काठमाडौ, भाद्र ६ - आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ मा उक्लन असफल भए पनि सन् २०१५ मा हुने विश्वकप क्रिकेट खेल्ने
नेपालको सम्भावना कायमै छ । विश्वकपमा स्थान सुरक्षित पार्नका लागि लामो बाटो तय गर्न भने त्यति सजिलो छैन ।
पाँच वर्षपछि न्युजिल्यान्ड र अस्टे्रलियाले आयोजना गर्ने वान-डे क्रिकेटको विश्वकपमा टेस्ट नखेल्ने चार देशले अवसर पाउनेछन् । सन् २०१३ मा 'आईसीसी विश्वकप क्रिकेट छनोट' हुनेछ । त्यसैले यसपल्ट डिभिजन-४ मै रोकिएको नेपालका लागि पाँच वर्षपछि हुने विश्वकप क्रिकेटको ढोका अहिले नै बन्द भइसकेको छैन ।
विश्वकप छनोटमा दर्जन टिमले अवसर पाउनेछन् । एक महिनाअघि (जुलाई १-१०, २०१०) नेदरल्यान्ड्समा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन-१ खेलेका ६ देश विश्वकप छनोटका लागि चयन भइसकेका छन् । सन् २०११ मा युनाइटेड अरब इमिरेट्समा हुने डिभिजन-२ मा शीर्ष चार स्थानमा रहने टिमले पनि छनोट खेल्ने अवसर पाउनेछन् । बाँकी दुई स्थानमा सन् २०१३ मा हुने डिभिजन-३ का शीर्ष दुई टिम हुनेछन् ।
एउटै वर्ष २०१३ मा हुने निर्धारण गरिए पनि विश्वकप छनोटअघि नै डिभिजन-३ प्रतियोगिता सम्पन्न भइसक्नेछ । नेपालका लागि विश्वकपको ढोका घचघच्याउन बाँकी रहेको एउटै बाटो यही हो । अब डिभिजन-४ प्रतियोगिता सन् २०१२ मा हुनेछ । त्यसमा शीर्ष दुई स्थानमा रहे नेपाल बढुवा हँुदै डिभिजन-३ मा पुग्नेछ । बढुवा भएको स्थितिमा नेपालले २०१३ मा डिभिजन-३ खेल्नेछ ।
डिभिजन-३ मा शीर्ष दुई स्थान हात पार्नसके नेपाल दोस्रो डिभिजनमा उक्लने त छँदैछ, २०१३ मै हुने विश्वकप क्रिकेट छनोटमा पनि प्रवेश पाउनेछ । यो बाटोबाट २०१५ को विश्वकप खेल्ने नेपालको सम्भावना खुला देखिए पनि निकै कठिन रहेको नेपाल क्रिकट संघ (क्यान) का अध्यक्ष विनयराज पाण्डे स्वीकार्छन् ।
'यसपालि डिभिजन-४ बाट माथि उक्लन सकेको भए विश्वकप खेल्ने सम्भावना बलियो हुने थियो,' अध्यक्ष पाण्डेले भने, 'अहिलेको राष्ट्रिय टिम नेपाली क्रिकेट इतिहासकै सर्वोत्कृष्ट टिम हो । सानो गल्तीले बढुवा हुनबाट चुक्यो । हाम्रो प्रगति राम्रो लयमा छैन । अन्य टिमले निरन्तर उच्च प्रगति गरिरहेका छन् । त्यसैले भविष्यमा नेपाललाई चुनौती अझै बढ्नेछ ।'
नेपालको मात्र होइन, डिभिजन-८ सम्मका सबै देशकोे विश्वकप-२०१५ खेल्ने सम्भावना कायमै छ । विश्व क्रिकेट लिगको आठौं डिभिजनसम्म कुल ४८ देश छन् । प्रत्येक डिभिजनमा ६-६ टिम छन् । डिभिजन-८ बाटै क्रमैसँग बढुवा हुँदै अन्त्यमा डिभिजन-३ को शीर्ष दुईमा रहने देशले विश्वकप छनोटमा स्थान पाउनेछन् । ती दुई देशले पहिलो डिभिजनका ६ र दोस्रो डिभिजनका ४ टिमसँगै विश्वकप छनोट खेल्नेछन् ।
दर्जन टिम खेल्ने अन्तिम छनोटको शीर्ष चार देशले विश्वकप क्रिकेट-२०१५ को टिकट पाउनेछन् । शीर्ष ६ स्थानमा रहनेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले चार वर्षका लागि वान डे क्रिकेट खेल्ने मान्यता दिनेछ । विश्वकप छनोटबाट वान डेमा अवसर पाउने ६ देश विश्व क्रिकेट लिग डिभिजन-१ मा हुनेछन् । बाँकी ६ टिमले दोस्रो डिभिजनमा खेल्नुपर्नेछ ।
नेपाल तेस्रो, अमेरिका च्याम्पियन
काठमाडौं (कास) तान्जानियालाई दस विकेटले हराएर शनिबार नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ को यात्रा तेस्रो स्थानमा रहेर टुंग्याएको छ । फाइनलमा आयोजक इटालीमाथि आठ विकेटको जित आत्मसात् गर्दै अमेरिका डिभिजन-४ च्याम्पियन बन्यो ।
लिग चरणमा १ सय १८ रनको विजय लक्ष्य भेटाउन नसकेपछि तान्जानियासँग नेपाल नौ रनले हारेको थियो । त्यो हार कति महँगो भयो भने डिभिजन-३ मा उक्लने नेपालको बाटोमा अपि|mकी प्रतिद्वन्द्वी बाधक बन्यो । त्यसपछि अमेरिकासँग बेहोरेको हारले नेपालको बढुवा
सम्भावना तुहाएको थियो । तान्जानिया वा अमेरिकालाई पराजित गर्नसकेको भए शीर्ष दुईमा रहेर तेस्रो डिभिजनमा उक्लने नेपालको लक्ष्य पूरा हुने थियो । त्यो लक्ष्य यसपल्ट अधुरै रह्यो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाली बलरले तान्जानियालाई निरीह तुल्याउँदै ३९ ओभर ३ बलमा ७३ रनमै सीमित पारे । दुई तान्जानियाली ब्याट्सम्यानले मात्र रनको दोहोरो अंक छोए । नेपालले बिना नोक्सान १२ ओभर ३ बलमै विजयी लक्ष्य पार गर्यो । यो जित नेपालका लागि लिगमा बेहोरेको हारको बदला रह्यो । लिगमा जस्तै यो नतिजाको विशेष प्रभाव भने रहेन ।
नेपाली ओपनरद्वय महेश क्षेत्री २४ रन र अनिल मण्डल ४७ रनमा नटआउट रहे । यसअघि तान्जानियालाई कम स्कोरमा रोक्न नेपाली बलर शक्ति गौचनले तीन तथा वसन्त रेग्मी र अमृत भट्टराईले दुई-दुई विकेट लिए । पूर्वकप्तान विनोद दास, महबुब आलम र राहुल विश्वकर्माको नाममा एक-एक विकेट रह्यो ।
प्रतियोगिताको सर्वाधिक विकेट लिनेको सूचीमा नेपाली बलर हावी रहे । कुल १४ विकेट लिँदै नेपाली बायाँ हाते स्पिनर वसन्त डिभिजन-४ मा सर्वाधिक विकेट लिने बलर भए । अमृतले विकेट संख्या १२ पुर्याएर तान्जानियाका दुई बलर खलिल रेयमुल्लाह र कसिम नासोरोसँगै संयुक्त दोस्रोमा रहे ।
एक अर्धशतकसहित कुल १ सय ५३ रन बनाएका नेपाली कप्तान पारस खडका सर्वाधिक रन बनाउने सूचीको दसौंमा रहे । रेलिगेसनमा परेका दुई टिमबीचको प्रतिस्पर्धामा अर्जेन्टिनालाई सात विकेटले हराएर कायमन द्वीपले पाँचौं स्थान हात पार्यो ।
source:kantipur