काठमाडौं, साउन २४-माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामको नेतृत्वमा चिनिया व्यापारी लुटेको
अभियोगमा पक्राउ परेका ५ जना अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले कारागार पठाएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पूर्पक्षका लागी कारागार पठाएको हो।
माओवादी केन्द्रीय सदस्य कालीबहादुर खाम भने अझै पक्राउ परेका छैनन्। उनी आफू राजनीतिक संरक्षणमा रहेको खुलेआम बताउँदै आएका छन्।
अदालतले खामलाई ७ दिनभित्र पक्राउ गरी अदालतमा उपस्थित गराउन वारेन्ट जारी गरेको छ।
सोमबार जिल्ला अदालत काठमाडौंले कारागार पठाएका खामका मतियारहरुमा रुकुम ज्याङ- ६ का गणेश मल्ल, पाल्पा मस्याङ्ग-५ का लालबहादुर राना, तनहँ नरभन्ज्याङ्ग- ६ का मिलन सेन ठकुरी, दाङ्ग घोराई-४ का मधुसुदन शर्मा र नुवाकोट लिखु-६ का अशोक खाती छन्।
साउन २५ गते गोंगबु मित्रनगरमा रहेको नवमित्र गेष्ट हाउसमा तीन जना चिनिया व्यापारी लुटिएको अभियोगमा प्रहरीले २७ गते उनीहरुलाई पक्राउ गरेको थियो। चाईनिज व्यापारीहरु माखुम दुख, ममानी र ममालीलाई यार्सागुम्बा वेच्ने बहानामा उनीहरुको साथमा रहेको २६ लाख २० हजार रुपैंया लुटेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरेको थियो।
लुटिएको पैसा र लुटेराको खोजीमा खटेको प्रहरीले खामको कोठामा छापा मारेर सात किलो आठ सय ग्राम यार्चागुम्बा,पाँच लाख नगद र सरकारी नक्कली छापा बरामद गरेको थियो। घटनाका मुख्य अभियुक्त खाम फरार छन्।
source:nagarik