माओवादीको आक्रमणमा १० कंग्रेस कार्यकर्ता घाइते :

असार, १२- गोर्खाको आलेमा माओवादी आक्रमणबाट १० जना कंग्रेस कार्यकर्ता गम्भिर घाइते भएका छन्। घ्याम्पेसालबाट मोटरसाइकलमा गोर्खा बजार
फर्कनेक्रममा आलेमा लुकेर बसेका माओवादीले उनीहरुमाथि आक्रमण गरेका हुन्। घाइतेको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गोरख भण्डारीले बताए।
घ्याम्पेसालमा रहेको दुल्लभ उच्च मावि संचालक समिति गठनका विषयमा शुक्रबार माओवादी र स्थानीयवासीबीच विवाद भएकव थियो। स्थानीयले सर्वसम्मतबाट चयन गरेको संचालक समितिमा अधिकांश कंग्रेस निकटहरु परेको भन्दै माओवादीका स्थानीय कार्यकर्ताले वैठक अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीको सुरक्षा घेरामा संचालक समिति चयन भएको थियो।

शनिबार भेलमा सहभागी व्यक्तिहरु गोर्खा फर्कदै गर्दा आलेको भीरमा लुकेर बसेका माओवादीले उनीहरुमाथि ढुंगा र रड आक्रमण गरेका थिए। भेलमा सहभागी व्यक्तिमाथि माओवादीले आक्रमण गर्ने चेतावनी दिएकाले उनीहरु प्रहरीको सुरक्षा घेरामा फर्कदै थिए। डिएसपी भण्डारीका अनुसार जंगलमा लुकेर बसेका माओवादीले भीरबाट ढुंगा गुल्ट्याएर तथा अन्यले मोटरसाइकलमा सवार व्यक्तिलाई रड र घातक हतियारले आक्रमण गरेका थिए। आक्रमणबाट मनोज गुरुङ, टेक गुरुङ, ध्रुब गुरुङ, आशिष रावल, रोशन गुरुङ, सुन्दर गुरुङ, भक्त गुरुङ र मोदनाथ खनाल घाइते भएका छन्।

कंग्रेसका स्थानीय नेताहरुले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको निर्देशनमा वाइसीएल गोर्खाका प्रमुख अटल भनिने रमेश पोखरेलको नेतृत्वमा आक्रमण भएको दावी गरेका छन्। प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरुको बारेमा केही बताउन चाहेन।

source:nagarik