बन्दीपुरमा १ रुपैयाँमै कोठा :

दमौली, साउन २४- नेपाल पर्यटन वर्ष २०११ लाई लक्षित गरी पर्यटनलाई आकर्षण गर्न बन्दीपुरमा एक रूपैयाँमै कोठा
बुकिङ गर्ने व्यवस्था पर्यटन व्यवसायीले मिलाएका छन्। बन्दीपुरमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले यो नयाँ अवधारणा ल्याइएको बन्दीपुर पर्यटन सूचना केन्द्रका प्रमुख काशीनाथ भट्टराईले बताए।

तर यसरी एक रूपैयाँमै कोठा बुकिङ गर्नेले खानाको प्याकेज अनिवार्य लिनुपर्ने हुन्छ। खानाको प्याकेजमा होटलको स्तर हेरेर न्युनतम् ५०० देखि बढीमा हजार रुपैयाँसम्म बुझाउनुपर्ने हुन्छ।

काठमाडौँ, पोखरा, चितवन, दमौलीलगायतका ठाउँबाट पर्यटकले सिधै टेलिफोन गरी कोठा बुकिङ गर्नसक्ने व्यवस्था मिलाइएको छ।

बन्दीपुर सामाजिक विकास समितिको आयोजनामा आगामी असोज ७, ८, र ९ गते काठमाडौँ गन्तव्य बन्दीपुर महोत्सव काठमाडौँको टुँडिखेलमा हुने र सोही अवस्थामा रु. एकको कोठा बुकिङलगायतको प्याकेज कार्यक्रम सार्वजनिक गरिने यहाँका पर्यटक व्यवसायीले बताएका छन्।

source:nagarik