सम्झँदै रुन्छन् शरणार्थी :

फाकसभाय (डेनमार्क), श्रावण २२ - 'एक छोरी भारत, एक छोरी अमेरिका, दुई छोरा भुटान, एक छोरा नेपाल र एक छोरा डेनमार्क,'
छोराछोरीको बासस्थानबारे जानकारी दिँदै ८३ वर्षका भुटानी शरणार्थी च्यासे तामाङ भक्कानिन्छन्, 'अब यो जन्ममा सन्तानहरूसँग भेट नहुने भयो ।'
डेनमार्कमा पुनर्वास जीवन बिताइरहेका भुटानी शरणार्थीहरूलाई परिवारसँगको बिछोडको पीडाले भने निकै सताउने गरेको छ । 'यहाँ -डेनमार्क) मलाई अरू सबै कुराको आनन्द छ,' तामाङ थप्छन्, 'जब परिवार सम्झन्छु, मेरो मुटु नै भक्कानिन्छ ।'
भुटानले लखेटेपछि १६ वर्ष नेपालको खुदुनाबारी शिविरमा बिताएका तामाङ दस महिनादेखि डेनमार्कमा पुनर्वास जीवन बिताइरहेका छन् । परिवार र विगतका दुःखका कुराहरू बिर्साउन डेनमार्क सरकारले आफूलाई दिएको सुविधाप्रति दंग पर्ने उनी भन्छन्, 'सन्तान भनेका मुटु हो, जहाँ गए पनि बिर्सिन सकिँदोरहेनछ ।' भुटानबाट बेलाबखत दुईजना छोरा नेपालको शिविरमा भेट्न आउने स्मरण गर्दै उनी भन्छन्, 'अब त्यो भेट नै अन्तिम होलाजस्तो छ ।' उनी अहिले एक छोरा, बुहारी र नाति-नातिनीसँग डेनमार्कको फाकसभायमा बसेका छन् । तामाङलाई डेनमार्क सरकारले मासिक ७ हजार क्रोनर वृद्ध भत्ता दिन्छ । आफूले राम्रो खानबस्न पाए पनि सन्तानले खान पाए/पाएनन् भन्ने चिन्ता हुने सम्झँदै उनले नेपालको शिविरमा भएका एक छोरालाई दुई-चार सय पैसा पठाउने गरेको बताए । उनलाई अरू छोराछोरीको अवस्थाबारे राम्रो जानकारी छैन । उनी स्वदेश फिर्ती प्रक्रियाअन्तर्गतको वर्गीकरणमा खाटी भुटानी वर्गमा परेका थिए ।
जन्म दिने आमासँग अब भेट हुने/नहुने कुराले काशीनाथ न्यौपानेको मन पनि विक्षिप्त हुन्छ । उनकी ८० वर्षकी आमा र भाइहरू भुटानमा छन् । छ जनाको परिवारसहित आएका न्यौपानेकी एउटी बुहारी नेपालमै छिन् । नेपाली युवतीसँग विवाह गरेका कारण बुहारीलाई सँगै ल्याउन नमिलेको उनले बताए । सन् १९९१ मा लखेटिएका न्यौपाने बेलडाँगी-३ बाट डेनमार्क आएका हुन् ।
रामचन्द्र अधिकारीको पीडा पनि उस्तै छ । उनी परिवार र विगतका दुःखलाई सम्झन चाहँदैनन् । 'हाम्रो घाउ कोट्याउनु भनेको फेरि दुखाउनु हो,' आग्रह गर्दै उनले भने, 'मेरा सन्तानहरू कहाँ छन्  नसोध्नु ।' दुई छोराहरूसँग डेनमार्क आएका उनकी एक छोरी नेपाल र अर्की अमेरिका छन् । डेनमार्कमा ३ सय २६ जना शरणार्थी आएका छन् । उनीहरू राजधारी कोपनहेगन बाहिर फाकसभाय, फ्युनेन्, ट्यास्लिङ, बनोनहोम, इडल, लायरा, मिडलफा, युलेनलगायत स्थानमा बस्छन् ।

source:kantipur