पानी र दूधमा दिसाका जीवाणु :

डाबर नेपालले उत्पादन गर्ने पेयपदार्थ रियलमा लेउ र कीरा भेटिएको चर्चा सेलाउन नपाउँदै
डाबरकै महमा अत्यधिक 'केमिकल' भेटिएको छ । ओखतीका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट संकलन गरेको डाबरको महमा पानीमै घुल्न नसक्ने रसायन मापदण्डभन्दा दोब्बर भेटिएको हो । पानीमा घुल्न नसक्ने 'केमिकल'ले पाचन प्रक्रियामा असर गर्छ, यसले कलेजो र पित्तथैलीमा क्षति पुर्‍याउने चिकित्सकहरूको भनाइ छ ।

यस्तो रसायन ०.५ प्रतिशतभन्दा बढी राख्न नपाइने नियम भए पनि डाबरले मापदण्डको दोब्बर राखेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने डाबरविरुद्ध विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा हालेको छ ।

प्रशासन कार्यालयका मुद्दा शाखाका नायवसुब्बा सोमनाथ खनालले डाबरविरुद्ध मुद्दा परेको पुष्टि गरे । 'विभागले हालेको मुद्दाबारे अध्ययन भइरहेको छ । अध्ययनपश्चात् दुवैलाई खाद्य ऐन, २०२३ अनुसार कारबाही हुनेछ,' उनले भने । ऐनअनुसार डाबरका सञ्चालकलाई दुई वर्ष जेल वा पाँच हजारसम्म जरिवाना हुनसक्नेछ ।

'पानीमा घुल्न नसक्ने पदार्थ' दोब्बर हालेको भनेर स्पष्ट लेखिएकोले प्रशासन कार्यालयले डाबरमाथि कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आशा छ । 'हामीले अनुसन्धान गरी प्रमाणसहित मुद्दा हालेका छौँ, अब कारबाही गर्ने जिम्मा जिल्ला प्रशासनको हो,' विभागका सहप्रवक्ता नवराज दाहालले नयाँ पत्रिकासित भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्षमा बजारमा बिक्री भइरहेका तीन सय नौ थरीका उपभोग्य वस्तुको परीक्षणका गर्दा ६० वस्तुमा अखाद्य वस्तु भेट्टाएको छ । यस्ता खाद्यवस्तु उत्पादन गर्ने धेरैजसो कम्पनीविरुद्ध मुद्दा हालिएको छ भने केही कम्पनीका सञ्चालकको विवरण खोजी भइरहेको छ ।

विभागले अक्वा मिनरल प्रालिको प्रशोधित पानी (मिनरल वाटर) मा अखाद्य भएको भन्दै मुद्दा हालेको छ । अक्वाको पानीमा टोटल मेसोफिलिक ब्याक्टेरिया तोकिएकोभन्दा कम पाइएको थियो । यो ब्याक्टेरिया आवश्यकताभन्दा कम भएमा दूषित कीटाणु बढी हुने भएकोले स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको भनाइ छ । त्यस्तै, राजधानीको इचंगु खानेपानी फुड एन्ड वेभरेज लिमिटेडद्वारा वितरित पानीमा समेत दूषित खाद्यवस्तु भेटिएकोले विभागले मुद्दा हालेको छ ।

यसैगरी, विभागले बजार निरीक्षणका क्रममा राजधानीका डेरी पसलहरूबाट बिक्री भइरहेका दूध र घ्यू तथा केही मिनरल वाटरमा दिसामा पाइने जीवाणु भेट्टाएको छ । विभागले बजारबाट संकलन गरी परीक्षण गरेको दूध तथा मिनरल वाटरमा दिसामा पाइने कोलिर्फम जीवाणु भेट्टाएको हो ।

त्यतिमात्र होइन, बजारमा बिक्री भइरहेका दूधमा क्षयरोगका जीवाणुसमेत फेलापरेको छन् भने मिनरल वाटरमा शरीरलाई हानि गर्ने एमोनियालगायतका रसायनसमेत पाइएको छ । विभागले यस्ता पानी र दूध तथा दही उत्पादन गर्ने डेरीविरुद्ध पनि मुद्दा हालेको छ ।

दूषित र मापदण्डविपरीत दूध तथा घ्यू उत्पादन गरेको प्रमाणसहित कीर्तिपुरको गोकुल मिल्क, बौद्धको बौद्ध डेरी, कलंकीको गुडविल डेरी, काठमाडौं वडा नं. १६ को आधुनिक डेरी प्रोडक्टविरुद्ध विभागले मुद्दा हालेको छ । विभागका सहप्रवक्ता दाहालका अनुसार मापदण्डविपरीत बिक्री गरेर ती कम्पनीले जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेका छन् । उनले भने, 'हालै तयार पारिएको रिपोर्टअनुसार ती दूध तथा घ्यूमा कोलिर्फम मात्र होइन, झाडापखाला तथा क्षयरोग लाग्ने जीवाणुसमेत भेटिएका छन् ।' उनले डेरीहरूले काठमाडौंको असुद्ध पानी मिसाउँदा दूध, दही र घ्यूमा यस्ता जीवाणु मिसिएका हुन् ।

यसैगरी, बाराको शिवशक्ति घ्यू उद्योग, काठमाडौं जोरपाटीको सगरमाथा बटर एन्ड घ्यू उद्योग, बाराको सुशील वनस्पति प्रालि र काठमाडौं सतुंगलको निर्वाण वनस्पति घ्यूद्वारा बिक्री गरिएको घ्यूमा दूषित पदार्थ पाइएको छ ।

विभागको अनुगमनमा सबैभन्दा बढी दूषित र कम मापदण्डको खाद्यवस्तु घ्यू बनेको छ । सहप्रवक्ता खनालका अनुसार २० वटा घ्यूको नमुना संकलन गरेकामा १० वटामा मापदण्ड पुगेको थिएन । त्यसपछिको परीक्षणमा पानीमा बढी संक्रमण पाइएको छ । संकलित ३७ वटा पानीका नमुनामध्ये १७ वटामा मापदण्ड पूरा नगरेका र मानव शरीरलाई हानि गर्ने जीवाणु पाइएको छ । त्यस्तै, २५ वटा दूधको नमुनामा आठवटा अखाद्य भेटिएका छन् ।

त्यस्तै, बजारमा बिक्री-वितरण हुँदै आएका तोरी, भटमास र सूर्यमुखीका अधिकांश तेल पनि गुणस्तरहीन भेटिएका छन् । विभागले विगत चार महिनामा संकलन गरेका २५ कम्पनीका तोरीको तेलका नमुनामध्ये ४ कम्पनीका तेल गुणस्तरहीन छन् । अधिकांश कम्पनीका तेलमा मिसावट पाइएको प्रतिवेदनले देखाएको छ । त्यस्तै, २० कम्पनीका भटमासको तेलको नमुना परीक्षण गर्दा ६ र २५ कम्पनीको सूर्यमुखी तेलको नमुना परीक्षणमा पाँच कम्पनीका तेल सरकारले तोकेको गुणस्तरीय मापदण्डअनुरूप नपाइएको पनि विभागले जनाएको छ । ती कम्पनीका तेलमा 'एसिड' बढी रहेको, मिसावटजस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, संकलित ठोस खाद्यपदार्थमध्ये बेसनमा सबैभन्दा बढी मिसावट र फोहोर पाइएको छ । विभागले संकलन गरेका १६ बेसनका नमुनामध्ये पाँचवटा मापदण्डविपरीत पाइएको प्रतिवेदनमा उल्लेख छ । रहर दाल, जिराको धुलो र खुर्सानीको धुलोमा पनि मिसावट पाइएको छ । रहरको दाल १० वटामा एक, जिराको धुलो १६ मा एक र खुर्सानीको धुलो १५ मा २ वटामा मिसावट पाइएको छ ।

विभागले हरेक वर्ष दैनिक उपभोग्य वस्तुमा मानव शरीरलाई असर गर्ने खालका जीवाणु तथा अन्य रसायनहरू फेलापार्ने गरेको छ तर त्यस्ता वस्तु उत्पादन गर्ने संस्थालाई खासै कारबाही हुने गरेको पाइन्न । त्यसैले बहुराष्ट्रिय कम्पनी डाबरदेखि कीर्तिपुरका डेरीसम्मले जथाभावी रसायन र जीवाणु हालेर खाद्यवस्तु बेचिरहेका छन् । तर, दोषीलाई कारबाही गराउन यसपालिदेखि जिल्ला प्रशासनमा मुद्दा हाल्न थालिएको हो । यस वर्षबाट त्यस्ता उत्पादकलाई कारबाही गर्ने काम कडाइका साथ लागू हुने भएको छ । धेरै कम्पनीविरुद्ध मुद्दा हालिए पनि दर्ताविना बिक्री गरिरहेका पानीका कम्पनीका सञ्चालकहरूको खोजी भइरहेको विभागले जनाएको छ ।

source:nayapatrika