काठमाडौं, साउन ३ (नागरिक)- आफ्नो नेतृत्वमा सरकार गठनका लागि सम्वाद तीव्र पारेको माओवादीका
उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग छलफल गरेका छन्। ५ सिट भएको पार्टीका अध्यक्ष भेट्न माओवादी नेता कमल विनायक भक्तपुर पुगेका थिए।
छलफलपछि माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीको नेतृत्वको सरकार गठनका लागि समर्थन माग्न आएको बताए। ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठन हुने विश्वास उनको थियो। 'अन्तिम दिनसम्म आफ्नो नेतृत्वको सरकार गठनको प्रयास गर्छौं', छलफलबाट बाहिरिएका भट्टराईले भने- 'समर्थन नजुटे आफ्नो नजिकको पार्टीलाई समर्थन दिन्छौं।'
झलनाथ खनाललाई समर्थन गरेको हो ? भन्ने मिडियाकर्मीको प्रश्नमा उनले अहिलेसम्म त्यस्तो निर्णय गरिनसकेको प्रस्ट पारे। 'अहिले निर्णय भइसकेको छैन भोलि बिहानको पोलिटब्युरो बैठकले त्यस बारेमा निर्णय लिनेछ।'
मजदूर किसान पार्टीका अध्यक्ष विजुक्छेले शान्ति र संविधान निर्माणको लागि आफ्नो नेतृत्वमा सरकारलाई समर्थन गर्न माओवादीले नेताले आग्रह गरेको बताए। माओवादी नेतालाई विजुक्छेले तपाइँको नेतृत्वको सरकारको भावी रणनीति तथा कार्य योजना के छ भनी प्रश्न गरेका थिए।
'केही दिनभित्र कार्य योजना बनाएर पेश गर्ने भन्नुभएको छ', मिडियाकर्मीसँग विजुक्छेले भने। भेटका अवसरमा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने छैन भन्ने धारणा आफूले राखेको उनले बताए। 'देश र जनताको लागि केही गर्ने हो भने विपक्षमा रहेर पनि गर्न सकिन्छ भनेँ'- 'जसको नेतृत्वमा सरकार बने पनि विपक्षीले भने जसरी चलाउन सकिन्छ।
source:nagarik