नयाँ एल्बमको तयारीमा कर्मा :

काठमाडौं, साउन ३१- युवा पुस्तामाझ चर्चित सांगीतिक समूहले धमाधम पछिल्लो कृतिको घोषणा गरिरहेकै बेला अर्को टोली 'कर्मा'ले
पनि नयाँ एल्बमको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। टोलीका मुख्य गायक सुरेन्द्रमान सिंहका अनुसार नयाँ एल्बम 'अस्तित्व'का निम्ति गीत छनौट सुरु भएको छ।

भर्खरै रिलिज भएको चलचित्र 'फस्ट लभ'मा धेरैले रुचाएको 'टाइटल गीत' का गायक सुरेन्द्रको टोलीले विभिन्न स्थानमा कर्न्सट सिध्याएलगत्तै नयाँ एल्बमको काममा लागेका हुन्। १२ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय यो टोलीले यसपाला नयाँ शैलीका गीतलाई प्राथमिकता दिएको बताउछ। चारजना युवाले स्थापना गरेको समूहमा छाड्ने र नयाँ थपिने गरेर अहिले सुरेन्द्रबाहेक, अनिल शाक्य, बासुदेव श्रेष्ठ, दिपक प्रधान र प्रमोद डंगोल सक्रिय छन्।

पहिलेजस्तो पप रक शैलीलाई छाडेर यसपटक पुरै रकमा केन्द्रित यो एल्बम साढे तीन वर्षको अन्तरालमा आउन लागेको टोली नेता सुरेन्द्र बताउँछन्। 'अघिल्ला एल्बमहरुमा परम्परागत नेपाली बाजालाई बढी समेटेका थियौं,' उनी भन्छन्, 'यसपटक भने मुर्चुङ्गा, सारङ्गी र बासुँरीलाई मात्र प्रयोग गरिएको छ।'

'फस्ट लभ' बाहेक 'कर्णवीर' मा समेत स्वर दिएका सुरेन्द्र अब फिल्मी गीतलाई थप समय दिने पक्षमा छन्। 'पछिल्लो समयमा बनेका डिजिटल सिनेमाहरुले हाम्रो पुस्ताको चाहना अनुसारका गीत समेट्न थालेका छन्,' उनी भन्छन्,'त्यसै अनुसार प्रस्ताव पनि धमाधम आउन थालेको छ।'

पाँचौ एल्बमको चारवटा गीत 'एक्टिभ अडियो'मा रेकर्डिङ्ग गराइसकेको कर्माले बाकीँ गीतको तयारी पनि अन्तिम चरणमा पुर्‍याएको छ। एल्बममा १० वटा गीत रहने छन्।
एल्बमको 'नयाँ सपना' गीत विदेशिएका नेपालीमाथि समर्पित छ। किशोरावस्थाको प्रेमलाई समेटेको 'यस्तै कति रात' स्लो रक हो। त्यस्तै 'झस्केर ब्युझेँ' मा सडक बालकको कथा समेटिएको छ। 'मेरो देश'ले नेपालमा भइरहेको राजनैतिक अस्थिरतालाई सकारात्मक सन्देश दिने प्रयास गरेको छ। एल्बममा 'खोज्दैछु म', तिमी हेरिमात्र देउ', 'म बसे रेलैमा' र 'यदी' जस्ता गीत पनि समेटिएका छन्। यीमध्ये 'खोज्दैछु'लाई प्रमोशन गीत बनाइने छ।

'बिहान सबेरै' र 'पहिले फूललाई' मध्ये एउटा मात्र गीत छनौट गर्नुपर्नेमा ब्याण्ड दोधारमा परेको सुरेन्द्र सुनाउँछन्। एल्बमका प्राय गीतहरू डा. मनिष बसिष्ठले रचना गरेका छन्। त्यसबाहेक सुरेन्द्रमान सिंह र विजय अर्यालले समेत लेखेका गीत यसमा रहनेछन्। संगीत भने सबै 'कर्मा ब्याण्ड' कै हो। मंसिरसम्ममा एल्बम रिलिज भइसक्ने सुरेन्द्रले बताए।

source:nagarik