घर जोडिएका पाँचै जनाले गणितमा ९९ ल्याएपछि टोलको नामै ९९ :

पाल्पा, असार २३- एउटै टोलका ५ जनाले अनिवार्य गणितमा ९९ अङ्कसहित विशिष्ट श्रेणीमा उत्तीर्ण भएपछि
उक्त टोलको नामै ९९ राखिने भएको छ। एकापसमा घर जोडिएका पाँचै जना यसरी पास भएपछि पूरै टोलमा खुसियालीसमेत छाएको छ।

दमकडा–६ बजार टोलका दीपा खराल, आस्था बञ्जाडे, सुमना सापकोटा, इन्द्रबहादुर थापा र दिपिका गैरे अनिवार्य गणितमा ९९ अङ्कसहित विशिष्ट श्रेणीमा उत्तीर्ण भएका हुन्। पाँचै जना स्थानीय रिभरभ्याली बोर्डिङ स्कुलका विद्यार्थी हुन्। प्रिन्सिपल मिनप्रसाद बञ्जाडेले आइतबार छिमेकी जम्मा भएर सामूहिक खुसियाली मनाएका बताए।

घर जोडिएका ५ जनाले गणितमा ९९ अङ्क ल्याएपछि टोलकै नाम फेरेर '९९ टोल' राख्ने तयारी भइरहेको बञ्जाडेले बताए। उनले निर्णय भइनसकेको तर नाम फेर्न सबै राजी भएको बताए। स्थानीय रवि खरालले विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेर टोलको नाम फेर्ने बताए।

विद्यालयका गाणित विषयका शिक्षक गुनबहादुर दर्लामीलाई टोलमा सम्मान गरिएको थियो । यो वर्ष १३ जनाले परीक्षा दिएकामा ६ जना विशिष्ट र ७ जना प्रथम श्रेणीमा उत्तीर्ण गरी रिभरभ्यालीले शतप्रतिशत नतिजा ल्याएको छ। यो सदरमुकाम बाहिरबाट उत्कृष्ट नतिजा ल्याउने विद्यालय कहलिएको छ।

२०६४ मा एसएलसीमा सहभागी भएयता शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सुरू वर्षमै यसै विद्यालयका सुमन श्रेष्ठले जिल्ला प्रथम गरेका थिए। गत वर्ष १० जनाले परीक्षा दिएकामा सबै विशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए।

source:nagarik