काठमाडौं, भदौ ७-
पित्तथैलीमा पत्थरी र मिर्गौलामा फोका भएकी त्रिशूलीकी सीता रोइला दुई महिनादेखि वीर अस्पताल धाइरहे पनि शल्यक्रियाको पालो पाएकी छैनन्।
'पालो तोकेपछि अपरेसन गर्न कम्तीमा चार महिना लाग्छ भन्छन्,' वीरमा भेटिएकी सीताले भनिन्, 'प्राइभेटमा गराउन पैसा छैन, यहाँ आउँदा-जाँदै हजारौं सकिइसक्यो।'
असार पहिलो साता हाइड्रोसिलको उपचारका लागि आएका जितबहादुर घिसिङलाई चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भनेका छन्। शल्यक्रियाको दिन तोक्नै उनलाई चिकित्सकले दुई महिनादेखि अस्पताल बोलाइरहेका छन् तर अहिलेसम्म पालो पाएका छैनन्। 'मैले त निजीमा गरौं भनेको पैसा छैन भन्छ,' उनीसँगै आएका छिमेकी दोर्जे सिङताङले भने, 'यहाँ त्योभन्दा बढी खर्च भइसक्यो।'
शल्यक्रियाको समय लिनै महिनौंदेखि धाइरहनेको संख्या ठूलो छ, महिनौंदेखि पालो कुरिरहेका पनि उत्ति नै छन्। वीरका विभिन्न विभाग र युनिटअर्न्तगत झन्डै ६ सयजना लामो समयदेखि शल्यक्रियाको पालो पर्खिरहेका छन्। बिरामीको अवस्था हेरी आकस्मिक शल्यक्रिया हुने भए पनि सयौंले महिनौं रोग पाल्नुपर्ने बाध्यता छ।
'५/६ महिनापछिको पालो दिएपछि निराश भएर निजीमा जान्छन्,' वीरका निर्देशक डा. बुलन्द थापाले भने, 'खर्च गर्न नसक्ने दुखाइ सहेरै पालो कुर्छन्।' महिनौंपछि दिएको पालो पनि आकस्मिक शल्यक्रियाको चाप, चिकित्सक विदामा बसेको समय परे लम्बिने गरेको छ। वीरमा दैनिक हुने शल्यक्रियाको संख्या पनि घट्दै गएको छ।
टिचिङ अस्पतालको अवस्था उस्तै छ। 'आज ओपिडीमा हेरेको बिरामीलाई म कम्तीमा १० महिनापछि मात्रै शल्यक्रियाको पालो दिनसक्छु,' टिचिङका वरिष्ठ युरो सर्जन डा.भोलाराज जोशीले नागरिकसँग भने।
उनका अनुसार युरो सर्जरी सबैभन्दा बढी पालो कुर्नुपर्ने युनिट हो जसमा विशेषज्ञ चिकित्सक कम र उपचार गर्नुपर्ने बिरामी धेरै छन्। यो युनिटमा शल्यक्रियाको पालो पर्खिरहेका हजारभन्दा बढी छन्। टिचिङमा निर्मित तीन शल्यकक्ष सञ्चालनमा आएका छैनन्।
वरिष्ठ र दक्ष जनशक्ति र अत्याधुनिक उपकरण भएको वीर, टिचिङजस्ता सरकारी अस्पतालमा पालो पाएसम्म बिरामी बाहिर शल्यक्रिया गराउन चाहँदैनन्। दुवै अस्पतालमा दैनिक १५ देखि २० शल्यक्रिया हुने गरेका छन्। महँगो शुल्क तिरेर दक्ष चिकित्सक रोज्नेको विकल्प निजी अस्पताल बनेका छन्। अधिकांश दक्ष चिकित्सक कुनै न कुनै निजी अस्पतालमा काम गर्छन्।
निजी र सरकारी अस्पतालमा लाग्ने खर्चको अन्तर तीनदेखि पाँचगुना छ। 'निजी अस्पतालमा ५० हजार लाग्छ रे,' शल्यक्रियाको मिति पर्खिरहेकी सीताकी छोरी बेलीले भनिन्, 'यहाँ १०/१२ हजारमा हुन्छ।'
निर्देशक थापाका अनुसार पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न सामान्य बेडमा बस्दा वीरमा ५ /६ हजार र टिचिङमा १० हजार हाराहारी लाग्छ। त्यही शल्यक्रिया निजीमा गर्दा ४५ देखि ५५ हजार लाग्छ। 'टाउको, न्युरो, कार्डियोथोरासिकका शल्यक्रियामा त एक/डेढ लाखै फरक पर्छ,' निर्देशक डा.थापाले भने।
मुटुसम्बन्धी सरकारको प्रमुख अस्पताल गंगालालमा धेरैजसो शल्यक्रिया आकस्मिक भए पनि बच्चाको मुटुको प्वाल टाल्न २ वर्ष कुर्नुपर्छ। 'दुई वर्षपछि गर्दा पनि धेरै फरक नपर्ने र चाप बढी भएकाले कुराउनु परेको हो,' गंगालालका निर्देशक डा. अरुण मास्केले भने।
सरकारी अस्पतालकै वरिष्ठ चिकित्सक भेटिने निजी अस्पतालमा भने शल्यक्रियाका लागि पालो कुरिरहनु पर्दैन। सरकारी अस्पतालमा चुस्त व्यवस्थापन नहुँदा बिरामीले शल्यक्रियाको पालो पाउन महिनौं लाग्ने गरेको चिकित्सकहरू बताउँछन्।
नाम चलेका चिकित्सक र अत्याधुनिक उपकरण निजीभन्दा सरकारीमा बढी छन्। 'तर, वीरमा साताको दुई दिन दुई/तीन घन्टा शल्यक्रिया गर्ने तिनै चिकित्सक निजीमा राति १२/१ बजेसम्म शल्यक्रियाका लागि तयार हुन्छन्,' टिचिङका पूर्वनिर्देशक एवं वरिष्ठ शल्यचिकित्सक डा. महेश खकुरेलले भने, 'जनशक्ति अभावसँगै व्यवस्थापन र सरकारीमा काम गर्ने इच्छाशक्ति नहुँदा सेवा लिने यति लामो लाइन बस्नुपर्ने अवस्था आएको हो।'सरकारी अस्पतालमा पनि पेइङ वार्ड चलाएर निजीमा भन्दा सस्तोमा सेवा दिन सकिने उनले बताए।
अस्पताल स्रोतका अनुसार खकुरेलले निर्देशक हुँदा पेइङ शल्यक्रियाका लागि पहल गरेको थिए। तर, एनेस्थेसिया विभागले यसबापत आउनेमध्ये आधा रकम पाउनुपर्ने दाबी गरेपछि मेडिसिन विभाग र अन्य कर्मचारीले डाक्टरले मात्रै कमाउने भए भन्दै असहयोग गरेका थिए।
वीरका रजिस्ट्रार डा. मुकुन्दराज पन्थीले पनि शल्यक्रिया कक्ष बनाएर चिकित्सकलाई थप समय काम गरेको सुविधा दिएर काम लगाउन र सेवा विस्तार गर्न सकिने बताए। 'निजीमा भन्दा थोरै पाए पनि सरकारीमै गरौं भन्ने धारणा हुन्छ,' उनले भने, 'बिरामीले पनि सेवा पाउँछन्, अस्पतालको पनि आम्दानी बढ्छ।'
वीरका निर्देशक डा. थापाले पनि पेइङ शल्यक्रियाका लागि अस्पताल सञ्चालन समितिसँग छलफल गरिरहेको बताए। वीरमा सामान्यबाहेक नौ शल्यकक्ष छन्। वरिष्ठ शल्यचिकित्सक पनि त्यत्ति नै छन्। सामान्य शल्यचिकित्साअर्न्तगत तीन युनिटमा एक/एक, युरोलोजीमा एक, कार्डियोथोरासिसमा दुई, ग्यास्ट्रोमा एक, न्युरोमा तीन शल्यचिकित्सक छन्। बर्न र प्लास्टिक सर्जरी विभागमा वरिष्ठ सर्जन छैनन्।
वीरमा पित्तथैली, मिर्गौलाको पत्थरी, पेटसम्बन्धी अन्य रोग, टाउको, हाडजोर्नी, नाक, कान, घाँटीको विशेष शल्यक्रिया हुन्छ। विभिन्न विभागका छुट्टाछुट्टै युनिटलाई पालो भाग लगाउँदा धेरै बिरामीको चाप हुने युनिटले साताको डेढ दिन र अन्यले एक दिन पालो पाउने वीरका ग्यास्ट्रो शल्यचिकित्सक डा.सुबोध अधिकारीले बताए। आँखाबाहेक सबै युनिटमा शल्यचिकित्साका लागि सयदेखि दुई सयको लाइन छ।
'४० वर्षअघिको पूर्वाधारमा यति ठूलो जनसंख्यालाई सेवा दिइरहनु परेको छ,' वीरका रजिस्ट्रार डा. मुकुन्दराज पन्थीले भने, 'सरकारीमा शल्यकक्ष छैनन्, सातै दिन काम गर्ने अवस्था छैन, कम्तीमा निजीबाट बिरामीले सेवा पाइरहेका छन्।'
शल्यक्रियाका लागि चाहिने पूर्वाधार र विशेषज्ञ जनशक्तिमात्र होइन, सहयोगी पनि पर्याप्त छैनन्। विशेषज्ञ जनशक्ति वीरभन्दा टिचिङमा बढी भए पनि शल्यकक्षको अभाव उस्तै छ। आठ शल्यकक्ष रहेको अस्पतालको प्रत्येक युनिटले सातामा एक दिनमात्र पालो पाउँछ।
सातामा दुई दिन शल्यक्रियाको पालो पर्दा १० देखि ५ बजे सरकारी अस्पतालमा बस्ने चिकित्सकहरू अन्य दिन मुस्किलले केही घन्टा अस्पतालमा बिताउँछन्।
source:nagarik