काठमाडौं, भदौ ७ - प्रधान मन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कङ्ग्रेस नेता रामचन्द्र पौडेल
पाँचौं पटक पराजित भएका छन्। दाहालले उपस्थित ५ सय ६३ सभासदमध्ये २ सय ४६ मत ल्याएका छन् भने उनको विपक्षमा १ सय ११ मत परेको छ। त्यसैगरी तटस्थ बस्नेमा २ सय ६ सभासद छन्।
यसैगरी पौडेलको पक्षमा उपस्थित ५ सय ६७ सभासदमध्ये १ सय २४ मत परेको ५ भने विपक्षमा २ सय ४३ मत परेको छ। उनको मतदानका बेला तटस्थ बस्नेमा २ सय जना थिए।
नेताहरुको प्रतिक्रिया :
पाँचौ पटकको मतदानबाट पनि प्रधान मन्त्री चयन गर्न असफल भएपछि प्रधान मन्त्री माधवकुमार नेपालले अरु दलले एमालेको प्रस्तावमा सहमति जनाएपछि राष्ट्रिय सहमति हुने मिडियाकर्मीलाई बताए।
यसैगरी कङ्ग्रेस नेता रामचन्द्र पौडेलले संसदीय अभ्यासका क्रममा यस्ता घटना सामान्य हुने बताए। अष्ट्रेलियामा पनि सरकार बन्न नसकिरहेको उदाहरण दिँदै उनले भने- यसलाई हेरेर संसदीय व्यवस्था असफल भएको भन्न मिल्दैन ।
त्यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले पाँचौं पटकको निर्वाचनबाट पनि प्रधान मन्त्री चुनिन नसकेपछि अब यो तालले हुँदैन रहेछ भनेर सबैले ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको बताए । उनले दुवै उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएपछि मात्र राष्ट्रिय सहमति हुन सक्ने धारणा पनि सञ्चारकर्मीसमक्ष राखे ।
source:nagarik