डाक्टर भक्तमानलाई अझै धम्की :

चितवन, साउन ५- दुई महिनाअघि अपहरणमा परेर १९ दिनपछि मुक्त भएका चितवनस्थित विपी कोइराला
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको जीवन अहिलेसम्म सहज भएको छैन। उनले आफू अझै असुरक्षित भएको बताएका छन्। अस्पतालकै कार्यकक्षमा नागरिकसँग मंगलबार दिउँसो उनले आफूलाई धम्की आइरहेको बताए तर खुलेर बोल्न सकेनन्।
उनी बिहान नारायणी सामुदायिक अस्पतालमा काम सकेर फर्किएका थिए।

‘प्रहरीले अनुसन्धान गरिरहेको छ, तर म पीडितै छु, अपहरणकारी सबै पक्राउ परिसकेका छैनन्, मलाई बारम्बार धम्की आइरहेकै छ,' उनले भने, ‘अपहरणमा ठूलो समूह थियो, यति नै जना थिए भन्न सक्दिनँ, जबसम्म ती सबै कानुनको दायरामा आउँदैनन्, म कम्फरटेबल (राम्रो) महसुस गर्न सक्दिनँ।' जेठ २२ गते अपहरणमुक्त भएयता उनलाई २४ घन्टै दुईजना प्रहरीले सुरक्षा दिइरहेका छन्।



अपहरणमा संलग्न तीनजना काठमाडौंमा पक्राउ परेपछि केही दिनअघि चितवन आएका श्रेष्ठले कामलाई निरन्तरता दिए पनि ‘मन लगाउन नसकेको' बताए। धेरै फोन उठाउँदिनँ, धेरैको सम्पर्कमा बस्दिनँ, धेरैसँग भेट्दिनँ,' उनले भने, ‘अपहरणको बेला मलाई धेरैले सहयोग गरे तर अहिले पनि सतर्क नै रहनुपरेको छ, दिनचर्या नै अप्ठ्यारो भएको छ।'



अपहरणको समय सम्झन पनि नसक्ने उनले बताए। ‘कसैले पिटेपछि कस्तो भनेर सोधेजस्तै हो यो, म त्यो क्षण सम्झन पनि चाहन्नँ, सामान्य हुने प्रयास गरिरहेको छु,' उनले मलीन स्वरमा भने। त्योबेला धेरैले सहयोग गरे पनि केहीले अपहरणलाई आफूअनुकूल उपयोग गरेको उनले बताए तर कसरी भन्ने स्पष्ट पारेनन्। ‘थाहा भएका कुरा मैले अनुसन्धानमा रहेका प्रहरी र सिडियोलाई भनेको छु,' उनले भने।



काममा फर्केपछि अस्पताल र बिरामीकै सेवामा तल्लीन रहेको उनले बताए। ‘व्यवस्थापन चुस्त पार्न लागिपरेको छु, नयाँ टिम बनाएको छु, खालि उपनिर्देशकको पद पूरा गरेको छु,' उनले भने, ‘बाल क्यान्सर उपचार सेवा सुरु गर्न एकजना चिकित्सकले काम थालेका छन्।'



अपहरणमा साढे तीन किलोभन्दा बढी सुन फिरौती तिरेको उनले स्वीकार गरे। ‘पैसा लिएका होइनन्, सुन लिएका हुन्, मिडियामै पनि आइसक्यो,' उनले भने, मलाई १९ दिनसम्म पार्टीको नाम भन्नू भनेर घोकाइएको थियो।' मुक्त भएपछि उनले आफूलाई नेपाल हिन्दू प्रजातान्त्रिक पार्टीले अपहरण गरेको बताएका थिए। उनले घोरिँदै भने, ‘एकजना नेपालीले त्यसरी सुन लिएको भए पनि सन्तोष हुन्थ्यो तर परदेशी कुख्यात गुण्डाहरूले लिए।' उनले कहाँ र कसरी सुन दिएको भन्ने खुलाएनन्।



अपहरणपछि काठमाडौंमा राखिएको थाहा पाउँदा आफूलाई अचम्म लागेको उनले बताए, ‘मलाई मकवानपुरको कुनै डाँडामा, हेटौंडा सेरोफेरो राखेजस्तो लागेको थियो।' उनलाई १९ दिनसम्म आँखामा पट्टी बाँधेर राखिएको थियो।



काठमाडौंमै राख्दा पनि थाहा नपाउनुले सुरक्षा संयन्त्रमै प्रश्न उठेको उनले बताए। ‘तर, ढिलै भए पनि प्रहरीको प्रयास राम्रो भयो, अहिले पनि छोटो समयमा अपराधी समाउनु चानचुने होइन,' उनले भने, पछिल्लोपटक न्याय क्षेत्र र प्रहरीको कदम सकारात्मक छ।' पहिलेका अपराधी छोड्ने न्यायाधीशमाथि भएको कारबाही जायज भएको उनले बताए, ‘तर अन्य नेपाली मजस्तै पीडित नहुन् भन्नेमा प्रशासन अझ चनाखो हुनु आवश्यक छ,' उनले भने।



पत्रकारहरूलाई आफ्नो अपहरणबारे सत्यतथ्य खोजेर बाहिर ल्याउन आग्रह गर्दै उनले त्यसका लागि सघाउन आफू तयार रहेको बताए। पहिले आफ्नोबारे गलत टिप्पणीहरू आएको भन्दै उनले आपत्ति पनि जनाए। ‘प्रहरी र पब्लिकलाई पनि अझै अस्पतालभित्रै केही छ जस्तो शंका लागिरहेको छ, यसको छानबिन पत्रकारहरूले नै गर्नुपर्छ,' उनले भने।



समातिएकालाई म्याद थप्दै अनुसन्धान :

डा.भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई दोस्रोपटक म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ।


अपहरण अभियोगमा पक्राउ परेका बद्री ढुंगाना, नवीन क्षेत्री र सुनिल श्रेष्ठमाथि असार ३१ गते दोस्रोपटक चितवन जिल्ला अदालतबाट म्याद थप गरिएको हो।


पक्राउ परेकै दिन असार २४ गते चितवन जिल्ला अदालतमा जाहेरी मुद्दामा परेका उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले सोही दिन सात दिन म्याद लिएको थियो। दोस्रोपटक आठ दिन म्याद थप गरिएका उनीहरूबाट संलग्न अन्यबारे जानकारी लिने काम भइरहेको चितवन प्रहरीले जनाएको छ।

source:nagarik