भारतीय अर्धसैनिक बल एसएसबीको गोली प्रहारबाट मंगलबार राति एक नेपालीको मृत्यु भएको छ।
मंगलबार राति करिब ९ बजेतिर मोटरसाइकलमा नेपाल छिरेका एसएसबीका जवानले हानेको गोली लागेर मोरङ अमाहीबरियाती-७ का ५५ वर्षीय वासुदेव साहको मृत्यु भएको हो। बीआर ३८बी००३६ नम्बरको हिरोहोन्डा स्प्लेण्डर मोटरसाइकलमा दशगजादेखि उत्तर छिरेका दुई जवानले गोली हानेर उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल विराटनगरका प्रहरी नायब उपरीक्षक भोला गिरीका अनुसार दशगजाभन्दा करिब सय मिटर उत्तर छिरेर उनीहरूले गोली हानेका हुन्। गोली लागी घाइते भएका साहको कोसी अञ्चल अस्पताल विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।
उनीहरूले साहलाई किन गोली हाने भन्ने विषयमा खुल्न नसकेको प्रहरीले बताएको छ। घटनालगत्तै पुगेको प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। मोटरसाइकलाई स्थानीय खयरबना प्रहरी चौकीमा राखिएको छ। गोली हानेलगत्तै जवानहरू भारततर्फभागेर गएको प्रहरीको दाबी छ। घटना भएपछि ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएर राति अबेरसम्म नाराबाजी गरेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलवरपर जनपद र सशस्त्र प्रहरीको टोली खटाइएको छ।
मोरङका प्रहरी उपरीक्षक दीपक थापाले प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। उहाँले घटनाबारे थप विवरण प्राप्त नभएको जानकारी दिनुभयो।
source:samacharpatra