११ बोतल बियर र २ बट्टा चुरोट खाइसकेपछि २२ वर्षीय युवाले भने :
राजधानीको बसुन्धारामा बम कारखाना चलाएर कारमा विस्फोटसमेत गराएका विष्णु शाहले
रातारात पैसा कमाउन यस्तो धन्दा सुरु गरेको खुलासा गरेका छन् । २२ वर्षका युवा विष्णुले एकै घन्टामा ११ बोतल बियर र दुई बट्टा चुरोट पिएपछि प्रहरीलाई खतरनाक योजनाबारे बयान दिएका हुन् ।प्रहरी अनुसन्धानअनुसार तुलसीपुर- ५ दाङका शाह गरिबीका कारण पढाइ गर्न नसकेपछि काठमाडौं छिरेका हुन् । रोजगार खोज्दै जाँदा उनले बसुन्धारा डिपार्टमेन्ट स्टोरमा सेल्सम्यानको काम र माथिल्लो फ्ल्याटमा कोठा पनि पाएका थिए । त्यही कोठालाई उनले विस्फोट सामग्री बनाउने फ्याक्ट्री बनाएका थिए ।
एक-दुईवटा विस्फोट गराएपछि चर्चामा आउने र त्यसैको आडमा हत्या र अपहरणको धम्की दिएर पैसा कमाउने उनको योजना थियो । 'केही ठाउँमा क्षति पुर्याएपछि आतंक पैदा हुन्थ्यो, त्यसैको भरमा पैसा असुलेर छिट्टै धनी हुने योजना थियो,' उनले प्रहरीलाई भनेका छन् ।
बसुन्धारास्थित इशान बाल अस्पतालअगाडि मंगलबार बिहान कारबम विस्फोट भएपछि स्वतन्त्र नेपाल पार्टीले विस्फोटको जिम्मा लिएको थियो । तर, बुधबार राति प्रहरीले विष्णुलाई पक्राउ गरेको थियो । विष्णुले भने त्यस्तो पार्टीको नाम आफूले अहिलेसम्म नसुनेको र त्यसका कुनै पनि मान्छेसँग नभेटेको प्रहरीलाई बताएका छन् ।
'मैले पैसा कमाउने उद्देश्यले बम बनाएर पड्काएको हुँ,' विष्णुले प्रहरीलाई बयान दिएका छन्, 'कुनै पार्टीसँग पनि मेरो संलग्नता छैन ।' चार कक्षासम्म मात्रै पढेका शाहले बसुन्धारामा भएको विस्फोट आफ्नो उत्पादनको पहिलो 'परीक्षण' भएकोसमेत बताएका छन् ।
पक्राउ परेपछि उनले बम विस्फोटको जिम्मेवारी लिएका थिए । तर, उनले आफ्नो कोठा भन्दै अर्कै एउटा कोठामा लगेका थिए जहाँ केही पनि सामान थिएन । प्रहरी स्रोतका अनुसार प्रसस्त बियर र चुरोट खाएपछि भने उनले आफ्नै कोठामा लगेका थिए जहाँ विभिन्न विस्फोट सामान थिए ।
झन्डै १० वर्षअघि काठमाडौं आएका शाह केही वर्षअघिदेखि बसुन्धारा डिपार्टमेन्ट स्टोरमा काम गरिरहेका छन् । त्यहाँका सेल्समेन शाहले १३ वर्षकै उमेरमा बम बनाउन सिकेको बताएका छन् । उनले पहिलो परीक्षणमै ठूलो मानवीय क्षति गराउने उद्देश्यले बम विस्फोट गराएको प्रहरीलाई बताएका छन् । प्रहरी स्रोतका अनुसार उनी माओवादीमा समेत केही वर्ष लागेका थिए । कतिपय बम उनले माओवादीमा छँदा बनाउन सिकेका थिए । 'शान्तिप्रक्रिया सुरु भएपछि माओवादी छाडेको हुँ,' उनले प्रहरीसँग भनेका छन्, 'त्यहाँ छँदै सामान्य किसिमका बम बनाउन सिकेको हुँ ।' तर, उनी कुनैवेला माओवादीमा आबद्ध रहे-नरहेकोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
'पहिलो 'परीक्षण' सफल भए राजधानीका अन्य विभिन्न स्थानमा पुनः बम विस्फोट गराउने उद्देश्य थियो,' उनले प्रहरीलाई भनेका छन् । सोहीअनुसार उनले आफ्नो कोठालाई बम बनाउने 'फ्याक्ट्री'मा रूपान्तरण गरेका थिए ।
बसुन्धारा डिपार्टमेन्ट स्टोरको पहिलो तल्लामा उनको कोठा थियो । सोही कोठामा प्रहरीले शुक्रबार राति छापा मारेर ठूलो परिमाणमा विस्फोटक पदार्थ र विभिन्न किसिमका बम फेला पारेको थियो । प्रहरीले फेला पारेका रकेट लन्चर, चकलेटबम, क्यासेटबम, बाल्टिनबम तयारी अवस्थामा राखिएको थियो ।
तर ती विस्फोटकको क्षमता कमजोर नै भए पनि भीडभाडमा पड्किए खतरनाक हुने प्रहरीको भनाइ छ । 'ती सबै कमजोर क्षमताका होममेड बम थिए,' महाराजगञ्ज वृत्तका डिएसपी दीपक थापाले भने, 'तर, अति व्यस्त र संवेदनशील ठाउँमा विस्फोट गराएको भए ठूलो क्षति पुग्थ्यो ।'
डिएसपी थापाका अनुसार शाहले डिपार्टमेन्ट स्टोरमा काम गरेरै बम बनाउने सामग्री किन्न पैसा जुटाउने गर्थे । 'डिपार्टमेन्ट स्टोरमा धेरैपटक पैसा चोरेको रहेछ,' थापाले भने, 'स्टोरका सामान अन्य किराना पसलमा लगेरसमेत बेच्ने गरेको पाइएको छ ।'
लामो प्रयासमा धेरैथरी बम बनाएपछि उनले पहिलोपटक मंगलबार बिहान सकेट बम कारमा राखेर विस्फोट गराएका थिए । बम विस्फोट भएलगत्तै भागेका शाहलाई बुधबार राति प्रहरीले धादिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
विष्णुले एक्लैले यो सब गरेको दाबी गरे पनि प्रहरी स्रोतका अनुसार उनलाई कुनै ठूलो आपराधिक समूहले प्रयोग गरेको छ । 'तालिम दिनेमा बमसम्बन्धी अध्ययन गरेको व्यक्तिसमेत प्रयोग भएको पाइएको छ,' स्रोतले नयाँ पत्रिकासँग भन्यो, 'कतिपय सामान्य किसिमका बम ऊ आफैंले बनाउन सिकेको पाइएको छ ।'
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी रणबहादुर चन्दले समेत शाहलाई संगठित आपराधिक समूहले बम बनाउन सिकाएको पाइएको बताएका छन् । 'उसलाई कुनै ठूलै ग्रुपले बम बनाउन तालिम दिएको खुलेको छ,' चन्दले नयाँ पत्रिकासँग भने, 'त्यो ग्रुपको बारेमा अनुसन्धान भइरहेकाले धेरै कुरा आउन बाँकी छ ।' शाहको परिवारमा भाइ र आमाबाबु छन् । उनका भाइ दाङमै मःम पसल चलाएर बसेका छन् भने आमाबाबु खेती-किसानी गर्छन् ।
source:nayapatrika
source:nayapatrika