अल्जेरियामा ३ हजार नेपाली माग :

काठमाडौं, साउन २५  - उतर अफ्रिकी मुलुक अल्जेरियामा झन्डै तीन हजार नेपाली कामदारको माग आएको
छ। अल्जेरियामा भौतिक पूर्वाधारको क्षेत्रमा काम गरिरहेको कोरियाली स्वामित्वको डेउ कम्पनी अन्तर्गतको 'ओन' भन्ने संस्थामा एसओएस म्यानपावरले कामदारको माग ल्याएको हो।
कम्पनीले मेसन, सिकर्मी, डकर्मी, खट बाँध्ने (स्क्याफोल्डर) कामदार मागेको छ । अफ्रिकी मुलुक भए पनि पछिल्लो समय अल्जेरियामा विकास निर्माण तीब्र गतिले अघि बढेको छ।। 'हामीले २ हजार ९ सय कामदारको माग ल्याएका छौं,' एसओएस कम्पनीका प्रबन्ध निर्देशक सोमलाल बाटाजुले नागरिकसँग भने। कम्पनीले अन्तिम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन दिएको छ। पहिलोपटक संस्थागत रुपमा अल्जेरियामा कामदार पठाउन लागिएको हो। उनका अनुसार पहिलो चरणमा ३५ जना कामदार परीक्षणको रुपमा पठाइने जानकारी बाटाजुले दिए।

'उनीहरुको काम सकारात्मक भएमा अरु कामदार पठाउनेछौं,' उनले भने। कोरियाली कम्पनी भएकाले कामदार पठाउँदा कुनै समस्या नरहने उनको दाबी छ। डेउ कम्पनीमै एसोओएसले लिबियामा कामदार पठाएको थियो।

विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले अल्जेरियामा कामदारको माग आएको र छिट्टै स्वीकृति दिने जानकारी दिए। 'विभागमा अन्तिम स्वीकृतिको लागि कम्पनीले माग ल्याएको छ,' उनले भने, 'सबै प्रक्रिया पूरा गरेर कामदार पठाउन स्वीकृति दिइनेछ।' उनका अनुसार कामदारले तिर्नुपर्ने खर्चलगायत सबै प्रक्रिया पूरा भइसकेको छ। अल्जेरियामा कामदार जान १ लाख २५ हजार तिर्नुपर्छ। कामदारले मासिक न्यूनतम तीन सय अमेरिकी डलर(२५ हजार) तलब पाउने बाटाजुले जानकारी दिए।

'खाडी मुलुकमा भन्दा बढी कमाइ हुने र राम्रो कम्पनी भएकाले आर्कषक गन्तव्यकै रुपमा लिन सकिन्छ,' उनले भने, 'यसलाई व्यवस्थित रुपमा पठाउन सकिन्छ।'

अल्जेरियाको अर्थतन्त्र कच्चा तेलबाट धानिएको छ। विदेशी कम्पनीहरु अहिले अल्जेरियामा पूर्वाधार निर्माणमा लागि सक्रिय छन्। केही वर्षअघि यो देशले ऊर्जा क्षेत्रमा विदेशी लगानी भिœयाएर बेरोजगारी घटाएको थियो। अल्जेरियामा ९९ प्रतिशत इस्लाम धर्मालम्बी छन्। संयुक्त राष्ट्रसंघको मानव विकास सूचांकमा १ सय ४औं स्थानमा अल्जेरिया पर्छ।

source:nagarik