काठमाडौं, असार २७- राजधानीमा कति रुपैयाँ किलोसम्मको चामल पाइएला? ८०, ९० वा एक सयसम्म। तर, यथार्थ बेग्लै छ। नेपाली बजारमा किलोको २ सय
रुपैयाँभन्दा बढि मूल्य पर्ने चामल पनि पाइन्छ।
भारतीय कम्पनीले उत्पादन गरेका लालकिल्ला, इण्डिया गेट र ५०७ गोल्ड इण्डियन ब्रियानी ब्राण्डका चामललाई प्रतिकिलो २ सयभन्दा बढी पर्छ। लालकिल्ला किलोको २ सय २०, इण्डिया गेटको १ सय ८७ र ५०७ गोल्ड ब्रियानीको १ सय १२ रुपैयाँ पर्छ।
'हाम्रोमा चामल किन्न आउने ग्राहकमध्ये धेरैले पार्टीका लागि यीनै चामल लैजाने गरेका छन्' विग मार्टका अपरेसन म्यानेजर राजकुमार बेराले भने। उनका अनुसार उच्च र उच्च मध्यम वर्गका ग्राहकले विवाह, व्रतबन्ध, जन्मदिनलगायत पार्टीका लागि यस्ता चामल किन्छन्। यी तीनवटै ब्राण्डका चामल वास्मती हुन्।
राजधानीमै यस्ता महँगो चामल किनेर बिहान बेलुका भात खानेहरु पनि छन्। थोक किराना पसलदेखि सुपरमार्केटसम्म विभिन्न ब्राण्डका यस्ता महँगा चामल बिक्री हुन्छन्। 'नियमितरुपमा यस्ता चामल किन्ने ग्राहक छन्' चौहान ट्रेडर्स न्यूरोडका बिक्रेता सत्यनारायण चौहानले भने।
राजधानीमा संचालित सुपर मार्केट, डिपार्टमेन्ट स्टोर र न्युरोड तथा महाबौद्धका किराना पसलहरुमा यस्ता चामल पाइन्छन्। महँगो ब्राण्डका चामल खोज्नेहरु यीनै पसलहरुमा आउने गरेका छन्। 'हामीले यस्तो चामल बिक्री गर्दैनौं' गणेश खाद्य स्टोर वल्खुका संचालक मालचन्द्र सर्माले भने-'सुपर मार्केट र न्युरोडतिर बिक्री हुन्छ।'
उच्च घरानियाँहरु यस्तो चामल खोज्न आउने गरेको मेची किराना भण्डार न्युरोडका संचालक विष्णु अग्रवाल बताउँछन्। 'गुणस्तरिय र महँगो भएकाले उच्च वर्गकै उपभोक्ता यस्तो चामल किन्न आउँछन्' अग्रवालले भने-'उनीहरु पार्टीका बेलामा धेरै किन्छन्।' महँगो भएकाले यस्ता चामल सानो प्याकमा आउँछन्। बजारमा एक, दुइ, तीन, पाँच र दश केजीका प्याकेटमा महँगो चामल किन्न पाइन्छ।
बजारमा पाइने सबैभन्दा महँगो चामल लालकिल्लाको उत्पादक भारतको अमरसिंह चावलवाला कम्पनीले अमेरिका र युरोपका धेरै मुलुकमा समेत निर्यात गर्छ। उसले आफ्नो वेवसाइटमा संसारकै गुणस्तरिय चामलका रुपमा लालकिल्लालाई प्रस्तुत गरेको छ।
नेपाली वास्मतीको मूल्य बढिमा किलोको ९८ रुपैयाँ पर्छ। ज्ञान ब्राण्डको नेपाली वास्मती केजीको ९८ छ। अरु चलेका वास्मती चामलका ब्राण्ड हुलास, मख्खनलगायत केजीको ९० रुपैयाँभन्दा कम छ। धानको राजाका रुपमा चिनिने वास्मती चामलका सबै ब्राण्ड महँगा भए पनि गुणस्तर अनुसार वास्ना आउने नआउने हुन्छ। राम्रो वासना भएको र लामो दाना हुने वास्मती चामलको मूल्य महँगो हुने बिक्रेता बताउँछन्।
बजारमा ओरेन्ज, झलक, सुन्तला, रजनीगंधा, आरती, कुकलगायत भारतिय ब्राण्डका र हुलास, मख्ख, ज्ञान, नेचरफ्रेस, पर्ललगायत नेपाली ब्राण्डका वास्मती चामल उपलब्ध छन्। अधिकांस ब्राण्डका वास्मती चामल २० केजीको बोरामा बढि बिक्छन्। चलेका ब्राण्डहरुले भने ५, १० केजीका प्याकमा पनि वास्मती चामल बेच्ने गरेका छन्।
सबैभन्दा बढि बिक्ने सोना मन्सुली
उच्च र उच्च मध्यम वर्गले वास्मती चामल खोजे पनि सबैभन्दा बढि बिक्ने चामल सोना मन्सुली हो। बिक्रेताहरुका अनुसार सबै वर्गका लागि सुहाउदो मूल्य भएकाले यो चामलका क्रेता धेरै छन्। 'विद्यार्थी र सामान्य उपभोक्ताले बढि सोना मन्सुली किन्छन्' महेश्वरी स्टोर वल्खुका सुवोध क्षेत्रीले भने। बजारमा सोना मन्सुलीको भाउ ३० केजी बोराको १ हजार ३ सय हाराहारीमा छ।
सोना मन्सुली पछि बढि बिक्री हुने चामल जिरा मसिनो हो। स्वयम्भु र बनेपा ब्राण्डमा पाइने जिरा मसिनोको प्रतिकिलो करिव ७० रुपैयाँ पर्छ भने। यो चामल मध्यम वर्गले मन पराउने बिक्रेताहरुको अनुभव छ। तराइको जिरा मसिनो चामलको मूल्य भने २० केजी बोराको १ हजार ५० देखि १ हजार १ सयसम्म छ। सबै चामलको मूल्य ब्राण्ड अनुसार फरक फरक हुने बिक्रेता बताउँछन्।
source:nagarik