काठमाडौं, वैशाख २० - राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपालसँग अहिले जनता किन दुःख भोगिरहेका छन् भनि चासो व्यक्त गरेका छन्।
राष्ट्रपति-प्रधानमन्त्रीबीच आइतबार राती भएको नियमित भेटघाटमा यादवले त्यस्तो चासो व्यक्त गरेका छन्। 'अहिले जनताले संविधानको ड्राफ्ट पढ्ने बेला किन जनताले दुःख पाइरहेका छन्?' यादवले प्रधानमन्त्रीसँग सोधे।
नेपालले निकासका लागि सहमतिको प्रयास जारी रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए। 'संवादबाट निकास निकाल्ने प्रयासमा छु', प्रधानमन्त्री नेपालले बताएका थिए।
राष्ट्रपतिसँग प्रधानमन्त्री नेपालको यो नियमित भेटघाट थियो। सम्पन्न सार्क शिखर सम्मेलनका क्रममा भुटानमा विभिन्न राष्ट्र/सरकार प्रमुखहरुसँग भएका द्विपक्षीय र बहुपक्षीय कुराकानी र सोह्रौँ शिखर सम्मेलनका बारेमा राष्ट्रपति यादवलाई जानकारी गराइएको थियो।
वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको प्रधानमन्त्री प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन्। नेपालले मुलुकको शान्ति-सुरक्षाको अवस्था सन्तोषजनक रहेको चर्चा गर्दै माओवादीले सञ्चालन गरेको आन्दोलनलाई सरकारले धैर्य र संयमताका साथ हेरिरहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए।
लोकतान्त्रिक विधि, पद्दति, प्रक्रियाको सम्मान र सुदृढीकरणका लागि वर्तमान सरकार सक्रिय रहेको प्रधानमन्त्री नेपालले सहमति र सहकार्यका साथ अघि बढ्न दलहरुका बीचमा छलफल चलिरहेको बताएका थिए।
उचित निकास निकाल्ने विश्वास व्यक्त गरेका प्रधानमन्त्री नेपालले राजनीतिक सहमतिका लागि माओवादीले आमहडताल फिर्ता लिनुपर्नेमा जोड् दिएका थिए। यादवले दलहरु मिलेर अघि विश्वास व्यक्त गरेका थिए ।
source:nagarik