एमाले मुख्यालयमा आत्महत्या गर्ने कार्यकर्ताका छोरा पनि झुण्डिएर मरे :

झापा, साउन ३१- गत वैशाखमा एमाले केन्द्रीय कार्यालय परिसरमा रुखमा पासो लगाएर आत्महत्या गरेका
झापाका पुराना कम्युनिस्ट नेता दिगेन्द्र राजवंशीका छोरा शम्भु राजवंशीले पनि आत्महत्या गरेका छन्। उनले चारआली चोकबाट एक किलोमिटर दक्षिण-पूर्वको हडिया खोलाको किनारमा रहेको घर नजिकै झुण्डिएर आत्महत्या गरेका हुन्।
२०२८/०२९ सालको झापा किसान विद्रोहका एकजना योद्धा थिए डिगेन्द्र राजवंशी। आफ्नो पार्टी सरकारमा भएको बेला छोरालाई जागिरमा लगाउन काठमाडौं हिँडेका थिए, डिगेन्द्र राजवंशी। आर्थिक अवस्था कतिसम्म नाजुक भने, हातमुख जोर्नै मुस्किल थियो।

पार्टी कार्यालयमा धाएर नेतालाई आग्रह गर्दा पनि उनले छोराको जागिर पक्का गर्न भने सकेनन्। ६२ वर्षीय राजवंशीका पत्नी, दुई छोरा ऋषि र शम्भू र एक छोरी भारती चारआली चोकबाट एक किलोमिटर दक्षिण-पूर्वको हडिया खोलाको किनारमा कष्टपूर्वक बस्दै आएका छन्।

केपी शर्मा ओली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी, सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरुका समकक्षी डिगेन्द्र झापा किसान विद्रोहताका गरामनीको कोल्हाटोलीबाट गिरफ्तार भएपछि १० वर्ष लगातार जेल बसेका थिए। चन्द्रगढी, वीरगन्ज हुँदै नख्खु जेल पुगेका उनी २०३६ माघ ३० गते सर्वोच्च अदालतको आदेशपछि मुक्त भएका थिए।

२०२९ साल माघ ९ मा पार्टी सदस्यता लिएका उनी आजीवन नेकपा एमालेको सक्रिय रहे। २०४६ र २०६२/६३ सालको जनआन्दोलनमा समेत सक्रिय उनलाई २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो।

सधैभरी सुकुम्बासी जीवन बिताउन बाध्य डिगेन्द्र गत फागुन ४ गते कान्छो छोरा शम्भूसहित काठमाडौ गएका थिए। काठमाडौं जाँदा रु. २ हजार बाटो खर्च दिएर पठाएको पार्टीका जिल्ला अध्यक्ष रविन कोइराला बताउँछन्। प्रमिलाका अनुसार डिगेन्द्रको इच्छा कान्छा छोरालाई जागिरमा लगाउने थियो।

जिल्ला कमिटीले 'जागिर लगाइदिनू' भनी सिफारिस पत्र समेत दिएको कोइरालाले बताए। 'उनी आँटिला विद्रोही थिए,' उनले भने।
पारिवारिक सोतका अनुसार कान्छा छोरा शम्भू २०६० सालतिर भूमिगत भई लोकतन्त्र बहालीपछि घर फर्किएका थिए। शम्भूलाई जागिरमा लाग्न बाबुले कर गरिरहन्थे। एसएलसी उत्तीर्ण शम्भूलाई सशस्त्र प्रहरी वा अन्य कुनै सरकारी जागिरमा लगाइदिने आश्वासन पार्टीले दिएको थियो।

source:nagarik