भट्टराईले शरणलाई भेटेकामा विवाद :

काठमाडौ, श्रावण २४ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेषदूत श्याम शरणलाई छुट्टै भेटेपछि पार्टीमा
विवाद उत्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी समिति सदस्य वर्षमान पुनले शरणलाई भेटेकोबारे भट्टराईले स्पष्टीकरण दिनुपर्ने माग गरेपछि विवाद भएको हो ।
माओवादी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम शरणले बिहीबार बिहान अध्यक्ष, तीनै जना उपाध्यक्ष, महासचिव र विदेश विभाग प्रमुखलाई संयुक्त रूपमा भेटेका थिए भने अपराह्न राजधानीको बत्तीसपुतली स्थित होटल द्वारिकाजमा उपाध्यक्ष भट्टराईलाई २ घन्टा छुट्टै भेटेका थिए । फर्किनुअघि शुक्रबार उनले अध्यक्ष दाहाललाई पनि त्यही होटलमा छुट्टै भेटेका थिए । माओवादी स्रोतअनुसार दुवै नेताले सल्लाहमै छुट्टाछुट्टै भेटे पनि दाहालनिकट नेताहरूले भट्टराईको भेटप्रति आशंका गरेका हुन् ।
नेता पुनले शनिबार बीबीसी नेपाली सेवासँगको वार्तामा भट्टराईले शरणलाई एक्लै भेट्नु 'गल्ती' भन्दै स्पष्टीकरण माग गरेका हुन् । 'अलग्गै भेट्नु भएको छ । त्यो गल्ती हो । पार्टीभित्र स्पष्टीकरण दिनुपर्ने हुन्छ,' उनले आपत्ति जनाउँदै भने, 'उहाँले अलग्गै भेट्नुपर्ने के रह्यो ?'
उनले भट्टराईलाई पार्टीभित्र भारतको नजिक भएको भनेर प्रश्न उठेको पनि आरोप लगाए । 'बाबुरामजीले छुट्टै भेट्नु भो, त्यो गल्ती हो । पार्टीका अध्यक्ष र उपाध्यक्षले समूहमा भेटेपछि एक्लै भेट्न जानुपर्ने त्यस्तो के पर्‍यो ?' पुनको भनाइ छ, 'जब कि पार्टीभित्र उहाँलाई भारतसँग नजिक भनेर प्रश्न उठेको छ ।'
 करिब डेढ वर्षपहिले अध्यक्ष दाहालले ललितपुरको एक कार्यक्रममा भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको बताएपछि पनि पार्टीमा चर्को विवाद भएको थियो । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया चलिरहेका बेला दाहालनिकट नेताले भट्टराईलाई भारतनजिक भएको आरोप लगाएका हुन् ।
भारतले पार्टीभित्र खेल्न चाहेको र आफ्नै नेताहरूले पनि त्यस्तै गरेको पुनको बुझाइ छ । 'माओवादीभित्र भारत खेलेको देखियो । हाम्रैभित्रका नेताहरू कोही पनि खेल्न चाहेका छन्,' उनले भने, 'त्यसले राम्रो गर्दैन, हामी पार्टीभित्र छलफल गर्छौं ।'
तर भट्टराई पक्षका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले अध्यक्ष र उपाध्यक्षले कुनै देशको कूटनीतिज्ञलाई बेग्लाबेग्लै भेट्नु आपत्तिजनक नभएको बताए ।
'कुनै कूटनीतिज्ञलाई वरिष्ठ नेताहरूले छुट्टै भेट्नु आपत्तिजक होइन,' उनले कान्तिपुरसँग भने, 'यसरी वरिष्ठ नेतालाई आरोप लगाउनु राम्रो होइन ।' उनले बेलाबेलामा उपाध्यक्ष भट्टराईलाई 'भारत परस्त बनाउन खोजेर चरित्रहत्या गर्ने प्रयास भइरहेको' बताए । 'बाबुरामजीमाथि बिल्ला लगाउने यो शृंखलाको निरन्तरता मात्रै हो,' उनले भने, 'यदि हो भने तथ्यले पुष्टि गर्नुपर्छ ।'
गत साता नेपाल भ्रमणमा भएका बेला शरणले दाहाल र भट्टराईलाई छुट्टाछुट्टै भेट्न चाहेको बताएका थिए । त्यसपछि दुवै नेताले सहमतिमै फरक-फरक समयमा भेटेको एक नेताले बताए ।
पछिल्लो समयमा विभिन्न देशका कूटनीतिज्ञले दाहाल र भट्टराईलाई फरक-फरक भेट्ने गरेका छन् । दाहाल र भट्टराईबीच सम्बन्ध टाढिएपछि कूटनीतिज्ञले अलग अलग भेट्न थालेका हुन् । त्यसअघि दुवै नेताले कूटनीतिज्ञलाई संयुक्त रूपमा भेट्ने परम्परा बसालेका थिए ।
प्रधानमन्त्री निर्वाचन भइरहेका बेला साउन दोस्रो साता भट्टराईले बहुमतीय सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन नसक्ने बताएपछि दाहाल असन्तुष्ट भएका थिए । उनीनिकट नेताहरूले पार्टी निर्वाचनमा होमिएका बेला भट्टराईले बहुमतीय सरकारले समाधान हुँदैन भनेकामा आपत्ति जनाएका थिए ।

source:kantipur