चितवन, साउन ३१- दक्षिण चितवनको माडी बाह्रघरेमा एक व्यक्तिको चुरोटको निहुँमा
कुटपिट हुँदा मृत्यु भएको छ। स्थानीय एक व्यक्तिको कुटपिटबाट अयोध्यापुरी-६ बाह्रघरेका ५२ वर्षीया कोइले भनिने सन्तबहादुर प्रजाको सोमबार बिहान हत्या भएको स्थानीय शिक्षक भैरव अधिकारीले जनाएका छन्।
उनका अनुसार राति कुटपिटपछि हत्या गरी खेतमा फालेको अवस्थामा प्रजाको शव फेला परेको हो। आइतबार साँझ भोजमा भेला भएका र अत्याधिक मदिरा सेवन गरेको प्रत्यक्षदर्शी राजन कँडेलले बताएका छन्। उनीहरुबीच विवाद हुँदा कँडेलले त्यसलाई साम्य गर्ने प्रयास गरेका थिए। तर पछि पुन: झडप भएको थियो। यहाँ प्रजाको २ दर्जन परिवार बसोबास गर्दै आएका छन्।
घटनास्थल भरतपुरबाट झण्डै ६० किलोमिटर टाढा पर्दछ। स्थानीय सोनबहादुर प्रजाले मदिरा सेवन गरी चुरोट नदिएको निहुँमा कुटपिट गर्दा उनको मृत्यु भएको हो। उनलाई अहिले नियन्त्रणमा लिएर कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले भने घटनाको कारण नखुलेको जनाएको छ।
चुरोट नदिएको विषयमा विवाद हुँदा सोनबहादुर प्रजाले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 'मदिराले मत्त भएपछि सोनबहादुरले चुरोट माग्दा सन्तबहादुरले छैन भनेको र त्यसपछि विवाद भएकोचाहिँ हो, स्थानीय शिक्षक भैरव अधिकारीले घटनाबारे भने- हत्या कसले गरेको भन्नेचाहिँ एकिन भन्न सकिँदैन ।' यता चितवन प्रहरीले भने सोनबहादुरकै कुटपिटबाट सन्तबहादुरको मृत्यु भएको बताएको छ।
यसैबीच चितवनको भरतपुर ५ स्थित चौबीस कोठीमा सोमबार एक युवाको प्रतीक्षालयमा मृत्यु भएको छ।
२० वर्षका सुदीप नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अहिले भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ। उनी सवारीका सहचालक हुन्।
यसैबीच चितवनको दारेचोकमा सोमबार बिहान एक पुरुषको गाडीको ठक्करबाट मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन भने सवारी साधनको पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
source:nagarik