(काठमाडौं), तल्लो मुस्ताङको मुक्तिनाथ उपत्यकास्थित मेव्राक गुफामा भेटिएको करिब ३ हजार ५ सय वर्ष पुरानो महिला र
नवजात शिशुको मानव अस्थिपाजरलाई अब संग्रहालयमा राखिने भएको छ। नेपालमा भेटिएको यो सबैभन्दा पुरानो मानव अस्थिपाजर हो।
सन् १९९२ मा नेपाल जर्मन उच्च पहाडी पुरातत्व परियोजना साचालन गर्ने क्रममा आमा र नवजात शिशुको यो अस्थिपाजर फेला परेको हो। तल्लो मुस्ताङको मुक्तिनाथ उपत्यकाको मेव्राक केभ कम्प्लेक्स गुफा उत्खनन गर्ने क्रममा फेला परेका झन्डै २ दर्जन मानव खप्पर र अस्थिपाजरमध्ये डीएनए परीक्षण गर्दा आमा र नवजात शिशुको यो अस्थिपाजर सबैभन्दा पुरानो भएको खुलेको थियो। अनुसन्धानको क्रममा शिशु जन्मनेबित्तिकै आमाको निधन भएको देखिन्छ । किनकि नवजात शिशुको शरीरमा सालनालको समेत अवशेष पाइएका छन्।
नेसनल जोग्राफीका लागि टिम कोअर्डिनेटर लिसेल क्लार्क क्यालिफोर्निया विश्वविद्यालयका डीन तथा मानवशास्त्री डा. मार्क अल्डेनडरफर मिचिगन युनिभर्सीटीका मानवशास्त्री प्रा. ज्याकुइलिन नेपालका पुरातत्व अधिकृत चन्द्रप्रकाश त्रिपाठी र शुक्रसागर श्रेष्ठले यो उत्खनन कार्य गरेका थिए।
भेटिएका अस्थिपाजरमध्ये महिलाको अस्थिपाजर टुक्राटुक्रा बनाइएको अवस्थामा र शिशुको सग्लो अवस्थामा पाइएको थियो। डीएनए टेस्टको आधारमा ती टुक्रालाई जोडेर अनुसन्धान गरिएको पुरातत्व विभागका अनुसन्धान अधिकृत मोहनिसंह लामाले जानकारी दिनुभयो।
ती अस्थिपाजरहरुको पहिलो डीएनए जर्मनीमा गरिएकोमा अब दोस्रो अनुसन्धान र परीक्षण अमेरिकामा गर्नका लागि अमेरिकाको स्काइ डोर फाउन्डेसनसँग सहमति भइसकेको छ र मन्त्रीस्तरीय निर्णय गराएर यसै साता नमुना अमेरिका लैजाने भएको छ।
कानको छाला खप्परको धुलो र दाँतको डीएनएबाट ३ हजार ५ सय वर्ष पुरानो मानव अस्थिपाजर भएको खुलेकाले अब ती पुराना अस्थिपाजरलाई छाउनीको संग्रहालयमा एउटा छुट्टै प्राग ऐतिहासिक शाखा बनाएर राख्ने तयारी भइरहेको पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीले बताउनुभयो।
अस्थिपाजरलाई लामो समयसम्म जोगाएर राख्नको लागि छुट्टै किसिमको फाइवर जडित सो केसको आवश्यकता पर्ने भएकाले सो को लागि सरकारलाई अनुरोध गरिएको पनि उहाँले जानकारी दिनुभयो। यस्ता सो केसहरु नेपालमा भने पाइँदैनन्।
अनुसन्धानका क्रममा महिलाको शरीरमा धारिलो हतियारको दाग भेटिएको थियो र यसलाई त्यहाँको संस्कारसँग जोडेर हेरिएको छ। मुस्ताङमा मानिस मरेपछि टुक्राएर गिद्दलाई दिने संस्कार भएको बताइन्छ र अनुसन्धानकर्ताहरुले पनि महिलाको सबालमा त्यसै गरी काटिएको हुन सक्ने अनुमान लगाएका छन्।
अनुसन्धान अधिकृत लामाले तल्लो र उपल्लो मुस्ताङमा सयौंको संख्यामा साना ठूला गुफा रहेको र ती अधिकांश गुफामा मानव अस्थिपार कलात्मक भित्तेचित्र भाँडाकुँडा रहेकाले अमेरिकन सहयोगमा अनुसन्धान जारी रहेको बताउनुभयो। अनुसन्धानको नेतृत्व नेपालको तर्फबाट लामाले गर्दै आउनुभएको छ।
source:samacharpatra