कोशीमा खतरासूचक रातो झन्डा गाडियो
- अविरल वर्षापछि आएको बाढीका कारण देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। मकवानपुरमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने इलामको गरुवा खोलामा आएको बाढीले बगाउँदा अर्का एकको मृत्यु भएको छ।
मकवानपुर च्युराङमा पहिरोमा पुरिएर मृत्यु हुने २२ वर्षीया लैलसीमैयाँ चेपाङ भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। घरनजिकै खोरियामा मकै भाँच्न गएका बेला उनी पहिरोमा पुरएकी थिइन्।
इलाममा खोलाले बगाएर मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन। दानावारी-१ स्थित गरुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका व्यक्ति अन्दाजी ४५ वर्षको भएको प्रहरीले जनाएको छ। उनको शव बिहान ८ बजे खोला किनारमा फेला परेको थियो।
मृतकको साथमा नगद रु ४० हजार समेत भेटिएको छ।
नवलपरासीका ६ गाविस डुबानमा :
अबिरल वर्षाका कारण नवलपरासीका छ गाविस डुबानमा परेका छन्। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने रामपुर खडौना, रमपुरवा, भुजहवा, सोमनी, सनई र प्रतापपुर गाविसका अधिकांश भू-भाग डुबानमा परेका हुन्। रामपुर खडौनाको वडा नं ७, ८ र ९ का खेतमा रहेका बालीनाली डुबानमा पर्नुका साथै कतिपय घरपरिवार विस्थापित हुनुपर्ने बाध्यता रहेको छ।
अधिकांश स्थानीयवासीले पहिले नै बनाएको मचानमाथि खाना पकाउने र माथि नै खाने गरेका छन्। पशु चौपायाहरु छिमेकी गाउँहरुमा सारिएको भए पनि चरनको अभावले समस्या बढ्दै गएको छ। गाउँमा पानीको मात्रा घट्दै गएपछि घर भत्किने सम्भावना बढेकाले मानिसहरु घरभित्र बस्न छाडेका छन्।
प्रतापपुरको वडा नं ३ मा बग्ने सिंगहा खोलामा आएको बाढीको पानी पश्चिमतर्फको बाँधभन्दा पनि माथिबाट बगेर गाउँमा पस्न थालेपछि प्रतापपुरका बासिन्दा बाँधको उचाइ बढाउन जुटेका छन्।
बाँधको उचाइ बढाउनु नै एकमात्र विकल्प रहेकाले छिमेकी गाउँबाटसमेत एक घर एक व्यक्तिको दरले मानिस आह्वान गरिएको छ।
भुजहवाको वडा नं ३, ६ र ७ का भू-भागसमेत जलमग्न छन्। सोमनी गाविसको नन्दपुर गाउँसमेत डुबानमा परेको स्थानीयले बताए। सनई र रमपुरवामा समेत बालीनाली डुबानमा परेको छ।
कोसी कटान तीव्र:
अविरल वर्षापछि कोसी नदीमा पानीको बहाव बढेको छ। लागातारको वर्षाका कारण आज पानीको बहाव दुई लाख २० हजार २०० क्युसेक प्रतिसेकेन्ड रहेको छ। सप्तकोसी नदी ०६५ भदौ २ गते फुट्दा पानीको बहाव एक लाख ७२ हजार क्युसेक प्रतिसेकेन्ड रहेको थियो
पूर्वी तटबन्धअन्तर्गत पुल्थेगौंडामा १० र ११ नं. स्परको बीचमा कटान तीव्र रुपमा भइरहेको छ। पानीको बहाव बढेकाले सुनसरीस्थित श्रीलङ्का टापुका तीन हजार बासिन्दा जोखिममा छन्।
तटबन्ध रेखदेखको जिम्मा पाएको भारतीयपक्षले बाँध मर्मत पुनः निर्माणका लागि आवश्यक ध्यान नदिँदा ठूलो धनजनको क्षतिको सम्भावना देखिएको छ। पानी बढेपछि कोसी ब्यारेजमा रातोझन्डा गाडेर खतराको सङ्केत गरिएको छ। सवारीसाधन एकतर्फी मात्रै चलाउन निर्देश गरिएको छ।
बहाव बढेकाले ब्यारेजका ५२ ढोकामध्ये २७ वटा ढोका खोलिएको छ। सप्तकोसीमा पानीको बहाव एक्कासी बढेकाले सुनसरीबासी त्रसित बनेका छन्।
source:nagarik