म्याराडोना भन्छन्- मलाई धोका दिइयो :

ब्युनर्स आयर्स, साउन १४ (एजेन्सी)- डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटबल
संघका अध्यक्ष जुलियो ग्रोन्डोना र कार्लोस विलार्डोले आफूलाई धोका दिएको आरोप लगाएका छन्।


दक्षिण अफ्रिकामा जर्मनीसँग लज्जाजनक पराजय बेहोरेर क्वार्टरफाइनलबाटै घर फर्केको अर्जेन्टिनी प्रशिक्षक म्याराडोनाले ग्रोन्डोनालाई भेटेर आफ्नो भविष्य र सम्भावित सम्झौता नवीकरणबारे छलफल गरेका थिए। छलफलमा ग्रोन्डोनाले उनलाई प्रशिक्षकको रूपमा निरन्तर राख्न चाहेको तर त्यसका लागि उनले आफ्नो प्रशिक्षण टोलीका केही सदस्यलाई छोडनुपर्ने सर्त राखेका थिए। यो सर्तबारे कुरा गर्न म्याराडोना आफै पनि तयार थिएनन्।

विश्वकप विजेता म्याराडोनाले आफू कहिल्यै पनि यस्तो सर्त नस्वीकार्ने थाहा भएर बर्खास्त गर्न सजिलो होस् भनेर ग्रोन्डोनाले यसरी प्रस्तुत भएको दाबी गरे।

पत्रकारसामु विज्ञप्ति वाचन गर्ने क्रममा म्याराडोनाले भने, 'ग्रोन्डोनाले मसँग झुटो बोले, विलार्डोले मलाई धोका दिए। विश्वकपबाट बाहिरिएको पीडाबाट मुक्त हुने क्रममा हामी सबै टोली छोड्न तयार थियौं। किनकि हामीलाई पराजयको जिम्मेवारी लिनुपर्छ र भविष्यमा पनि हामीले धेरै गर्न सक्छौं भन्ने थाहा थियो। जर्मनीसँग पराजित भएपछि ग्रोन्डोनाले ड्रेसिङ रुममा मसँग उनी मेरो कामबाट धेरै खुसी भएको र मलाई नै निरन्तरता दिन इच्छुक रहेको बताएका थिए। उनले त्यसो भन्दाका साक्षी खेलाडी छन्। तर जब हामी अर्जेन्टिना फर्कियौं, समय बिस्तारै कालो हुँदै गयो।'

'सोमबार मैले ग्रोन्डोनालाई भेटें। भेटको पाँच मिनेटमा उनले मेरो निरन्तरता हेर्न चाहेको बताए, तर त्यसका लागि मेरो प्रशिक्षण टोलीका सात कर्मचारीलाई बर्खास्त गर्ने बताए। त्यसो भन्नुको मतलब उनले मलाई नचाहेको प्रस्ट हुन्छ। आफ्ना सहायकबिना मैले निरन्तरता दिनु असम्भव छ भन्ने उनलाई थाहा थियो। स्वाभाविक रूपमा मलाई काम गराउन चाहने हो भने सबै सहायक पनि हुनुपर्छ भन्ने अडान मैले लिएँ,' २००८ को अक्टोबरमा अर्जेन्टिनी प्रशिक्षक नियुक्त भएका भावुक म्याराडोनाले अगाडि भने।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका ४९ वर्षीय म्याराडोनाले २०१४ को विश्वकपका लागि टोलीसँग चार वर्ष काम गर्न चाहेका थिए। 'हामीले दक्षिण अफ्रिकाका लागि छनोट आधा भइसक्दा धेरै समस्याबीच टोली सम्हालेका थियौं। अर्जेन्टिनी टोली सम्हाल्नुको चुनौती हामीलाई त्यतिखेर पनि थाहा थियो। हामीले यसबीचमा राम्रो नै गरेका छौं जस्तो लाग्छ। १९९० पछि कहिल्यै अर्जेन्टिना क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन, यसबीचमा धेरै प्रशिक्षक र प्रशिक्षण कर्मचारीले काम गरेका छन्, तर कसैले पनि यो भन्दा राम्रो सफलता पाउन सकेका छैनन्।'


१९९८ का सहायक प्रशिक्षक इस्टुडिएन्टसका वर्तमान प्रशिक्षक अलेसान्द्रो सावेला र रेसिङ क्लबका प्रशिक्षक मिगुइल एन्जेल रुसो म्याराडोनाका सम्भावित विकल्पमा देखिएका छन्। 'जसले भोलि टोली सम्हाले पनि यो जान्नु जरुरी छ कि केही व्यक्ति अर्जेन्टिनी फुटबललाई माया गर्दैनन्। उनीहरू खाली आफ्नो व्यवसाय र बैंक खाताको मात्र विचार गर्छन्,' म्याराडोनाले आक्रोश पोखे, 'सबैलाई थाहा छ, मैले अर्जेन्टिनी जर्सीका लागि आफूले सक्ने जति सबथोक गरे। अर्जेन्टिनी फुटबल यो भन्दा धेरै राम्रो स्थानको हकदार छ। मेरो विचारमा खेलाडीले अझै पनि अर्जेन्टिनाको जर्सी लगाउन पाउँदा गौरव महसुस गर्छन्। मैले सधैं त्यही गरें।'


राष्ट्रपति दुःखी
म्याराडोनालाई प्रशिक्षकबाट हटाउने राष्ट्रिय फुटबल संघको निर्णयले अर्जेन्टिनी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज किचर्नरलाई दुःखित तुल्याएको छ। यसअघि राष्ट्रपतिले म्याराडोनाप्रति समर्थन जनाउँदै उनलाई प्रशिक्षकको रूपमा रहिरहन अनुरोध गरेकी थिइन्।
'उनको प्रस्थानले म दुःखी छु, मलाई लाग्छ म्याराडोनाले राष्ट्रिय टोलीलाई राम्ररी सम्हालिरहेका थिए,' क्रिस्टिनाले भनिन्, 'म्याराडोनाले हृदयदेखि नै आफ्ना राष्ट्रलाई हेरिरहेका थिए।' बर्खास्त गरिएपछि म्याराडोनासँग राष्ट्रपति आफैले फोनमा कुराकानी गरेको बताइएको छ।

source:nagarik