कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले
छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
भारतीय विशेष दूत श्याम शरण छुट्टै भेटेको भन्ने कुरा के हो?
श्यामशरण भारतीय प्रधानमन्त्रीका विशेष दूत भएर नेपाल आए, उनी १२ बुँदे, बृहत् शान्ति-सम्झौता हुँदा भारतीय परराष्ट्र सचिव थिए। त्यसअघि राजदूत पनि रहे। विगतमा हामीसँग कुटनीतिक भेटघाट भइरहँदा पनि नजिकको सम्बन्ध राख्ने मान्छे हुन् उनी। उनी विशेष दूत भएर नेपाल आएपछि अलिबढी चिनेका, बुझेका मान्छेसँग अन्तर्त्रि्कया गर्नु स्वाभाविकै हो। शान्तिप्रक्रियाबारे जसलाई बढी ज्ञान छ, त्योसँग जानकारी लिन खोज्नु स्वाभाविकै हो। शान्तिप्रक्रिया, अन्तरिम संविधानलगायत विभिन्न नेतृत्वदायी भूमिकामा मैले भूमिका खेलेको हुँ। समग्र नेतृत्व अध्यक्ष प्रचण्डले गर्नु भए पनि व्यावहारिकरूपमा टोलीको नेतृत्वमा म नै जान्थेँ। शरण आउँदा सरकार परिवर्तनको बेला आए पनि उनीहरूको बढी चासो शान्तिप्रक्रिया थियो। म र अध्यक्षसँग छुट्टाछुट्टै भेटघाटमा उनले शान्तिप्रक्रियाकै विषयमा बढी चासो राखे। हामीले सल्लाह गरेरै पहिले मैले, त्यसपछि अध्यक्षले भेटघाट गर्ने कार्यक्रम मिलाएका थियौं। अध्यक्ष, उपाध्यक्षजस्तो मान्छे, जो शान्तिप्रक्रियामा अभिन्न अंगले जोडिएको छ, जो विशेष दूत यहाँको शान्तिप्रक्रियासँग पहिलैदेखि जानकार छ, उसले चासो राखेर कुराकानी गर्न खोज्छ भने त्योभन्दा परिपक्वता के हुन्छ?
शरणसँगको छुट्टै भेट पार्टीकै सल्लाहले गरिएको थियो?
हो, त्यसमा पार्टीको सल्लाह थियो। र, कुराकानी भएपछि पुरै रिपोर्ट पार्टीमा गरेको छु। पदाधिकारीको बैठकमा समेत मैले रिपोर्ट गरेको छु। एक जना मान्छेले त्यसरी बाहिर बोल्दा मलाई अचम्म लाग्यो। यो असाध्यौ दरिद्र मानसिकताको उपज हो भन्छु मैले। त्यो पार्टीको अनुशासनहिनता पनि हो।
तपाईलाई उल्टै स्पष्टीकरण लिने कुरा आएको छ नि?
त्यो त झन् हास्यास्पद कुरा हो। तथ्यविहिन कुरा, त्यसमाथि त्यसरी बोल्नु अनुशासनविहिन कुरा हो।
उसो भए वर्षमान पुनमाथि अनुशासनको कारबाही हुन्छ भन्नुभएको?
त्यो पार्टीमा स्वतः छलफलको विषय हुन्छ। यस्तो ढंगले बोल्नु अमर्यादित हो। म यसलाई त्यति महत्व दिन चाहन्न। यसलाई म केटाकेटी बच्चपना बालरोग भन्छु। लेनिनले यस्तोलाई इन्फ्याण्ड चाइल्ड डिसअर्डर भन्नुहुन्थ्यो। म त्यसमा बढी टिप्पणी गरेर ओज घटाउन चाहन्न। तथ्यचाहिं के हो भने, शरणसँग छुट्टाछुट्टै भेट पार्टीको सल्लाह अनुसार अध्यक्षले पनि गर्नुभएको हो, मैले पनि गरेको हो। यस्तो कुटनीतिक कुरालाई गिजोल्यायर योभन्दा बढी केटौलेपन के हुन्छ?
नेताको हैसियतले शान्तिप्रक्रियासम्बन्धी भेटघाट तपाईले छुट्टै भेटघाट गर्न नसक्ने हो र?
सकिन्छ, किन नहुने? म खुला पनि भएँ। अर्को मलाई भाषाको कुनै समस्या नभएकोले थुप्रै कुटनीतिक मान्छेहरु, राष्टसंघका मान्छेहरू भेट्छु। अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर आउँदा अध्यक्षलाई भेट्दा मलाई पनि छुट्टैरूपमा भेटे। त्यसबाट किन भेटिस् भन्ने कुरा आउँदैन। अहिले भारतीय विशेष दूत मात्र होइन, चिनियाँ, अमेरिकी, बेलायती आदि राजदूत आइ मलाई भेट्छन्। त्यो कुराको रिपोर्ट गर्छु। त्यसबाट मैले व्यक्तिगत स्वार्थ लिनु भएन। अपारदर्शी ढंगले स्वार्थ लिएँ भने भन्नुपर्यो।
शरणसँगको भेट पनि त्यही सिलसिला मात्र हो?
हो, यो नयाँ कुरै होइन। चियाकपको प्लान जस्तै हो।
आफै प्रस्तावक, अध्यक्षचाहिं बहमतीय प्रणालीबाट प्रधानमन्त्री बन्न खोज्नुभएको वेला तपाईले राष्ट्रिय सहमतिबाट प्रधानमन्त्री बन्नुपर्नेतिर जोड दिनुभयो। यही वेला शरणसँग छुट्टै भेट गर्नुले आफै प्रधानमन्त्री बन्न कस्सिएको आरोप छ नि?
यो मिथ्या, तथ्यहिन आरोप हो। मैले पटकपटक भनेको छु, अहिलेको आवश्यकता शान्ति र संविधान हो। संविधान निर्माणमा सबै शक्ति केन्द्रीत गरिनुपर्छ, प्राप्त उपलब्धी गणतन्त्र, संघीयतालाई संस्थागत गरिनुपर्छ। त्यसको निम्ति राष्ट्रिय सहमतिको सरकार अनिवार्य छ। माओवादी पार्टी ठूलो भएकोले हाम्रो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने निर्णय हो। एक वर्षदेखि हामीले यही नारा लिएर आन्दोलन गरिरहेका छौं। त्यसैका निम्ति प्रयत्न गर्यौं तर दुर्भाग्यवश पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सकेन। र, अहिले चुनावी प्रक्रियामा जानुपर्यो। अहिले पनि प्रक्रिया मात्र बहुमतीय छ, लक्ष्य भने राष्ट्रिय संयुक्त सरकार हो। त्यो भएन भने संविधान बन्दैन। शान्तिप्रक्रिया सुनिश्चित हुँदैन। मैले प्रस्तावकको रुपमा सदनमा विचार व्यक्त गर्दा चुनावी प्रक्रियाभित्र सहमति खोजिनुपर्ने जोड दिएको थिए। म यस विषयमा पार्टीको नीतिअन्तर्गत निरन्तर छु। यो नबुझिकन चर्चापरिचर्चा गर्छन्, त्यो उनीहरुको अज्ञानता हो।
उसो भए निकास के त?
अहिले चौथो प्रक्रियाबाट निर्णय ननिस्केपछि अस्ति मात्रै हाम्रो पदाधिकारी बैठकले फेरि सहमतिको निम्ति प्रयत्न गर्नुपर्छ भन्ने निर्णय गरेको छ। पटकपटक निर्वाचन दोहोर्याइराख्दा राम्रो सन्देश जादैन। आज (सोमबार बिहान) कांग्रेससँग वार्ता भएको छ, हाम्रो तर्फबाट प्रत्यक्षरूपमा प्रधानमन्त्रीको उम्मेदवार हुनु भएका अध्यक्ष प्रचण्डले अर्का प्रत्यासी उम्मेदवार रामचन्द्र पौडेलसमक्ष दुबैले उम्मेदवारी फिर्ता लिऊँ र सहमति प्रक्रिया अगाडि बढाऊँ भन्ने प्रस्ताव राख्नुभएको छ।
यसमा कांग्रेस पक्षधरले के भने त?
अध्यक्षले प्रस्ताव राख्दा रामचन्द्र पौडेलले जवाफ दिन सक्नुभएन। 'अ..अ' मात्रै भनेर कांगेस पक्षधरले आलटाल जवाफ दिए।
भनेपछि तपाईकै लाइनबाट अध्यक्षले राष्ट्रिय सहमतिका लागि उम्मेदवारी फिर्ता लिनुपर्ने कुरा राख्नुभएको हो?
अध्यक्षले बोल्नुभएको हो, यो पार्टीभित्रको नीतिको कुरा हो।
आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्रीको उम्मेदवार भइरहेका वेला विभिन्न दलहरूसँग भोट माग्ने दौडाहा नगइ ककनी गएको, चुनाव हुने अघिल्लो दिनभर घरमै बसेर असहयोग गरेको गुनासो गर्दैछन् नि।
त राति सुतिस, राति नै उठ्नुपर्थ्यो भन्ने कुतर्क गरेर पनि कही हुन्छ र? मैले आफ्नोतर्फबाट पुरै लागेको छुँ। अहिलेको सूचना सञ्जालमा फोन, म्यासेज, इमेल गरेर पनि कुराकानी हुन्छ नि। म शान्ति र संविधानको निम्ति राष्ट्रिय संयुक्तको सरकार बन्नुपर्छ भन्ने मान्छे, अहिले अध्यक्ष उम्मेदवार हुनु भएको छ, उहाँको नेतृत्वमा राष्ट्रिय संयुक्तको सरकार बनोस् भनेर खुलै राखिराख्या छु। दुर्भाग्यवश, उहाँ चारचोटि चुनाव जित्न सक्नुभएन, अब के गर्ने त? पटकपटक अध्यक्षजस्तो मान्छे हारिराख्नु पनि हुँदैन। देशलाई बन्धक बनाएर राख्दा राम्रो पनि हुँदैन। अहिले पनि सकभर हाम्रो पक्षमा सहमतिको सरकार कामरेड प्रचण्डकै पक्षमा बनोस्, पहिलो आग्रह यही हुन्छ। यदि मानिएन भने दुबै उम्मेदवारले फिर्ता गरी फेरि नयाँ प्रक्रिया सुरू गरौं। र, नयाँ साझा उम्मेदवार खोजी कोही। यसमा ए.बी.सी.डी जो पनि हुनसक्छ भन्ने प्रस्ताव हाम्रो पार्टीको हो। अध्यक्ष स्वयम्ले यो प्रस्ताव राख्नुभएको छ।
अध्यक्ष चारचोटि प्रधानमन्त्रीको चुनावमा पराजित भइसकेपछि तपाई पनि नयाँ उम्मेदवार बन्न सक्नुहुन्छ होइन?
व्यक्तितिर नजाऊँ। सहमति भनेको आफूले आफूलाई हुने कुरा होइन। सहमति अर्काले गर्नुपर्यो। जसले शान्ति र संविधान सुनिश्चित गर्न सक्छ, त्यस्तो व्यक्ति छानौं। माओवादी पार्टीभित्रैबाट हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यो भएर सबै विकल्पमा हामी खुला छौं भन्ने पार्टीको धारणा हो।
फेरि व्यक्तिगत प्रसंगतिर जाऊ, पार्टीभित्र राजनीतिक मतभेद भइरहँदा तपाईलाई पार्टीकै नेताबाट भारतपरस्तको आक्षेप किन लगाइन्छ?
केही मान्छे मात्र छन्, जो बालरोगको मानसिकतामा ग्रसित छन्। तिनले फिजाएको हल्ला मात्र हो।
अध्यक्षले टेप, सिडी र आन्तरिक भिडियोमा तपाईलाई भारतको एजेण्टको रुपमा प्रस्तुत गर्नुभएको छ, त्योचाहिं के नि?
खन्ना गार्मेण्टमा उहाँले त्यो बोल्नुभयो, पछि त्यसरी भन्नु गल्ती थियो भनेर सच्चाउनुभयो नि।
आफूलाई लगाइएको आरोपलाई इतिहासले सावित गर्नेछ भनेर पार्टीभत्र जोडदार आवाज नउठाउने कमजोरीका कारण तपाईलाई दोहोर्याइ-तेहेर्याइ भारतपरस्तको आरोप लगाइएको हो?
त्यसलाई कसरी कमजोरी मान्ने? फेरि पनि भन्छु, भारतसँग वा राष्ट्रियताको लडाइ नयाँ ढंगले युग अनुकूल परिभाषित गर्नुपर्छ। यसलाई नबुझ्ने मान्छेले अज्ञानतावश, कतिपय मान्छेले पुरानै मानसिकता जो रायमाझीप्रवृतिबाट ग्रसित छन्, त्यस्ताले आलोचना गर्छन्। राजनीतिमा आलोचना हुनु अन्यथा त होइन तर चरित्रहत्या गर्ने ढंगको आरोप लगाउने काम राजनीतिक संस्कार होइन। त्यसबाट हामी मुक्त हुनुपर्छ। अरुले फोहर खेलाए भने मैले पनि खेलाउनु त भएन नि।
अबको राजनीतिक निकास के?
शान्ति र संविधानका निम्ति राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन।
प्रष्ट भन्नुपर्दा संविधानका नयाँ धारा संशोधन गरेर अगाडि बढ्ने कि दुई उम्मेदवारबीच पटकपटक निर्वाचन गराइरहने?
प्रमुख राजनीतिक दलको सहमति र छलफलबाट यी कुरा निर्धारण गरिनुपर्छ। यही प्रक्रियाभित्रैबाट पनि सहमति खोज्न सकिन्छ। योभन्दा बाहिर गएर नयाँ प्रक्रिया बनाइ पनि सहमति गर्न सकिन्छ। अन्तरिम संविधानले पनि राजनीतिक सहमतिका आधारमा निर्णय लिनु भनेको छ। नियम बदल्ने या यही नियमभित्र गर्ने भन्ने आपसि समझदारीमा टुंगो लाग्ने कुरा हो।