामा गठित छानबिन आयोगले त्यसबारेमा बताइसकेको उल्लेख गर्नुभयो। उहाँले राजसंस्थाले लोकप्रियता खोजेको नभई एकता खोजेको पनि बताउनुभयो।

source:samacharpatra