पूर्वराजाका ज्वाईँ सिंह माओवादी अध्यक्षलाई सघाउँदै :

नयाँदिल्ली, श्रावण १४ - पूर्वराजा ज्ञानेन्द्र शाहका छोरीज्वाईँ राजबहादुर सिंहले प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहालका पक्षमा बहुमत पुर्‍याउन सभासद् खरिद गरेर
भएपनि सघाउने कार्यमा लागेको भारतीय अखवार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । त्यति मात्र होइन, उक्त अखवारले सिंहको उक्त कार्यले भारतलाई चिन्तित् तुल्याएकोसमेत जनाएको छ ।
माओवादी अध्यक्ष दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलबीच प्रधानमन्त्रीको लागि तेस्रो चरणको निर्वाचन सोमबार हुनुअघि भारतको संस्थापना पक्षधर मानिएको अखवारले यस्तो समाचार सम्प्रेसण गरेको हो । सिंहले माओवादीलाई सघाउन साना दलका सभासद्हरुलाई किन्न खोजेको आरोप लगाइएको छ ।
सिंहले व्यक्तिगत पहलमा वा ससुराको सहयोगमा यो सब गरिररहेको भन्ने स्पष्ट हुन नसकेको अखवारले उल्लेख गरेको छ । माओवादी अध्यक्ष दाहालका पक्षमा बहुमत पर्‍याउन उनले १० देखि १५ सभासद्को समर्थन लिने प्रयास गरिरहेको समाचारमा छ ।
स्रोतका अनुसार, स्वतन्त्र रुपले भारत भ्रमण गर्दै आइरहेका ज्ञानेन्द्रको सरकारसँग कुनै खालको सम्पर्क छैन । उसको भारतको विपक्षी दल भारतीय जनता पार्टीसँग भने सानिध्यता रहँदै आएको छ । नेपालमा राजतन्त्रको पुनर्स्थापनाको कुनै संभावना बाँकी नरहेकाले के पाउने आशमा दरबारले माओवादीलाई सघाइरहेको छ भन्ने स्पष्ट हुन सकेको छैन ।
नेपाली राजनीतिका सबभन्दा ठूला खेलाडीको रुपमा देखा परेका माओवादीलाई सघाएर भारतीय राजपरिवार झै उनीहरुले पनि मुलुकमा राजनीतिक महत्व खोजी गरिरहेको हुनसक्ने समाचारमा जनाइएको  छ । भारतसँग सहज सम्बन्ध नभएको माओवादीले उनीहरु मार्फत केही खोजिरहेको हुनसक्ने समाचारमा जनाइएको छ । अहिलेसम्मको स्थिति हेर्दा भारतले भने शाही परिवारको यो प्रयासलाई स्वागत गर्ने अवस्था नरहेको समाचारमा जनाइएको छ ।

source:kantipur