रहस्यमय बन्दै विश्वकप :

अघिल्लो विश्वकप विजेता इटाली र फाइनल पुगेको फ्रान्स दक्षिण अफ्रिकामा चलिरहेको विश्वकप–२०१० को पहिलो चरणबाटै बाहिरिएपछि यसपालि विश्वकप कसले जित्ने हो, रहस्यमय बन्न पुगेको छ।यसपालिको
विश्वकपमा ब्राजिल, अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे गरी ५ वटै दक्षिण अमेरिकी राष्ट्र दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन्। त्यस्तै, एसियाली महादेशबाट दक्षिण कोरिया र जापान गरी २ राष्ट्र, अमेरिका र मेक्सिको गरी उत्तर मध्य अमेरिकी र क्यारेबियन क्षेत्रबाट २ राष्ट्र र अफ्रिकी महादेशबाट घाना दोस्रो चरणमा समावेश भएको छ। युरोपबाट १४ मध्ये ६ राष्ट्र दोस्रो चरण प्रवेश गरेका छन्।

विश्वकपको प्रमुख दाबेदार मानिएको यी दुई राष्ट्रको छिटो बहिर्गमनले विश्वकपको दाबेदार मानिएका फुटबलका अन्य शक्ति राष्ट्रलाई समेत सोच्न बाध्य पारेको छ। तुलनात्मक रूपले आफूभन्दा कमजोर मानिएका मेक्सिको र आयोजक दक्षिण अफ्रिकालाई नतिजा सुम्पन पुग्दा सन् १९९८ को विश्व विजेता र गत विश्वकपको फाइनल पुगेको फ्रान्स समूह 'ए' को अन्तिम स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो। खेलाडी र प्रशिक्षकबीचको मनमुटावका कारण पुरै खेल अवधिभर विभाजित देखिएको फ्रान्स यसपालि उरुग्वेलाई पहिलो खेलमा गोलरहित बराबरीमा रोक्नेबाहेक कुनै पनि बेला बलियो देखिएन। यो समूहबाट २ पल्टको विश्व च्याम्पियन उरुग्वे र १५ औं पल्ट विश्वकप खेलिरहेको मेक्सिको दोस्रो चरणमा प्रवेश गर्न सफल भए। सन् २००१ मा मेक्सिको टोलीमा आबद्ध भएपछि प्रशिक्षक जाभियर अगुइरोको कार्यकालमा तेस्रोपल्ट यो देशले पहिलो चरण पार गरेको हो। तर, यो देश १९८६ यता क्वार्टरफाइनल प्रवेश गर्न सकेको छैन। मेक्सिको १९९४ को विश्वकपदेखि नै अन्तिम १६ मा स्थान बनाउँदै आइरहेको छ। आयोजक दक्षिण अफ्रिकालाई गोलअन्तरमा मात दिएर अन्तिम दोस्रो चरण प्रवेश गरेको मेक्सिको नकआउट चरणमा विश्वकपको बलियो दाबेदार मानिएको अर्जेन्टिनासँग भिड्दैछ। यी दुई देश गत विश्वकपमा पनि दोस्रो चरणमा भिडेका थिए, जसमा अर्जेन्टिना अतिरिक्त समयमा २–१ गोलले विजयी भएको थियो।
अहिले अर्जेन्टिना समूह 'बी' को ३ खेल नै जितेर उपाधि हत्याउने दाउमा छ। अर्जेन्टिना गत विश्वकपमा क्वार्टरफाइनल पुगेर आयोजक जर्मनीसँग पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित भएको थियो। अर्जेन्टिनाकै समूहमा रहेको एसियाली शक्ति राष्ट्र दक्षिण कोरिया पनि दोस्रो चरणमा प्रवेश गर्‍यो। सन् २००२ को विश्वकपमा सेमिफाइनल पुगेर तहल्का पिटेको यो राष्ट्र सातौं सहभागितामा पहिलो पल्ट विदेशी भूमिमा दोस्रो चरणमा प्रवेश गरेको हो। यो देश अन्तिम १६ मा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग भिड्नेछ, जुन देश गत विश्वकपमा छनोट हुन असफल भएको थियो। सन् २००२ को विश्वकपमा पहिलो चरणबाट माथि उठ्न नसकेको उरुग्वे सन् १९९० पछि दोस्रो चरण प्रवेश गरेको हो।
पछिल्लो दुई वटा विश्वकपमा क्वार्टरफाइनल पुगेपनि महŒवपूर्ण सफलता हात पार्न नसकेको इङल्यान्ड भने यसपालि लडखडाउँदै समूह 'सी' मा अमेरिकाभन्दा पछाडि रहँदै दोस्रो चरण प्रवेश गरेको छ। सन् १९६६ को विश्व च्याम्पियन इङलिस टोलीले दोस्रो चरणमा बलियो प्रतिस्पर्धी जर्मनी भेटेको छ। जर्मनी समूह 'डी' को विजेता हुँदै दोस्रो चरण उक्लिन सफल भयो। गत विश्वकपमा विश्व विजेता इटालीसँग निर्धारित ९० मिनेटपछि थप गरिएको समयमा २–० ले पराजित हुन पुगेपछि जर्मनी सेमिफाइनलबाट बाहिरिएको थियो। सन् २००२ को विश्वकपमा जर्मनी ५ पल्टको च्याम्पियन ब्राजिलसँग फाइनलमा २–० ले पराजित भएको थियो।
तीनपल्टको विश्व विजेता जर्मनीले सन् १९९० को विश्वकपको सेमिफाइनलमा इङल्यान्डलाई पेनाल्टी सुटआउटमा गोल गरेको थियो। सन् १९९६ को युरोकपमा पनि इङल्यान्ड पेनाल्टीमै जर्मनीबाट पराजित भएको थियो। त्यसैले दोस्रो चरणमा यी दुई देशबीचको खेललाई बढी महŒव दिइएको छ। जर्मनीसँगै यो विश्वकपमा एकमात्र अफ्रिकी राष्ट्रका रूपमा दोस्रो चरण प्रवेश गर्ने अवसर पाएको घाना समूह 'सी' मा इङल्यान्डलाई गोलअन्तरको आधारमा तल पारेको अमेरिकासँग भिड्नेछ। घाना गत विश्वकपमा पहिलो पल्ट छनोट हुने क्रममा दोस्रो चरण प्रवेश गरेको थियो। त्यतिबेला ब्राजिलसँग ३–० ले पराजित भएको थियो। अमेरिकाले सन् २००२ मा क्वार्टरफाइनलमा स्थान बनाएयता प्रभावशाली प्रदर्शन गर्न सकेको छैन। समूह 'इ' बाट प्रभावशाली प्रदर्शन गर्दै नेदरल्यान्ड र अर्को एसियाली राष्ट्र जापान छनोट हुन सफल भए। नेदरल्यान्ड्स समूह विजेताको हैसियतले अर्को युरोपेली राष्ट्र स्लोभाकियासँग भिड्नेछ। समूह चरणको तीनवटै खेल जितेको नेदरल्यान्ड्स विश्वकपको पछिल्लो संस्करणमा पनि अन्तिम १६ मा प्रवेश गरेको थियो। सन् १९७४ र ७८ को विश्वकपमा फाइनल पुगेर पनि पराजय भोगेको यो अभागी देश गत विश्वकपमा पोर्चुगलसँग १–० ले पराजित भयो। सन् १९९३ मा चेकोस्लोभाकियाबाट स्वतन्त्र भएपछि पहिलो पल्ट विश्वकप खेलिरहेको स्लोभाकियाले लिग चरणअन्तर्गत समूह 'एफ' को अन्तिम खेलमा विश्व च्याम्पियन इटालीलाई ३–२ गोलले पराजित गर्ने क्रममा ठूलो उलटफेर गरिसकेको छ। यो समूहमा अर्को दक्षिण अमेरिकी राष्ट्र पाराग्वे दोस्रो चरण प्रवेश गरेको छ। पाराग्वे एसियाको दोस्रो राष्ट्रका रूपमा यो विश्वकपको अन्तिम १६ मा समावेश भएको जापानसँग भिड्नेछ। पाराग्वे ७ पल्ट विश्वकप खेल्ने क्रममा चौथो पल्ट दोस्रो चरण्मा प्रवेश गरेको हो। यो देश गत विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको थियो। विश्वकपमा जापानको पनि प्रदर्शन खासै उपलब्धिमूलक छैन। सन् १९९८ देखि विश्वकप खेल्दै आइरहेको जापान त्यसको ४ वर्षपछि आफ्नै देशमा आयोजना भएको प्रतियोगितामा दोस्रो चरण प्रवेश गरेको थियो।

source:nagarik